• १६ वैशाख २०८१, आइतबार

आयरल्यान्डलाई नेपालले दियो १९९ रनको लक्ष्य

blog

ब्याटिङ गर्दै नेपालका कप्तान रोहितकुमार पौडेल । तस्बिर : क्यान

काठमाडौँ, चैत १३ गते । आयरल्यान्ड ‘ए’ विरुद्ध टी–२० सिरिजको दोस्रो तथा अन्तिम खेलमा नेपालले जितका लागि आयरल्यान्डलाई एक सय ९९ रनको लक्ष्य दिएको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ९८ रन बनाएको हो । नेपालका लागि बायाँ हाते ब्याटर गुलशन झाले ३२ बलमा एक चौका र चार छक्काको सहयोगमा सर्वाधिक ४६ रन बनाउनुभयो ।

कुशल मल्लले ३४,  कप्तान रोहित पौडेलले ३३, कुशल भुर्तेलले २५, सन्दीप जोराले २१,अनिल शाहले १२, आसिफ शेखले ११ र विवेक यादवले अविजित सात रन बनाउनुभयो । बलिङमा आयरल्यान्डका म्याथ्यु फस्टरले तीन विकेट लिनुभयो । बेन ह्वाइटले दुई तथा फिन ह्यान्ड र गेभिन होईले एक एक विकेट झार्नुभयो । 

नेपाल आज दोस्रो खेल जित्दै सिरिज आफ्नो पक्षमा पार्ने दाउमा छ । यसअघि सोमबार भएको सिरिजको पहिलो खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो । यता भ्रमणकारी आयरल्यान्ड नेपाललाई रोक्दै सिरिजमा बराबरी गर्ने अभियानमा छ ।