• १५ वैशाख २०८१, शनिबार

हाँसो र रोदनको मिश्रण ‘महाजात्रा’

blog

काठमाडौँ, चैत १२ गते । कालो धन लुकाउन राजनीतिमा लागेका व्यक्तिहरूले के कस्तो परिपन्च गर्छन् र ती गतिविधिले समाजमा कस्तो असर पारिरहेको हुन्छ भन्ने कुराको सन्देश दिने चलचित्र महाजात्रा प्रदर्शनमा आएको छ । 

अकुत सम्पत्ति लुकाउन गरेका अनेकन् प्रयास वरिपरि यो चलचित्र रुमलिएको छ । यो चलचित्रमा १० किलो सुनको प्रलोभनमा अनेक कष्ट सहेका फणीन्द्र (विपिन कार्की), जोयस (रवीन्द्र सिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा) लाई ‘महाजात्रा’ सम्म आइपुग्दा पनि गरिबी, बाध्यता र विवशताले छाड्न नसकेको कुरा देखाइएको छ । फणीन्द्र, जोयस र मुन्ना फेरि कालो धनको चङ्गुलमा फस्दै गएको भए पनि चलचित्रमा यो कुरा उनीहरूलाई थाहा नभएको देखाइन्छ । जब पैसाले भरिएको गाडी लुकाउनुपर्ने अवस्था आउँछ त्यसपछि तीन जनाको जीवनमा अनेकन् उतारचढाव आउन थालेका दृश्य चलचित्रमा रहेका छन् । नेता पुण्यप्रसाद (हरिवंश आचार्य) सँग अकुत धन हुन्छ । त्यही पैसाको आडमा उनी आफ्नो राजनीति चलाइरहेका हुन्छन् । चुनाव जितेर प्रधानमन्त्रीसम्म बन्ने उनको सपना हुन्छ । धन त छ तर राम्रो काम गरेर कमाएको धन भएन त्यसलाई पचाउन कहाँ सजिलो हुन्थ्यो । त्यसमाथि त्यो कालो धनलाई जोगाउनु पर्ने उनको अर्काे सङ्कटको अवस्था चलचित्रमा देखाइएको छ । 

यही तनाव र तीन जनाको उतारचढावका दृश्यसँग यो चलचित्र अड्किएको छ । पुण्यप्रसादको सम्पत्तिलाई कसरी लुकाउने भन्ने काम फणीन्द्र, जोयस र मुन्नाको काँधमा आउँछ । यी तीन जना व्यक्ति पुण्यप्रसादको कालो धनले भरिएको गाडीलाई लुकाउनु पर्ने बाध्यतामा झेलिएका छन्  । फणीन्द्रलाई आफ्नो परिवार अझ सम्पन्न बनाउनु छ । फणीन्द्र आफ्नो पेसा र पारिश्रमिकसँग सन्तुष्ट छन् तर फेरि पनि उनी गाडीभरिको पैसासँग ठोक्किन्छन् । त्यसपछि उनीहरूसँग ठोक्किन आइपुग्छन्, नेता पुण्यप्रसाद र कालोबजारी गर्ने गुन्डा (शिशिर बाङ्देल) । यता चलचित्रका अर्का पात्र भाइरल प्रहरी निरीक्षक खत्री (दिव्य देव) लाई ठुलो माछो समात्नु छ । उनको ठुलो माछा समाउने सपना कसरी पूरा हुन्छ भन्ने कुराले पनि चलचित्रको कथामा अनेकन् मोड ल्याउने काम गरेको छ । 

आमनागरिकले राज्यले तोकेको कर तिर्छन् तर कर तिरेपछि राज्यबाट पाउनु पर्ने सेवा सुविधा पाउँदैनन् । राजनीतिमा लागेकाले भने अकुत सम्पत्ति कमाएका हुन्छन् भन्ने कुरालाई चलचित्रमा राम्ररी अथ्र्याइएको छ । 

मध्यान्तरअघिसम्म चलचित्रले दर्शकलाई हाँसो र त्यसपछि चलचित्रमा हाँसोसँगै धेरै रोदनका दृश्य मिसिएका छन् । चलचित्र पूर्ण रूपमा मनोरञ्जनात्मक र पारिवारिक बनेको छ ।