• १८ पुस २०८१, बिहिबार

चलचित्रको सिक्वेलमा होडबाजी

blog

काठमाडौँ, चैत १० गते । चलचित्र हिट भएपछि त्यही चलचित्रको शृङ्खला (सिक्वेल) बनाउनेको अहिले होडबाजी चलेको छ । लुट, दर्पणछाया, जादुगर, खलनायक, परदेशी, आँधी तुफानलगायत चलचित्रको सिक्वेल बनेसँगै अहिले नयाँ निर्देशक/निर्माता पनि चलचित्रको सिक्वेल बनाउनेतिर लागिपरेका छन् । सफल चलचित्रको सिक्वेलको सिको गर्दै अपेक्षाकृत प्रदर्शन गर्न नसकेका चलचित्रले पनि धमाधम सिक्वेलको घोषणा गर्ने गरेका छन् । 

विकासराज आचार्य निर्देशित चलचित्र ‘नाई नभन्नु ल’ को ६ वटा सिक्वेल निर्माण भइसकेको छ । सबैभन्दा बढी सिक्वेल बनेको यस चलचित्रको सातौँ निर्माणको तयारी भइरहेको निर्माण पक्षले जनाएको छ । 

सिक्वेलमाथि सिक्वेल बनाउने अर्को चलचित्र हो ‘छक्का पन्जा’ । यसको चार वटा सिक्वेल निर्माण भइसकेको र अब पाँचौँ बनाउने तयारीमा लागेको कलाकार दीपकराज गिरीले बताउनुभयो । यस्तै ए मेरो हजुर, चपली हाइट, कबड्डी, प्रेमगीत, पशुपतिप्रसादलगायतले सिक्वेलमाथि सिक्वेल बनाएका छन् । 

निर्देशक प्रदीप भट्टराईले चलचित्र बनाउँदा त्यसको सिक्वेल बन्नु पर्छ भनेर कहिल्यै फिल्म नबनाएको बताउनुहुन्छ । चलचित्र हिट भएर सिक्वेल बनाउनेभन्दा पनि कथाको सोच आएपछि त्यही कथालाई पात्रको भूमिकामा ढाल्न पाइयो भने कथाले पनि न्याय पाउँछ भन्ने सोचले चलचित्र बनाउने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सिक्वेलमा पनि कथा एकदमै राम्रो हुनु पर्छ । चलचित्रको नाम भनेको त प्रचारका लागि मात्र नै त हो ।” 

लेखक अभिमन्यु निरवी सिक्वेल बनाउने भनेको चलचित्र निर्माण पक्षको विश्वासमा अडिएको कुरा भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “एउटा चलचित्रको सिक्वेल घोषणा गर्दा धेरै दर्शकमाझ प्रचार हुने गर्छ । यसले लगानी र प्रचारमा पनि फाइदा हुन्छ । उहाँले प्रायः सिक्वेल हिट चलचित्र नै बनेको र यदाकदा नचलेको चलचित्रको पनि सिक्वेल बनाइएको छ तर त्यो नगन्य भएको बताउनुभयो ।” 

‘रङ्गेली’, ‘अगस्त्य : च्याप्टर १’ र ‘महाजात्रा’ ले सिक्वेलमा फेरि एक पटक निर्माता÷निर्देशकलाई जागरुक बनाउने काम त गरेको छ तर अझै पनि निर्माताले आफ्नो लगानी सुरक्षित गर्न खोज्दा नेपाली चलचित्र क्षेत्रमा नयाँ स्वादको चलचित्र निर्माणमा कमी आएको देखिन्छ । सोही कारण सिक्वेल ती चलचित्रको बनाइन्छ । जसले बक्स अफिसमा राम्रो व्यापार गरेको हुन्छ । दर्शकको मनमा बसेका चलचित्रको सिक्वेल बनाउँदा तीनले कमाइ पनि राम्रो गर्छ । सिक्वेल निर्माण अहिले निर्माताका लागि सजिलो बाटो पनि बनिरहेको छ तर यहाँ सिक्वेल किन बनाउने, किन बनाइन्छ भन्ने नबुझेर चलचित्र असफल हुँदा पनि सिक्वेल घोषणा गर्नेको होडबाजी नै चलिरहेको छ । त्यसैले पनि निर्माताले सिक्वेल सँगसँगै नयाँ स्वादका चलचित्र निर्माणमा पनि चासो देखाउन जरुरी देखिन्छ ।