• ६ जेठ २०८१, आइतबार

जग्गा दर्ताको सय वर्ष : प्रविधिमा फड्को, काममा अड्को

blog

सूर्यप्रसाद पाण्डे

काठमाडौँ, वैशाख १ गते । मुलुकभित्र जग्गा दर्ताको सुरुवात भएको बिहीबार (वैशाख १ गते) एक सय वर्ष पूरा हुँदै छ । यसबीचमा जग्गाको नापजाँच, पास गर्न र कर असुलीका लागि प्रशस्तै प्रविधिको विकास भए पनि जनशक्ति अभावमा प्रभावकारी काम हुन सकेको छैन । 

अझै पनि मालपोत तथा नापी कार्यालयबाट सम्पादन हुने काम झन्झटबेगर सम्पन्न गर्न मुस्किल पर्छ । धेरैजसो मालपोत तथा नापी कार्यालयले कम्प्युटर प्रणाली अवलम्बन गरे पनि सेवाग्राही लामो समयसम्म लाममा बस्नुपर्ने बाध्यता छ । एकद्वार प्रणाली लागू गरेका 

मालपोत कार्यालयले पनि प्रभावकारी सेवा दिन सकेका छैनन् । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जग्गासँग सम्बन्धित काम गर्ने प्रविधि भित्रिइसकेको भए पनि प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन नसकिएको स्वीकार गर्नुभयो । मुलुकमा पहिलो पटक १९७९ सालमा सरकारीस्तरमा पोता अड्डा (जग्गाका मालपोत असुल गर्ने कार्यालय) स्थापना गरेर जग्गा दर्ता तथा कर असुली थालिएको थियो । त्यसअघि अड्डामा गएर जग्गा पास गर्नुपर्ने व्यवस्था थिएन । जमिनदार तथा मुखियाको अधीनमा जग्गा हुन्थ्यो । उनीहरूले आआफ्नो क्षेत्रको जग्गालाई अधीनमा राख्थे । एकअर्कालाई जग्गा दिनु परे उनीहरूको लिखतलाई कानुनी दस्तावेज मानिन्थ्यो । 

यस अड्डाको स्थापना भएसँगै कहिले अर्थ मन्त्रालय र कहिले भूमिसुधार मन्त्रालय मातहत राखिएको थियो । अहिले यो अड्डा भूमि व्यवस्थापन तथा अभिलेख विभागको नाममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत छ । मन्त्रालयका प्रवक्ता जोशीका अनुसार अहिले मुलुकभर आवादी जमिन २७ प्रतिशत छ । आवादी जमिनमध्ये २३ प्रतिशत जग्गाको लालपुर्जा छ । यस्तो जग्गा व्यक्तिगत, पारिवारिक, सरकारी, संस्थान तथा अन्य 

प्रकारको कार्यालयको अधीनमा छ । बाँकी चार प्रतिशत जग्गामा भूमिहीन र सुकुम्बासीको  बसोबास भएको वा कसैसँग पनि लालपुर्जा नभएको प्रकृतिको रहेको जानकारी जोशीले दिनुभयो । बाँकी ७३ प्रतिशत जग्गा वनजङ्गल, हिमाल, पहाड, खोलानालाले ओगटेको छ ।

सय वर्षअघि हात तथा बाँसले जग्गा नापजाँच गर्ने प्रचलन थियो । अहिले सबै काम कम्प्युटर प्रणालीबाटै गर्न थालिएको छ । पछिल्ला दिनमा भूउपग्रहबाट जग्गाको आकृति लिने र सोहीअनुसार नापजाँच गर्ने प्रणाली स्वदेशमै विकास भइसकेको छ । उहाँले पछिल्ला दिनमा भूमिहीन तथा सुकुम्बासीलाई जग्गा वितरण गर्दा यही प्रविधिबाट जग्गा नापजाँच गरिएको  जानकारी दिनुभयो ।  

विश्वका अन्य मुलुकमा अपनाइने गरिएको उन्नत प्रविधिलाई मुलुकभित्रै प्रयोग गर्न समक्ष भए पनि पर्याप्त जनशक्ति तथा यस्ता प्रविधिकै अभावमा काम प्रभावकारी रूपमा अघि बढाउन नसकिएको गुनासो उहाँको छ । प्रवक्ता जोशीले भन्नुभयो, “जग्गा नापजाँच तथा आकृति लिन सबै स्थानमा यही प्रविधि अपनाउन सकियो भने उपकरण भित्र्याउन कठिन हुँदैन तर यस क्षेत्रमा अभ्यस्त जनशक्ति र भरपर्दो कानुनी संरचनाको अभावले अझै अड्को थपिने गरेको छ ।”

भूमि व्यवस्थापनका लागि मुलुकमा अझै पनि ५० वर्षभन्दा पुरानो ऐन कानुनका आधारमा काम भइरहेको छ । फरक–फरक कामका लागि फरक–फरक कानुन पालना गर्नुपर्ने र फरक–फरक कार्यालयमा धाउनुपर्ने समस्याका कारण काम झन्झटिलो हुने गरेको छ । 

यसैबीच भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले लिखत रजिस्ट्रेसन प्रारम्भ भएको शतवार्षिकी तीन दिनसम्म विशेष कार्यक्रम गरी मनाउने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले संविधानमा व्यवस्था भएअनुसार भूमिहीन दलितलाई लालपुर्जा वितरणलाई विशेष प्राथमिकतामा राखेर सिन्धुलीको दुधौलीमा रहेका मुुसहर बस्तीबाट लालपुर्जा वितरणको काम सुरु गरिएको जानकारी दिनुभयो ।