• १६ वैशाख २०८१, आइतबार

जटिल बन्दै मुख स्वास्थ्य : गुलियो र पत्रु खानाबाट दाँत जोगाउन सुझाव

blog

काठमाडौँ, चैत ७ गते । भक्तपुरको एक निजी विद्यालयमा कक्षा ३ मा अध्ययनरत सौरभ अवाल (नाम परिवर्तन) का दाँत काला भइसकेका छन् । दाँतमा किराको समस्याले गर्दा उहाँलाई विद्यालय छोडेर दन्त चिकित्सककहाँ पुर्‍याउनु परेको छ । चिकित्सकले गुलियो पदार्थ र जङ्क फुड (पत्रु खाना) नखान बारम्बार सुझाव दिइरहे पनि उहाँलाई गुलियो खानेकुराबाट रोक्न सकिएको छैन । 

सानैदेखि गुलियो खाने बानी परेकाले छोराका सबै दाँत बिग्रिएको सौरभकी आमाले बताउनुभयो । उहाँले भन्नुभयो, “आरसिटीलगायतको स्थायी उपचार गर्न पनि मुस्किल छ, दाँतको उपचार अरू रोगको उपचारभन्दा महँगो पनि रहेछ ।”

सौरभ जस्तै कक्षा १० मा अध्ययनरत अनामिका काफ्ले (नाम परिवर्तन) को पनि समस्या उस्तै छ । तीन वर्ष पहिले आरसिटी गरेको दाँत केही समयअघि दुखेर हैरान भएपछि  फेरि परीक्षण गराउँदा आरसिटी गरेको दाँत जरैदेखि निकाल्नुपर्ने भयो र फालियो पनि । दाँतको दुखाइ सहन नसक्ने हुने उहाँको अनुभव छ तर पनि उहाँले पत्रु खाना भने खाइ नै रहनुभएको छ । 

दाँतसम्बन्धी उपचार गर्ने अस्पतालमा युवा र वृद्धभन्दा बढी जसो बालबालिका देखिन्छन् । वीर अस्पताल, कान्तिपुर, समाज, हिमाल डेन्टललगायतका दाँतको उपचार गर्ने अस्पतालमा बालबालिका दाँतको उपचार गर्न घुइँचो लाग्ने गरेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले नेपालमा मुख स्वास्थ्यसम्बन्धी समस्या विकराल रहेको जानकारी दिनुभयो । उहाँले नेपालमा दाँतसम्बन्धी कुनै न कुनै समस्या नभएको व्यक्ति पाउनै मुस्किल रहेको भन्दै दन्त स्वास्थ्यका प्रमुख रोगबाट बच्न सुझाव दिनुभयो । 

डा. बुढाथोकीका अनुसार मुख स्वास्थ्यका प्रमुख रोगमा दाँत सड्ने, दन्तहर्षा, पाइरिया, दाँत सिरिङ गर्ने, सास गनाउने, गिजाबाट रगत आउने, बेरङ्गी दाँत, नमिलेका दाँत, मुखमा घाउ खटिरा र मुखमा विभिन्न रङ्ग तथा प्रकारका दाग, दाँतमा धब्बा देखिनु हुन् । उहाँले सामान्य रोगबाट उत्पन्न भएका जटिलता गाला वा चिउँडो सुन्निने, मुख खोल्न नसक्ने, पिनास, ट्युमर, क्यान्सर र थोतेलगायतका हुने बताउनुभयो । 

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा छ अर्ब ७५ करोड मानिस दाँतको रोगबाट पीडित छन् । यस्तै एकदेखि नौ वर्षसम्मका ५१.२ प्रतिशतमा दाँतको उपचारको पहुँचबाहिर छन् । त्यस्तै बिएम फाउन्डेसनले काठमाडौँमा गरेको अध्ययन अनुसार २४ हजार १५४ जना बालबालिकामध्ये ७३ प्रतिशत बालबालिकाको दाँतमा किराले खाएको थियो । वीर अस्पतालकी दन्त विभाग प्रमुख डा. शैली प्रधानले वीरमा उपचारका लागि बालबालिका आउने गरे पनि कान्ति अस्पतालमा रिफर गर्ने गरेको बताउनुभयो । वीर अस्पतालमा दैनिक दुई सयदेखि २५० जनासम्म दाँतको समस्या लिएर आउने गरेका छन् । 

कान्ति बाल अस्पतालकी दन्त रोग विभाग प्रमुख डा. सोनी सुवेदीले दाँतको उपचारका लागि दैनिक ५० जना बालबालिका आउने गरेको बताउनुभयो । उहाँले देशभरबाट रिफर भएर बिरामी आउने गरेको जानकारी दिँदै सबैभन्दा बढी समस्या दाँत किराले खाएर आउने गरेको बताउनुभयो । उहाँले दाँत किराले खाएकाबाहेक गिजाबाट रगत आएर, दाँत दुखेर गाला सुन्निएर, मुखको क्यान्सर भएर बालबालिका आउने गरेको जानकारी दिनुभयो । बालबालिकाले सानैदेखि चकलेट खाँदा दाँतमा समस्या हुने गरेको बताउनुभयो । 

दन्तरोग विशेषज्ञ डा. बुद्धिमान श्रेष्ठले मुख स्वास्थ्यलाई प्राथमिकतामा राख्न सके अन्य स्वास्थ्यको हेरचाह हुने बताउनुभयो । उहाँले नेपालमा मुख स्वास्थ्य प्राथमिकतामा पर्न नसकेको बताउनुभयो । डा. श्रेष्ठले बालबालिका जन्मेदेखि नै मुख परीक्षण गराउनुपर्ने बताउनुभयो । 

श्रेष्ठका अनुसार बिहान खाना खाइसकेपछि ४ मिनेट र बेलुका सुत्नुअगाडि ४ मिनेट दाँत माझ्नु पर्छ । उहाँले प्रशोधित खानेकुरा, गुलिया, धेरै तातो, चिसो र अमिलो खाद्य पदार्थका साथै सुर्तीजन्य पदार्थ, पान, सुपारीको प्रयोग नगर्न आग्रह गर्नुभयो ।

यसैबिच बुधबार ‘विश्व मुख स्वास्थ्य दिवस’ मनाइँदै छ । प्रत्येक वर्ष मार्च २० मा विश्व मुख स्वास्थ्य दिवस मनाउने गरिन्छ । नेपालमा पनि मुख स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरी विश्व मुख स्वास्थ्य दिवस मनाउने गरिन्छ । 

   

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।