• १२ साउन २०८१, शनिबार

‘बालबालिकाको कुरा सुनिदियो भने डिप्रेसनबाट टाढा राख्न सकिन्छ’

blog

काठमाडौं, चैत १३ गते । पछिल्लो समय डिप्रेसनको समस्या बढ्दै गएको छ । चिकित्सकका अनुसार सबै उमेर समूहका मानिसलाई डिप्रेसन हुन्छ । विश्वमा १० प्रतिशत मानिसलाई कुनै न कुनै प्रकारको डिप्रेसन भएको विभिन्न अध्यनले देखाएको छ । 

त्रिवि शिक्षण अस्पतालका मानसिक स्वास्थ्य विभागका प्रमुख मनोरोग विशेषज्ञ डा.सरोजप्रसाद ओझाका अनुसार जनसङ्ख्याकाे तीन प्रतिशत बालबालिकामा डिप्रेसन हुन्छ ।  डा.ओझाले कुनै पनि कारणले मन कमजोर हुने अवस्थालाई डिप्रेसन भन्ने गरिएकाे बताउनुहुन्छ । दिक्क लाग्ने, उदासीपन आउने, तनावले गर्दा दैनिक जीवनमा असर गरेमा डिप्रेसन भएको मान्न सकिने डा.ओझाको भनाइ छ । सेरोटोनिन रसायको कमीले गर्दा डिप्रेसन हुने डा.ओझा बताउनुहुन्छ । 

त्रिवि शिक्षण अस्पतालमा धेरै मोबाइल चलाउँदा,साथीहरुले जिस्काउँदा तनाव भएर आत्मविश्वासको कमीले पढाइमा कमी आउने, दैनिक कार्यमा असर गरेर अस्पताल पुर्‍याउने उहाँ बताउनुहुन्छ । बालबालिकामा हुने डिप्रेसन अन्य मानिसलाई हुने डिप्रेसनभन्दा फरक लक्षण देखिने हुँदा ढिला मात्र पहिचान आउने डा.ओझाको भनाइ छ ।  

डा. ओझाका अनुसार वंशाणुगत, आमाबुबासँगको मृत्यु भएका, आमाबुबाबाट टाढा भएका, सानोमा दुर्व्यवहार भोगेका, परिवारमा झैझगडा भैरहने, लामो समयसम्म शारीरिक अस्वस्थ भएका, तनावपूर्ण  जीवन भोगेका बालबालिका डिप्रेसनको जोखिममा हुन्छन् । 

बालबालिकालाई डिप्रेसन भएमा सानो सानो कुरामा झगडा गर्ने, रुने, आत्तिने, झर्को मार्ने, पढ्न मन नगर्ने, एक्लै बस्ने, आफूलाई मन पर्ने कुरामा रुचि घट्दै जाने, खेल्न रुचि नहुने, दिक्क लाग्ने, बोल्न मन नलाग्ने जस्ता लक्षण देखिने गर्दछन् । 

डिप्रेसन भएमा खाना मन नलाग्ने, निद्रामा असर पुग्ने दैनिक जीवनमा असर पुग्ने जस्ता लक्षण देखिन्छन् । जसले गर्दा उमेर बढ्दै जाँदा दुर्व्यवहारमा फस्ने गर्दछन् । उहाँ भन्नुहुन्छ, “धेरैलाई बालबालिकालाई पनि डिप्रेसन हुन्छ भन्ने चेतना नहुँदा, धेरैले यो समस्यालाई हल्का रुपमा लिन्दा डिप्रेसन बढ्दै गएर अप्रिय घटनासमेत हुन सक्छ ।”  तनावले गर्दा बालबालिकाको दैनिक काममा असर पुगेमा पढाइमा कमजोर भए, गर्दै आएको काममा मन नलाग्ने जस्ता समस्या देखिएमा तुरुन्त मनोचिकित्सकसँग पराशर्म गर्न डा.ओझाको सुझाव छ । 

उहाँका अनुसार डिप्रेसन उपचारपछि निको बनाउन सकिन्छ । धेरै डिप्रेसनको समस्या पराशर्मको माध्यमबाट ठिक बनाउन सकिने उहाँको तर्क छ । उहाँ भन्नुहुन्छ,“डिप्रेसनबाट बाहिर निकाल्न परिवारको साथ सहयोगको आवश्यक पर्छ । उनीहरुको कुरा सुनिदिने थेरापीको माध्यमबाट पनि निको बनाउन सकिन्छ ।” 

डा. ओझाका अनुसार एन्टिडिप्रेसनको सेवन गरेपनि डिप्रेसन निको बनाउन सकिन्छ । निको भएपछि औषधि रोक्न मिल्नुका साथै बालबालिकालाई पुनः नियमित काममा फर्काउन सकिन्छ । 

त्रिवि शिक्षण अस्पतालका मानसिक स्वास्थ्य विभागका प्रमुख मनोरोग विशेषज्ञ डा.सरोजप्रसाद ओझासँग बालबालिकामा हुने डिप्रेसनमा केन्द्रित भई गोरखापत्र अनलाइनका लागि तयार पारिएको भिडियो संवाद :


भिडियो : केशव गुरुङ

 


Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।