• २४ असोज २०८२, शुक्रबार

नर्सलाई न्यूनतम पारिश्रमिक लगायतका सेवा उपलब्ध गराउन संघको माग

blog

फाइल तस्बिर

काठमाडौँ, असोज २४ गते । नेपाल नर्सिङ सङ्घले नर्सलाई न्यूनतम पारिश्रमिक लगायतका सेवा सुविधा यथाशीघ्र उपलब्ध गराउन माग गरेको छ । 

सङ्घले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको परिपत्र अनुसार नर्सलाई न्यूनतम पारिश्रमिक लगायतका सेवा सुविधा यथाशीघ्र उपलब्ध गराउन सम्पूर्ण सरोकारवाला निकायसँग माग गरेको हो ।  

कलेज अफ मेडिकल साइन्स चितवन, मणिपाल शिक्षण अस्पताल पोखरा, लगायत अन्य विभिन्न स्वास्थ्य संस्थामा कार्यरत नर्सहरु न्यूनतम सेवा सुविधाका लागि आन्दोलनमा उत्रिएकोले सङ्घले यस्तो माग गरेको हो ।  

सङ्घकी अध्यक्ष प्रा. चन्द्रकला शर्माले समयमा नै माग पूरा नभएमा नर्सको हकहितको लागि कडा कदम चाल्न सङ्घ बाध्य हुने चेतावनी दिनुभयो ।  

मिति २०८१ मङ्सिर २७ गते मन्त्रालयले सबै निजी अस्पताल, प्रतिष्ठान, मेडिकल कलेज, सामुदायिक अस्पताललाई नर्सिङ एवं अन्य स्वास्थ्यकर्मीका पारिश्रमिक लगायतका सुविधाको व्यवस्था गर्न सरकारी सरह न्यूनतम पारिश्रमिक र सेवा सुविधा नघट्ने गरी लागु गर्न परिपत्र गरेको थियो । 

मन्त्रालयले पटक पटक परिपत्र गरे पनि हालसम्म निजी स्वास्थ्य संस्थाले उक्त निर्णय कार्यान्ययन नगरी न्यून पारिश्रमिकमा काम गराउँदै आइरहेका छन् ।