• १२ कात्तिक २०८२, बुधबार

महासचिव पोखरेलद्वारा तुलसीपुरको क्षतिग्रस्त संरचनाको अवलोकन

blog

जेनजी आन्दोलनको क्रममा तुलसीपुरका क्षतिग्रस्त संरचनाको अवलोकन गर्नुहुँदै एमाले महासचिव पोख्रेल । तस्बिरः सरोज रेग्मी

सन्तोष दहित

दाङ, कात्तिक १२ गते । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा गृह जिल्ला दाङमा भएको क्षतिग्रस्त संरचनाहरूको स्थलगत अवलोकन गर्नुभएको छ। 

महासचिव पोखरेलले तुलसीपुर उपमहानगरपालिका कार्यालय, आन्तरिक राजस्व कार्यालय, उच्च अदालत तुलसीपुर इजलास, पार्टी कार्यालय, कोमल रिसोर्ट, कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी, लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी लगायतका घर–कार्यालयहरू तथा आफ्नै आवासको पनि अवलोकन गर्नुभएको हो । 

क्षतिग्रस्त संरचना अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव पोखरेलले तोडफोड र आगजनीका घटनाले राष्ट्रलाई दीर्घकालीन रूपमा क्षति गरेको बताउनुभयो। “यो राष्ट्रमाथिको ठुलो घात हो” उहाँले भन्नुभयो, “तर पनि हामी फेरि खरानीबाट उठ्नै पर्छ।” उहाँले यस्ता घटना पुनः दोहाेरिन नदिन सबै सचेत रहनुपर्नेमा जोड दिनुभयो। 

पोखरेलले दाङमा भएको तोडफोड दङालीहरूकै संलग्नतामा भएको दाबी गर्दै त्यसमा संलग्नहरू अहिले पछुताउने अवस्थामा पुगेको चर्चा गर्नुभयो। “धेरै रहस्यहरू अहिले बाहिर आएका छन्” उहाँले भन्नुभयो, “यी घटनाले समाज र राज्यलाई पछाडि धकेल्यो र दीर्घकालीन असर पारेको छ ।” त्यसक्रममा उहाँले हालको सरकारप्रति पनि तीव्र असन्तुष्टि जनाउँदै भन्नुभयो, “यो सरकार न संविधानमा टेकेर बनेको हो, न जनताले रोजेको हो। मन्त्रीहरूमा कस्ता पात्र खडा भएका छन् भन्ने कुरा क्रमशः स्पष्ट हुँदै गएको छ।”