• १३ साउन २०८१, आइतबार

शिक्षण पेसासँगै न्यौपानेको व्यावसायिक पशुपालन

blog

पशुपालनमा रमाउँदै कावासोतीका गङ्गाधर न्यौपाने । तस्बिर : मीना कंडेल

मीना कंडेल

कावासोती, फागुन १६ गते । पछिल्लो समय वैदेशिक रोजगारका लागि युवाहरू विदेश जानेक्रम बढ्दो छ । अध्ययन गर्ने विद्यार्थीसँगै रोजगारका लागि दिनहुँजसो युवा विदेश पलायन भइरहेका छन् । 

नेपालमा केही हुँदैन, विदेश जानुको विकल्प छैन भन्नेहरूका लागि नवलपुर कावासोती –६ का गङ्गाधर न्यौपाने उदाहरणीय बन्नु भएको छ । उहाँले व्यावसायिक पशुपालनबाट मनग्गे आम्दानी गर्नुभएको छ ।

पेसाले शिक्षक रहनुभएका न्यौपानेले विगत चार वर्षदेखि व्यावसायिक पशुपालन गरेर कृषि क्षेत्रमा आफूलाई सफल बनाएको बताउनुभयो । पछिल्लो समय कृषि पेसामा युवाको आकर्षण घटेको हुँदा ३५ लाख रुपियाँको लगानीबाट पशुपालन सुरु गरेको न्यौपानेको भनाइ छ । 

बैङ्कको ऋणबाट सुरु गरेको व्यावसायिक पशुपालनले अहिले लगानी कटाएर प्रशस्त आम्दानी दिन थालेको छ । सबै खर्च कटाएर मासिक दुई लाख रुपियाँसम्म बचत हुने उहाँले जानकारी दिनुभयो ।

गौरादेवी नवीन कृषि तथा पशु फार्म दर्तागरी व्यावसायिक पशुपालन गर्नु भएका न्यौपानेले भन्नुभयो, “६ वटा भैँसीबाट सुरु गरेको व्यावसायिक पशुपालन अहिले २७ वटा भैँसी र गाई भएका छन् । मासिक ३५ सय लिटर दुध बिक्री गर्नेगरेको छु । साँझ, बिहान गोठमा र दिउँसो शिक्षण पेसामा व्यस्त हुने गरेको छु ।”

स्नातकसम्मको अध्ययन पूरा गर्नुभएका ३५ वर्षीय न्यौपानेले दिउँसो कावासोती –४ मा रहेको सरस्वती माविमा अध्यापन गर्नुहुन्छ । बिहान विद्यालय जानुभन्दा अगाडिसम्म श्रीमतीसहित गोठको काममा खटिने जनाउँदै न्यौपानेले दिउँसोका लागि पनि कामको प्रबन्ध गरेर विद्यालय जानेगरेको बताउनुभयो । पशुको स्याहारसुसारदेखि व्यवस्थापनमा आफैँ खटिने न्यौपानेले अहिले दुई जनालाई रोजगारी दिएको बताउनुभयो ।

गाईभैँसीका लागि आवश्यक पर्ने दाना, पराल आफैँले तयार पार्ने गरेको र करिब तीन बिघा जमिनमा उन्नत जातका घाँस लगाइएको न्यौपानेले बताउनुभयो । पशुपालनमा विगतमा केही समस्या पर्नेगरेको भए पनि अनुभव र योजनाले हिजोआज सहज भएको उहाँको भनाइ छ । 

१९ वटा गाईभैँसी दुहुना छन् । श्रीमती र म मिलेर दुध बिक्रीका लागि लैजान्छौँ, न्यौपानेले भन्नुभयो, “पशुपालन व्यवसायलाई अझ टिकाउन गत वर्षदेखि आफ्नै दुग्ध डेरी पनि खोलेका छौँ । त्यहाँबाट मासिक सात हजार पाँचसय लिटर दुध बिक्री हुने गरेको छ ।”

जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ नवलपुरका अध्यक्ष गोपाल श्रेष्ठले नवलपुर जिल्लामा हाल २४ वटा दुग्ध सहकारीबाट दुध बिक्री हुँदैआएको बताउनुभयो । यहाँबाट दैनिक ५० हजार लिटरको हाराहारीमा दुध उत्पादन हुनेगरेको छ । जसमा १२ हजारभन्दा धेरै कृषक आबद्ध छन् ।