पूर्वाग्रही प्रवृत्ति, निराशा र निष्क्रियताको अस्वाभाविक चर्चा हुने गरेकाले भएका विकास निर्माणका कामसमेत ओझेलमा पर्ने गरेका छन् । देखी भोगी पनि अनदेखा गर्ने, नभएका र तथ्यहीन कुराको प्रचारमा प्रतिस्पर्धा गर्ने प्रवृत्ति तीव्र बनेको छ । मुलुकको बजेट र स्रोतसाधनको सामथ्र्यका बिचमा विकास पूर्वाधारमा उल्लेखनीय फड्को मार्ने काम भएका छन् । लुम्बिनी प्रदेशलाई मात्रै आधार मान्दा पनि ‘कसैले केही गरेन’ भन्ने आमभनाइलाई अस्विकार्दै नमुना कामले गति लिएको देख्न सकिन्छ ।
यो प्रदेशमा सुरुङमार्ग, फ्लाइओभर र अन्डरपाससहितका आधुनिक सडक पूर्वाधार, विमानस्थल, लुम्बिनी क्षेत्र, बृहत् लुम्बिनी, तिनाउ नदीमा प्रस्तावित सिग्नेचर पुल, नदी डाइभर्सन, तराईका सहर जोड्ने रणनीतिक सडक, मुख्य सहरमा बाइपास सडक, अस्पतालका आधुनिक र सुविधासम्पन्न भवन, बुटवल अन्तर्राष्ट्रिय सभा हल, अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र, नुवाकोट, वसन्तपुर हिल स्टेसन, जितगढीकेन्द्रित पर्यटन गुरुयोजना र निजी क्षेत्रबाट केबुलकार तथा सेवा उद्योगका क्षेत्रमा भइरहेको अर्बौंको लगानीले लुम्बिनीलाई मुलुकको केन्द्र भागमा स्थापित गरिरहेको छ ।
केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनीले समग्र मुलुकको नेतृत्व गर्ने गरी कायापलटका योजना अगाडि बढाइरहेको उल्लेख गर्दै प्रशंसासमेत गर्नुभएको थियो । सोही कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूरा भएका योजनाको सबल कार्यान्वयन गर्ने र जारी योजनाको पूर्णता दिन बजेटको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
लुम्बिनीको गतिशीलतामा जोड
सडक पूर्वाधारलाई अर्थतन्त्रको मेरुदण्ड मानेर ‘अर्थतन्त्रको आधार : सबल र उत्थानशील पूर्वाधार’ नीति अनुसार लुम्बिनीमा उल्लेखनीय प्रगति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णुप्रसाद पौडेलको विशेष पहलमा लुम्बिनी सडक सञ्जालको केन्द्रबिन्दु बन्दै गएको छ । नारायणगढ–बुटवल सडक होस् वा सिद्धबाबा सुरुङमार्ग; यी सबै राष्ट्रिय महìवका योजना लुम्बिनीकेन्द्रित छन् । विकासका काममा तिनै तहका जनप्रतिनिधि, दातृ निकाय र निजी क्षेत्रको समेत सकारात्मक सहकार्य छ ।
बुटवल–नारायणगढ सडक
जम्मा ११२.९६ किलोमिटर लामो बुटवल–नारायणगढ सडक निर्माणमा केही समय अलमल भए पनि अब निर्माण कार्य अगाडि बढिसकेको छ । अहिले यो आयोजनाको भौतिक प्रगति ६६ प्रतिशत नाघेको छ र २०८२ साउनसम्ममा पूर्णता दिने लक्ष्यसहित तीव्र गतिमा काम भइरहेको छ । यो सडकखण्डको दाउन्नेयता बुटवलसम्मको सडक लुम्बिनी प्रदेशमा पर्छ । अहिले यही खण्डमा धमाधम कालोपत्रेको काम भइरहेको छ ।
सिद्धबाबा सुरुङमार्ग
लुम्बिनीको प्रवेशद्वारका रूपमा रहेको सिद्धबाबा सुरुङमार्ग हाल एक हजार १२६ मिटर लम्बाइमा निर्माणाधीन छ । ब्रेकथ्रु भइसकेको यो सुरुङले तानसेन, बुटवल हुँदै तराई र पहाडलाई जोड्ने सुरक्षित र छोटो मार्ग उपलब्ध गराउने छ । यो सुरुङमार्ग २०८३ चैतसम्ममा पूर्ण हुने लक्ष्यसहित निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ । अहिले यसको भित्री भागको काम धमाधम भइरहेको छ । आवश्यक परेका खण्डमा यही बर्सातमा सुरुङमार्गबाट गाडी गुडाउन मिल्ने गरी काम भइरहेको आयोजना कार्यालयले जनाएको छ ।
एसियाली राजमार्गको स्तरीकरण
जम्मा ५० किलोमिटर लम्बाइको यो खण्ड एसियाली राजमार्गको हिस्सा हो । यो पूर्वपश्चिमको वैकल्पिक, सुरक्षित र विस्तृत मार्ग पनि हो । हालसम्म यो सडकको करिब सात प्रतिशत भौतिक प्रगति भइसकेको छ भने ३० भन्दा बढी पुलका फाउन्डेसन निर्माण पूरा भइसकेका छन् । ५० किमी सडकलाई दुई खण्डमा विभाजन गरेर धमाधम काम भइरहेको छ ।
निर्माणलाई गुणस्तरीय र सकभर यात्रुलाई सास्ती नहुने गरी काम अगाडि बढाउने तयारीमा रहेको आयोजना प्रमुख इन्जिनियर कुशलता न्यौपानेले बताउनुभयो । उहाँले यो सडक विस्तारका क्रममा बुटवल–नारायणगढमा जस्तो सबै एकै पटक उप्काएर बनाउने नभई पहिले दुई किनारबाट बनाउने र बल्ल बिचको पिच भत्काएर विस्तार गर्ने गरी काम भइरहेको जानकारी दिनुभयो ।
कालीगण्डकी कोरिडोर : त्रिदेशीय सम्बन्ध सेतु
गैँडाकोटदेखि कोरला नाका जोड्ने ४४७ किलोमिटर लामो कालीगण्डकी कोरिडोर रणनीतिक दृष्टिकोणले अत्यन्त महìवपूर्ण छ । लुम्बिनी प्रदेशको बुटवल, पाल्पा, गुल्मी, स्याङ्जा, पर्वत, बागलुङ हुँदै मुस्ताङबाट चीनको कोरलासम्म फैलिएको यस सडकले क्षेत्रीय व्यापार, पर्यटन र कनेक्टिभिटीमा क्रान्तिकारी परिवर्तन ल्याउने छ । यो कोरिडोरले मुलुकका प्रमुख पाँच वटा अरू राजमार्गलाई समेत जोड्छ । ती राजमार्ग हुँदै आवागमन गर्नेले अब सहजै सुनौली–मुस्ताङको यात्रा गर्न सक्ने छन् । अबको केही समयपछि यो कोरिडोरको निर्माण पूरा हुने आयोजनाका पाल्पा कार्यालयका प्रमुख इन्जिजियर कल्पना अधिकारीले जानकारी दिनुभएको छ ।
मध्यपहाडी लोकमार्ग
पुष्पलाल (मध्यपहाडी) लोकमार्ग अन्तर्गत लुम्बिनी प्रदेशको पहाडी भेगसमेत समेटिएका छन् । एक हजार ८७९ किलोमिटरमध्ये हालसम्म एक हजार ४६३ किलोमिटर कालोपत्रे सम्पन्न भइसकेको छ । यसले दुर्गम बस्तीलाई सडकमार्फत विकासको मूल प्रवाहमा ल्याउने काम गरिरहेको छ ।
हुलाकी राजमार्गले फेरिएको तराई/मधेश
तराई/मधेशका जिल्ला हुँदै पूर्वपश्चिम फैलिएको हुलाकी राजमार्ग कृषि, व्यापार, जनसरोकार र राष्ट्रिय एकताको दृष्टिले महत्वपूर्ण मानिन्छ । हुलाकी राजमार्ग नेपाल–भारत सीमा क्षेत्रनजिकैको भूभागमा बनाइएको प्रमुख पूर्वपश्चिम मार्ग हो, जसले तराईका सबै जिल्लालाई जोड्ने लक्ष्य राखेको छ । यो राजमार्गको कुल लम्बाइ एक हजार ७९२ किमी छ । लुम्बिनी प्रदेश अन्तर्गत पर्ने खण्डले सडक पहुँच, कृषि बजार, शिक्षा, स्वास्थ्य र प्रशासनिक पहुँचमा उल्लेखनीय सुधार ल्याएको छ ।
हुलाकी राजमार्ग पूर्वाधारमै आधारित समृद्धिको मेरुदण्ड साबित भइरहेको छ । लामो समयसम्म काम ठप्प रहेको यो राजमार्गलाई सरकारले प्राथमिकतामा राखेर काम अघि बढाएको छ । यो राजमार्गले लुम्बिनी प्रदेशलाई आन्तरिक र सीमापारको यातायात विस्तारमा उल्लेखनीय फड्को मार्न सहयोग पु¥याएको छ ।
विकासमा स्वाभाविक फड्को
रुपन्देहीमा हुलाकी राजमार्गले बुद्ध जन्मस्थल लुम्बिनीलाई सबै पालिकासँग जोड्ने काम गरेको छ । बुटवल, भैरहवा र लुम्बिनी क्षेत्रलाई सहज यातायात सेवा दिएको छ । जिल्ला सदरमुकामलाई बस्तीसँग जोडेको छ । कपिलवस्तुमा कृष्णनगर नाका र लुम्बिनी क्षेत्र जोड्ने खण्डको स्तरोन्नति र चौडाइ विस्तार भइरहेको छ । बाँके जिल्लामा प्रमुख सहर नेपालगन्ज–कोहलपुर–गुलरिया खण्डले त्यहाँको सम्भावनालाई साकार पार्न सहयोग गरेको छ । लुम्बिनी प्रदेशकै व्यस्त र प्रभावशाली खण्डका रूपमा यो सडकमार्गमा यातायात र व्यापारिक गतिविधि तीव्र भएको छ । केही ठाउँमा वर्षायाममा हुने क्षति, सडकको क्षेत्राधिकारमा रहेका विद्युत् पोल, टेलिकम र इन्टरनेटका तार पोल नसार्दा समस्या उत्पन्न भएको गुनासो छ ।
राष्ट्रिय गौरवका आयोजना
लुम्बिनी प्रदेशमा सञ्चालित केही राष्ट्रिय गौरवका आयोजनाले समग्र लुम्बिनी प्रदेशको मात्रै नभई मुलुककै पूर्वाधार, ऊर्जा, कृषि, पर्यटन र प्रशासनिक विकासमा महत्वपूर्ण भूमिका खेलिरहेका छन् । यी आयोजनाको सफल कार्यान्वयनले लुम्बिनी मुलुकको केन्द्र भागमा स्थापित हुने निश्चित छ । यहाँ केही आयोजनाको सङ्क्षिप्त विवरण र हालसम्मको प्रगतिलाई प्रतिशतमा प्रस्तुत गरिएको छ । विकासमा राष्ट्रिय सन्देश लुम्बिनी प्रदेशका १२ वटै जिल्लाले आआफ्नो भौगोलिक, ऐतिहासिक, सांस्कृतिक, पर्यावरणीय र आर्थिक विशिष्टताका आधारमा छुट्टाछुट्टै पहिचान बनाएका छन् । यी विशेषता र वर्तमान सरकारको रणनीतिक विकास योजनाले लुम्बिनीलाई समग्र समृद्धिको उदाहरणीय प्रदेश बनाउने सम्भावना प्रबल छ ।
विविधतायुक्त लुम्बिनी प्रदेशका समृद्धिका आधार प्रदेशको पहिलो सरकार अर्थात् शङ्कर पोखरेल मुख्यमन्त्री रहेका बेला तयार भएका थिए । त्यसबेला पर्यटन, वन, उद्योगका क्षेत्रमा सुरु भएका दीर्घकालीन योजनाको स्मरण गर्दै पहिलो सरकारमा मन्त्रीसमेत रहनुभएका एमाले नेता लीला गिरीले त्यसबेला सुरु भएका योजनाको सफल कार्यान्वयन भएमा समृद्ध प्रदेशको खाका प्रस्ट हुने बताउनुभएको छ ।
राष्ट्रिय गौरवका योजना जसले पूर्वाधारमैत्री शासन प्रणाली, स्थिर नेतृत्व र लगानीमैत्री वातावरणका उदाहरण प्रस्तुत गर्छन् । “अहिले काम देखिएको छ” भन्ने अनुभूति अब भौगोलिक सीमाभन्दा पर विस्तार भइरहेको विश्लेषक तथा टिप्पणीकार ऋषि आजादको भनाइ छ । यद्यपि हामीकहाँ पहिलो आमनिर्वाचनदेखि आमनिर्वाचन २०७९ सम्म आइपुग्दा कुनै पनि सरकारले पूर्ण कार्यकाल काम गर्न पाएका छैनन् । राजनीतिक अस्थिरताका कारणले सबै क्षेत्रमा नकारात्मक प्रभाव परेको देखिएको छ । यस्तो अवस्थामा पनि लुम्बिनी प्रदेश सडक विकासको नयाँ अध्याय लेख्दै छ । लुम्बिनी प्रदेश विकास, समृद्धि र सशक्तीकरणतर्फ उन्मुख छ ।