• २७ वैशाख २०८२, शनिबार

कपिलवस्तुमा झण्डै तीन सयवटा भ्रष्टाचारका उजुरी

blog

कपिलबस्तुको तौलिहवामा आयोजना गरिएको कार्यक्रमका सहभागी । तस्बिर : नारद कोहार । तौलिहवा

नारद कोहार

तौलिहवा (कपिलबस्तु), बैशाख २६ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चालु आर्थिक वर्षको साउनदेखि चैत महिनासम्म कपिलवस्तु जिल्लाबाट मात्रै २८० भ्रष्टाचारका उजुरी परेका छन । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलद्वारा कपिलवस्तुको तौलिहवामा आयोजित भ्रष्टचार नियन्त्रण तथा सुशासन प्रबद्र्धन सम्बन्धी जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा सो तथ्याङ्क प्रस्तुत गरिएको हो ।

संघीय, प्रदेश र स्थानीय तह गरी सो उजुरी परेको हो । आयोगका बुटवलस्थित कार्यालयका प्रमुख बिनिता भट्टराईले आफ्नो कार्यक्षेत्रमा पर्ने लुम्बिनी प्रदेशका नौ जिल्लामा कुल एक हजार ४८ उजुरी परेको बताउनु भयो । 

सबैभन्दा बढी कपिलवस्तु नगरपालिकाका ६१, कृष्णनगरका ५९, बुद्धभूमि नगरपालिका, मायादेबी र यशोधरा गाउपालिकाका ३१÷३१, बाणगंगा नगरपालिका १७, शुद्धोधन १६, बिजयनगर १४, महाराजगन्ज नगरपालिका ११ र शिवराज नगरपालिकाका ९ उजुरी परेका छन् । उजुरी परेकामध्ये १ सय ३० को विस्तृत अनुसन्धान प्रक्रिया अघि बढाइएको र त्यसमध्ये ७० वटाको अनुसन्धान सम्पन्न गरिएको भट्टराईको भनाइ छ ।  

सो अवसरमा आयोगका आयुक्त किशोरकुमार सिलवालले अख्तियारमा उजुरी पर्ने बित्तिकै सबै सकियो भन्ने भ्रम हटाउनुपर्ने बताउनुभयो । उजुरीको क्रममा बोलाउनु भनेको सफाइका लागि मौका दिएको बुझ्नु पर्ने उहाँको भनाइ छ । सधैँ उजुरीले नराम्रो गर्ने मात्र होइन केहीले राम्रो समेत गर्ने उहाँले बताउनुभयो । 

सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्यले कपिलवस्तुमा आफैँले सहमति गर्ने अनि उसैले अख्तियारमा उजुरी गर्नै प्रवृत्ति बढेको बताउनुभयो । उहाँले केहीले दुःख दिनैका लागि समेत उजुरी दिने गरेको बताउनुभयो । अख्तियारले समेत यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने उहाँको भनाइ छ । 

त्यस्तै, कपिलबस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले आफ्नो पालिकामा अनावश्यक अख्तियारमा उजुरी परेकाले कर्मचारीको मनोबल खस्किएको बताउनुभयो । उहाँले अहिलेसम्म दिएको उजुरीमा कोही पनि दोषी नदेखिएकाले समेत यो दुःख दिने नियतले नै गरिएको भन्ने प्रस्ट भएको बताउनुभयो । दुःख दिने नियतले गरिएको उजुरीका विषयमा अख्तियारले ध्यान दिनुपर्ने उहाँको भनाइ छ । 

प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले पारदर्शी, जिम्मेवारी र विधि अनुसार काम गर्नुपर्ने बताउनुभयो । व्यक्ति केन्द्रित र आफूलाई नै साध्य मानेर काम गर्ने प्रवृत्तिले गर्दा भ्रष्टाचार बढेको उहाँको दाबी छ । आफूले भ्रष्टाचार गरे पनि दुधको धोएको जस्तो देखिने र अरुलाई भ्रष्टचारी देख्ने चलन बढेकोले समते समस्या आउने गरेको उहाँको भनाई छ । उहाँले कानुनले निषेधित गरेका काम गर्न नहुने बताउनुभयो । 

कार्यक्रममा १४ जनाले विभिन्न जिज्ञासा राखेका थिए । आयोगका सहसचिव रमेश कुमार केसीले जिज्ञासाका विषयमा सुझाव दिएका थिए । कार्यक्रममा महराजगन्ज नगरपालिकाका नगर प्रमुख अब्दुल कलाम खाँ, बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्याल, मायादेबी गाउँपालिका अध्यक्ष वलीउद्दीन मुसलमान, विभिन्न कार्यालयका प्रमुख, राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिलगायतको सहभागिता थियो ।