धर्बेन्द्र झा
जनकपुरधाम, वैशाख २६ गते । मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री एवम प्रदेश सरकारका प्रवक्ता राजकुमार लेखीले नेपाल–भारतको सिमा क्षेत्रमा सुरक्षा सतर्कता बढाउन निर्देशन दिनुभएको छ ।
मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित गृह सञ्चार तथा कानुन मन्त्रालयको सभाकक्षमा शुक्रबार बसेको प्रदेश सुरक्षा समितिको बैठकमा उहाँले यस्तो निर्देशन दिनुभएको हो ।
उहाँले छिमेकी मुलुक भारतको पहलगाममा भएको हमलापछि बिकसित भारत–पाकिस्तान घटनाक्रमलाई मध्यनजर गर्दै नेपाल–भारतको सिमा क्षेत्रमा सुरक्षा सतर्कता बढाउन निर्देशन दिएको गोरखापत्रलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दुई देशको तनावपछि नेपाली भूमीबाट आतंकवादी संगठनले आपराधिक गतिबिधि गर्न सक्छन् । त्यस्ता गतिविधि हुन नदिन समयमै सुरक्षा सतर्कता बढाउनुपर्छ ।”
उहाँले मधेश प्रदेशका चारवटै सुरक्षा निकायलाई त्यस्ता गतिविधि हुन दिनका लागि सिमा क्षेत्रमा निगरानी बढाउन निर्देशन दिनुभयो । मन्त्री लेखीले सुरक्षा समितिको बैठकमा “हाम्रो भुमि कुनै पनि हालतमा आतंककारी गतिबिधिका लागि प्रयोग हुन दिनु हुँदैन, तसर्थ सबै सुरक्षा निकाय सतर्क रहनुपर्छ“ भन्नुभयो ।
सुरक्षा बैठकमा सरुवा भइ मधेश प्रदेश प्रहरी प्रमुख भएर आउनुभएका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदी र सशस्त्र प्रहरी बल मधेश प्रदेश प्रमुखको रुपमा आउनुभएका सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकाललाई गृहमन्त्री लेखीले स्वागत गर्नुभयो ।
बैठकमा सिमा सुरक्षा, लागुऔषध दुब्र्यसन, बिपद ब्यबस्थापनलगायतका विषयमा छलफल भएको गृह सञ्चार तथा कानुनमन्त्री लेखीले बताउनुभयो । बैठकमा गृह, सञ्चार तथा कानुन मन्त्रालय मधेश प्रदेशका सचिव विमलप्रसाद बडाल र चारवटै सुरक्षा निकायका प्रमुख एवम पदाअधिकारी र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति रहेको थियो ।