शशिधर पराजुली
विराटनगर, पुस ७ गते । विदेशी नागरिकले मात्र प्रवेश गर्न पाउने कानुनी व्यवस्था उल्लङ्घन गर्दै क्यासिनोमा नेपालीहरुलाई लुकिछिपी प्रवेश दिएपछि प्रहरीले विराटनगरमा सञ्चालित दुई वटा क्यासिनोका सञ्चालकहरुलाई पक्राउ गरेको छ ।
मध्यरातमा प्रहरीले क्यासिनोमा छापा मारेर सञ्चालकसहित २० जना नेपाली नागरिकलाई पक्राउ गरेको छ । लामो समयदेखि नेपालीहरुलाई प्रवेश दिएर जुवा खेलाउने गरेको गुनासो आइरहेको बेलामा प्रहरीले गएराति छापा मारेर नेपालीहरुलाई रङ्गेहात पक्राउ गरेको हो । क्यासिनोमा नेपाली नागरिक खुलेआम खेलिरहेको भेटाएपछि प्रहरीले दुवै क्यासिनोका सञ्चालकलाई पनि पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालका अनुसार विराटनगरस्थित ‘बिग होटल’ भित्र सञ्चालित च्याम्पियन जोन क्यासिनो र ‘रत्ना होटल’ भित्रको गोल्डेन क्यासिनोमा प्रहरीले एकैसाथ छापा मारेको थियो ।
राति ११ बजे गरिएको उक्त कारबाहीका क्रममा गोल्डेन क्यासिनोका सञ्चालक लोकेन्द्रबहादुर बस्नेत र च्याम्पियन जोन क्यासिनोका सञ्चालक रामकृष्ण गौतम पक्राउ परेको प्रहरीले जनाएको छ ।
प्रहरीले रत्ना होटलको क्यासिनोबाट १४ जना र बिग होटलको क्यासिनोबाट ६ जना गरी कुल २० जना नेपालीलाई रङ्गेहात नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबैलाई हाल जिल्ला प्रहरी कार्यालय मोरङमा हिरासतमा राखिएको छ ।
प्रहरीले पक्राउ परेकाहरू विरुद्ध सोमबार जुवा ऐनअन्तर्गत मुद्दा दर्ता गरी थप कानुनी प्रक्रिया अगाडि बढाउने तयारी गरेको एसपी कटुवालले जानकारी दिनुभयो ।