• ७ पुस २०८२, सोमबार

बागमतीमा फोहोर सङ्कलन गर्न ‘ट्रास ब्यारियर’

blog

काठमाडौँ, पुस ७ गते । बागमती नदी सरसफाइका लागि आधुनिक प्रविधिको प्रयोग आरम्भ गरिएको छ । अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले नदीमा फालिएका तैरिने फोहोर पदार्थ सङ्कलन गर्न ट्रास ब्यारियर राखेको हो । 

समितिका आयोजना उपनिर्देशक, सिनियर डिभिजनल इन्जिनियर एवं सूचना अधिकारी उद्धव नेपालका अनुसार बागमती नदी र बागमती नदीका सहायक खोलामा तैरिने फोहोर पदार्थ सङ्कलन गर्न ट्रास ब्यारियर राखिएको हो । 

उहाँले भन्नुभयो, “बागमतीका पाँच स्थान गोकर्ण ब्यारेजभन्दा माथि, गुह्येश्वरी मन्दिरभन्दा माथि, तिलगङ्गा आँखा अस्पतालनजिक, बागमती मनोहरा दोभान, युएन पार्क र मनोहरा नदीमा एक स्थान कर्मनाशा दोभाननजिकै ट्रास ब्यारियर राखेर पानीमा बगेर आउने पोलिथिनसहितका फोहोर सङ्कलन थालिएको हो ।”

उहाँले ट्रास ब्यारियर नदीमा तैरिएर बग्ने फोहोर सङ्कलन गर्ने प्रभावकारी उपाय रहेको र बोतल, काठका टुक्रा, कपडासहितका फोहोर वस्तुलाई रोकेर निश्चित स्थानमा जम्मा गराउने संरचना भएको बताउनुभयो । 

‘पानी बग्न अवरोध हुँदैन’

काठमाडौँ उपत्यकाका बागमती, विष्णुमती, मनोहरा र धोबीखोला जस्ता नदीमा सहरीकरण, अव्यवस्थित फोहोर व्यवस्थापन र जनचेतनाको कमीका कारण ठुलो मात्रामा तैरिने फोहोर बग्ने गरेको छ । 

उपनिर्देशक नेपालले समितिले परीक्षणका लागि छ ठाउँमा ट्रास ब्यारियर राखेको बताउनुभयो । उहाँका अनुसार २०८२ साउन ५ गते प्रविधि इन्टरनेसनलसँग ६५ लाख रुपियाँमा सम्झौता भई ट्रास ब्यारियर खरिद गरिएको हो । उहाँले नदीको बहावलाई अवरुद्ध नगरी नदीमा पानीको सतह घटबढसँगै ट्रास ब्यारियरको सतह आफैँ तलमाथि हुने बताउनुभयो । उहाँले नदी प्रदूषण न्यूनीकरण गर्न सहयोग पुग्ने र ट्रयास ब्यारियरबाट सङ्कलित फोहोरलाई नियमित रूपमा निकालेर वर्गीकरण, पुनः प्रयोग तथा सुरक्षित रूपमा व्यवस्थापन गर्न सकिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नदी प्रदूषण न्यूनीकरण गर्न र नदीको सौन्दर्य, जलजीवको संरक्षण र सार्वजनिक स्वास्थ्यमा सकारात्मक योगदान पु¥याउँछ । त्यसैले काठमाडौँका नदीमा ट्रास ब्यारियरको प्रयोग प्रवर्धन गर्नु दीर्घकालीन नदी संरक्षणका लागि आवश्यक मानिएको हो ।”