काठमाडौँ, वैशाख २६ गते। भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले आपतकालीन सेवा प्राप्त हुन सक्ने नजिकको स्थानको पहिचान गर्न त्यहाँ रहेका नेपालीलाई अनुरोध गरेको छ।
नेपाली राजदूतावास, नयाँ दिल्लीले शुक्रबार ‘अत्यन्त जरुरी सूचना’ जारी गर्दै भारतको जम्मू-कश्मीर राज्यको पहलगाममा भएको आतङ्कवादी हमलापछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै भारतमा रहेका नेपालीलाई सचेत र सुरक्षित रहन आग्रह गरेको छ।
राजदूतावासबाट जारी सूचनामा लेखिएको छ, भारतको जम्मू–कश्मिर राज्यको पहलगाममा भएको आतङ्कवादी हमलापछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै भारतमा रहेका नेपालीहरूलाई सचेत र सुरक्षित रहन एवम् सङ्कटकालीन अवस्थामा सुरक्षित र आपतकालीन सेवा प्राप्त हुन सक्ने नजिकको स्थानको पहिचान गर्न तथा भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षासम्बन्धी निर्देशनको पालना गर्न नेपाली राजदूतावास, नयाँदिल्ली अनुरोध गर्दछ।’