काठमाडौँ, वैशाख २७ गते । दोस्रो कोप ओपन र्यापिड रेटिङ चेस प्रतियोगिताको उपाधि नेपाल च्याम्पियन एफएम रूपेश जैसवालले जित्नुभएको छ । रूपेश नौ चरणको खेलमा आठ अङ्क प्रोग्रेसिभ ५२ प्वाइन्टका आधारमा विजेता बन्न सफल हुनुभएको हो ।
राष्ट्रिय सहकारी महासङ्घको आयोजना र प्रभु महालक्ष्मी लाइभ इन्सुरेन्सको प्रस्तुतीमा भएको प्रतियोगिताको विजेताल १० लाख बराबरको आवधिक जीवन बिमा तथा ४० हजार रुपियाँ, ट्रफि, गोल्ड मेडल पाउनुभयो ।
नेपाल बुद्धिचाल महासङ्घको प्राविधिक सहयोगमा दुई दिन सम्पन्न प्रतियोगितामा आठ अङ्क बनाउनुभएका एफएम क्षितिज भण्डारी ५१ प्रोग्रेसिभ प्वाइन्ट प्राप्त गर्दै दोस्रो हुनुभयो । उहाँले सात लाख रुपियाँ बराबरको आवधिक बिमासहित २५ हजार रुपियाँ, शिल्भर मेडल तथा प्रमाणपत्र पाउनुभयो ।
सिएम पुरुषोत्तम सिलवालले ५४.५ प्रोग्रेसिभ अङ्क जोड्दै तेस्रो हुनुभयो । उहाँले पाँच लाख रुपियाँ बराबरको जीवन बिमा र १५ हजार रुपियाँ पुरस्कार पाउनुभयो । प्रतियोगितामा शीर्ष १० मा रहने खेलाडीलाई नगद पुरस्कार प्रदान गरियो ।
यसैगरी महिलातर्फ ५.५ अङ्क जोड्दै शान्ति धिमाल पहिलो हुनुभयो । उहाँले सात हजार रुपियाँ पुरस्कार पाउनुभयो । पाँच अङ्क बनाउनुभएकी बिनिता कपालीले दोस्रो हुनुभयो ।
उहाँले ६ हजार र तेस्रो बन्नुभएकी सिन्दिरा जोशीले पाँच हजार रुपियाँ पुरस्कार पाउनुभयो । विजेतालाई भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीलगायतले पुरस्कार प्रदान गर्नुभयो ।