• २७ वैशाख २०८२, शनिबार

भारत–पाकिस्तान तनाव : सीमामा लुटिँदै घर फर्किने नेपाली

blog

भारतसँग सीमाना जोडिएको सुदूरपश्चिमका प्रमुख त्रिनगर नाकामा चेकजाँच गर्दै सुरक्षाकर्मीहरु । तस्बिरः निराजन परियार

निराजन परियार
चौमाला (कैलाली), वैशाख २७ गते ।
भारतसँग सीमाना जोडिएका सुदूरपश्चिमका प्रमुख दुई नाका कैलालीको त्रिनगर भन्सार र कञ्चनपुरको गड्डा चौकी नाकामा नेपालीहरुले चेकजाँचका क्रममा लुटिने गरेको गुनासो गरेका छन् ।

भारत–पाकिस्तानबिचको पछिल्लो सैन्य तनावको प्रभाव नेपाल–भारत सीमामासमेत परेको छ । नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मीहरूले आवतजावतमा कडाइ गरेका छन् ।

कामको सिलसिलामा भारतमा रहेका र नाकामा आवतजावत गर्ने नेपालीहरुले निक्कै समस्या भोग्नु परेको बताएका छन् । नाकाम चेकजाँचको क्रममा भारतीय सुरक्षा कर्मीहरुले अनावश्यक दुःख दिएर पैसा समेत लिने गरेको नेपालीहरुको गुनासो छ । कैलालीको त्रिनगर भन्सार नाकामा परिचय पत्र देखाउदा पनि भारतीय प्रहरीले आफ्नो खल्तीबाट एक हजार रुपियाँ लिएको भारतबाट नेपाल र्फकेका कैलालीका अर्जुनबहादुर पार्कीले बताउनुभयो ।

यस्तै, भारतसँग सीमाना जोडिएका सुदूरपश्चिमका प्रमुख दुई नाका कैलालीको त्रिनगर (गोरीफण्टा) भन्सार र कञ्चनपुरको गड्डा चौकी लगायत नाकाहरुमा सुरक्षा सतर्कता उच्च बनाइएको छ ।

यहाँका सबै नाकामा दुबै देशका सुरक्षाकर्मीहरू तैनाथ रहेका छन् । पछिल्लो समय दुवै देशका सुरक्षा निकायहरूले सीमा क्षेत्रलाई संवेदनशील मानेर प्रत्येक व्यक्तिको परिचय र गन्तव्यबारे सोधपुछ गरी मात्र आवतजावत अनुमति दिइरहेको कैलालीका सशस्त्र प्रहरी नायव निरिक्षक पदम धामीले बताउनुभयो । नेपाल–भारत आवागमन गर्ने यात्रुहरुलाई सरकारले परिपत्र अनिर्वाय गरेको छ ।

जम्मु–कस्मिरको पहलगाममा ९ वैशाखमा भएको आतङ्कवादी हमलामा एक नेपालीसहित २६ पर्यटक मारिएको घटनापछि भारत–पाकिस्तानबिच तनाव बढ्दा नेपालले सीमावर्ती नाकामा थप कडाइ गरेको हो ।

सुदूरपश्चिका अधिकांश नेपालीहरु कामको सिलसिलामा भारतमा जाने गरेका छन् । भारत–पाकिस्तानबिचको पछिल्लो सैन्य तनावको प्रभाव यस क्षेत्रका सिमानाकामा सबैभन्दा बढी रहेको छ । सिमानाका चेकजाँचका क्रममा नेपालीहरुलाई अनावश्यक दुःख दिने गरेको भारतबाट फर्केका अछामका रमेश थापाको बताउनुभयो ।

दुई शक्तिशाली राष्ट्र भारत र पाकिस्तानबिच तनाव बढेको बेला सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको समग्र सुरक्षा अवस्थाबारे केही दिन पहिले छलफल गर्नुभएको थियो । 

पछिल्लो समय विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको जनाएको छ । सीमावर्ती क्षेत्रबाट घुसपैठ हुन सक्ने आशङ्का तथा भारतले पाकिस्तानी नागरिकलाई निकाला गरेपछि पाकिस्तानी नागरिक सीमावर्ती क्षेत्रबाट नेपाल छिर्न सक्ने आशङ्कासहित सुरक्षा व्यवस्था कडा पारिएको हो ।