कविराज घिमिरे
हिले (धनकुटा), पुस ८ गते । वरिपरि सबैतिर सुक्खा भिर छ । भिरकै बिचमा एउटा खोँच, खोँचमा सानो ओडार अनि ओडारभित्र गाईका थुन झैँ देखिने पत्थरबाट निरन्तर जल चुहिरहेको हुन्छ । सबैभन्दा अनौठो त सो रसाइरहेको जल परेका हरेक वस्तु केही समयपछि एकाएक पत्थर झैँ हुन्छन् ।
धनकुटाको महालक्ष्मी नगरपालिका–४, डाँडाखर्कमा अनौठो विशेषता भएको यस क्षेत्रलाई स्थानीयले दुग्धनाथ मन्दिर मानेर पूजाअर्चना गर्दै आएका छन् । जहाँ शिव भगवान्को बास रहेको विश्वास गर्ने गरेको स्थानीय खेमराज भण्डारी बताउनुहुन्छ । मन्दिरमा चढाएका घन्टी, त्रिशूललगायतका वस्तु अहिले पत्थर झैँ भएको देख्न सकिन्छ । भण्डारीका अनुसार त्रिशूल, घन्टी राखिएको करिब एक वर्षको अन्तरालमा पत्थर हुने गरेका छन् । यही फरक विशेषताका कारण त्यहाँ पुग्ने जोकोही अचम्मित हुन्छन् ।
यो स्थान लेगुवा–खाँदबारी सडकखण्डको दमारभन्दा करिब दुई किलोमिटर माथि रहेको छ । स्थानीयको भनाइ अनुसार विसं १९५० तिर यो स्थान पत्ता लागेको हो । सो समयमा तत्कालीन स्थानीय भद्रबहादुर बस्नेतको गाई खोँचमा खसेको र सो गाई सोही स्थानमा गएर अडिएको थियो । गाई खोज्न जाँदा सो स्थानमा गाईको थुनको आकृति र सो थुनबाट दुध जस्तै रङको पानी निरन्तर बगिरहेको देखेपछि स्थानीयले पूजाआजा गर्दै आएका स्थानीय भीमबहादुर थापाको भनाइ छ ।
विसं २०५८ बाट भने स्थानीयले पूर्वाधार निर्माण र नियमित पूजा गर्दै आएका छन् । अहिले सो स्थानमा पालिका, वडा तथा विभिन्न दाताको सहयोगमा कच्ची सडक, सिँढी, पाटी, विश्रामस्थल आदि निर्माण गरिएको छ । स्थानीयको अगुवाइमा गाउँले सबै भेला भएर वर्षमा एक पटक सामूहिक पूजा, शिवरात्रि, बालाचतुर्दशीलगायत दिनमा विशेष पूजा हुने गरेको स्थानीय थर्कबहादुर थापा बताउनुहुन्छ ।
वरिपरिका डाँडाबाट देखिने अरुण नदी, अरुण उपत्यकासहितको मनमोहक दृश्यले समेत लोभ्याउँछ । यो स्थानको प्रचारप्रसार गर्न सके धार्मिक तथा पर्यटकीय रूपमा निकै फाइदा पुग्ने स्थानीयको भनाइ छ । पूर्वाधार निर्माण गरी प्रचारप्रसारको तयारी गरिएको महालक्ष्मी नगरपालिका–४ का वडाध्यक्ष शुव्रmराज बुढाथोकी बताउनुहुन्छ ।