• ८ पुस २०८२, मङ्गलबार

मानाभरा कप पुस १५ गतेदेखि

blog

मानाभरा कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिँदै । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, पुस ८ गते ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा आमन्त्रित प्रथम मानाभरा कप पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिमस्थित मानाभारा युथ स्पोर्टिङ क्लबको आयोजनामा यही पुस १५ गतेदेखि प्रतियोगिता सञ्चालन हुने भएको हो ।

आयोजक क्लबले सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो । क्लबका संरक्षक एवम् फक्ताङ्लुङ गाउँपालिका उपाध्यक्ष रवीन साम्रा (विकास) का अनुसार पुस १५ देखि १९ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको छ ।

प्रतियोगितामा आठ टोलीको सहभागिता रहने र सहभागी हुने टोलीको टुङ्गोसमेत लागिसकेको उपाध्यक्ष साम्राले जानकारी दिनुभयो । सहभागी टोलीको टुङ्गो लागेसँगै खेल तालिकासमेत पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ ।

सार्वजनिक गरिएको खेल तालिकाअनुसार पुस १५ गते उद्घाटन खेल आयोजक मानाभारा युथ स्पोर्टिङ क्लब र आठराई त्रिवेणी गाउँपालिकाको माछापोखरी हिटी फुटबल क्लब चाँगेबिच हुनेछ । यस्तै पुस १६ गते सिँवा स्पोर्टिङ क्लब फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिम र सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिमको लालीगुराँस फुटबल क्लबबिच खेल हुनेछ ।

पुस १६ गते नै आमन्त्रित टोली लिखुभुजी युथ क्लब रामेछाप र मैवाखोला गाउँपालिकाको जनआदर्श स्पोर्टिङ क्लब ढुङ्गेसाँघुबिच खेल हुनेछ । पहिलो चरण अर्थात प्रि–क्वार्टर फाइनलको अन्तिम खेल पुस १७ गते फुङ्लिङ नगरपालिका–९ हाङ्देवाको नवप्रयास युनाइटेड क्लब र मेरिङ्देन गाउँपालिकाको प्रगतिशील युथ क्लब लिङ्तेपबिच हुनेछ ।

आयोजक क्लबका अध्यक्ष तुलसी दाहालका अनुसार सेमिफाइनल चरणका दुबै खेल पुस १८ गते हुनेछ । पुस १९ गते प्रतियोगिताको फाइनल खेल हुने क्लबका अध्यक्ष दाहालले जानकारी दिनुभयो । यता प्रतियोगिताको विजेताले तीन लाख दुई हजार ८२ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाउनेछ । उपविजेताले भने एक लाख ५२ हजार ८२ रुपियाँ नगद पुरस्कार पाउनेछ ।

प्रतियोगितामा सर्वश्रेष्ठ लगायतका खेलाडीलाई विभिन्न विधागत पुरस्कारको व्यवस्था गरिएको पनि आयोजक क्लबका सचिव मौसम अन्छङ्बोले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार लिम्बू (गणेश), कार्यालय प्रमुख यज्ञनिधि पौडेल लगायतको उपस्थिति थियो ।