चन्द्र पन्दाक
ताप्लेजुङ, पुस ८ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा केही दिनयता भालुले आतङ्क मच्चाउन थालेपछि स्थानीय चिन्तित बनेका छन् । घरमा पालेका पशुचौपाया भेडा र बाख्रा खाएर भालुले आतङ्क मच्चाउन थालेपछि फुङ्लिङ नगरपालिका–९ हाङ्देवाका स्थानीय चिन्तित बनेका हुन् ।
हाङ्देवाको बुङ्कुलुङ धुपौरे क्षेत्रमा भालुले आतङ्क मच्चाएको हो । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) ताप्लेजुङका अध्यक्ष सुरज ओझाले धुपौरे क्षेत्रमा पछिल्लो एक सातायता स्थानीय किसानले पालेका भेडा बाख्रा खाएर भालुले आतङ्क मच्चाउँदै आएको जानकारी दिनुभयो । ओझाका अनुसार हालसम्म भालुले एउटा भेडा र छ वटा बाख्रा खाइसकेको छ ।
गत मङ्सिर २८ गते धुपौरेका स्थानीय नारायणप्रसाद गुरुङले पालेको एउटा भेडा भालुले खाएको छ । त्यसपछि पुस ४ गते एकैदिन स्थानीय भगिमान गुरुङको चार वटा बाख्रा भालुले मारेको अर्थात् खाएको छ । त्यसै आइतबार राति पनि सोही ठाउँका भीमकुमार गुरुङले पालेका दुई वटा बाख्रा भालुले खाएको छ ।
यसरी केही दिन बिराउँदै एउटै गाउँमा भालुले निरन्तर आतङ्क मच्चाउन अर्थात् पशुचौपाया खाएर क्षति गर्न थालेपछि स्थानीय त्रसितसमेत बन्न थालेका छन् । यता स्थानीय किसानले पालेका पशुचौपाया खाएर भालुले क्षति गर्न थालेको खबर भएपछि सोमबार डिभिजन वन कार्यालय ताप्लेजुङका निमित्त डिभिजनल वन अधिकृत ललितकुमार यादवको नेतृत्वमा गएको टोलीले स्थलगत अनुगमन गरेको छ ।
निमित्त डिभिजनल वन अधिकृत यादव, फेकोफनका जिल्ला अध्यक्ष ओझा, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रतिनिधि, हाङ्देवाका वडाध्यक्ष लक्षुमन गुरुङसहितका जनप्रतिनिधि संलग्न रहेको टोलीले भालुले क्षति गरेको ठाउँमा स्थलगत अनुगमन गरेको हो । स्थलगत अनुगमनसँगै हालसम्म भालुले क्षति गरेको विवरणसमेत सङ्कलन गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।
उता क्षतिको प्रकृति र जङ्गली जनावरको पाइलाको डोभका आधारमा भालुले नै पशुचौपाया भेडा बाख्रा क्षति गरिरहेको पुष्टि भएको पनि फेकोफनका जिल्ला अध्यक्ष ओझाले बताउनुभयो । उहाँका अनुसार कम्तीमा दुईवटा जति सङ्ख्यामा रहेको भालुले पशुचौपायामाथि क्षति गर्दै आएको अनुमान स्थलगत अनुगमनमा गएको टोलीले गरेको छ ।
भालुले निरन्तर पशुचौपाया क्षति गर्न (मार्न) थालेपछि चिन्तित बनेका स्थानीय पशुचौपाया मात्र नभई मानिसमाथि नै भालुले आक्रमण गर्नसक्नेभन्दै थप त्रसितसमेत बन्न थालेका छ । भालुले आक्रमण गर्न सक्ने भएकाले वन जङ्गलको बाटो हिँडडुल गर्दा र घाँस दाउरा गर्दा सतर्कता अपनाउनुपर्ने भएको वडाध्यक्ष गुरुङको भनाइ छ । केही समयअघि पाथीभरा याङ्वरक गाउँपालिका–२ थेचम्बुमा भालुले आक्रमण गरेर एक महिलालाई घाइते बनाएको थियो ।