• ८ पुस २०८२, मङ्गलबार

‘निर्वाचनको विकल्प छैन’

blog

कांग्रेस रौतहटद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यव्रmममा बोल्दै कांग्रेसका केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौला । तस्बिर : प्रवीणकुमार शर्मा

चन्द्रपुर समाचारदाता 

चन्द्रपुर (रौतहट), पुस ८ गते  । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले निर्वाचनको विकल्प नरहेको बताउनुभएको छ । नेपाली कांग्रेस रौतहटद्वारा गरुडामा कार्यकर्ता भेटघाट कार्यव्रmममा बोल्दै उहाँले देशलाई निकास दिन र जेनजी पुस्ताको माग सम्बोधनका लागि निर्वाचन एक मात्र विकल्प रहेको बताउनुभएको छ ।

केन्द्रीय सदस्य डा. सङ्ग्रौलाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसले सबै दलसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “देशलाई निकास दिन नेपाली कांग्रेस अग्रणी भूमिकामा उत्रनु पर्छ ।” 

उहाँले जेनजीको माग सम्बोधन तथा दीर्घकालीन  निकासका लागि हरेक क्षेत्रमा १८ वर्षदेखि ४० वर्षका युवापुस्ताको प्रतिनिधित्व गराइनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाली कांग्रेसको स्तम्भ मधेश रहेकाले मधेशले राष्ट्रपति मात्र हैन प्रधानमन्त्री पनि पाउनुपर्ने उहाँले जिकिर गर्नुभयो । मधेशमा अहिले पनि महिलाको प्रतिनिधित्व कम रहेकाले महिलालाई अगाडि बढाउन उहाँको भनाइ थियो । जनताले दिएको सुझावलाई ग्रहण गर्नका लागि आफू मधेश यात्रामा रहेको जिकिर उहाँले गर्नुभयो । उहाँले नेपाली कांग्रेसलाई सशक्त बनाउन १५ औँ महाधिवेशन निर्धारित मितिमा  नै हुनुपर्नेमा उहाँको जोड रहेको छ ।

उम्मेदवार सिफारिस 

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस रौतहटका चार वटै क्षेत्रीय समितिले जिल्ला कार्यसमितिमा प्रतिनिधि सभा प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभाका लागि उम्मेदवारको नाम छनोट गरेका छन् । १ नम्बर क्षेत्रीय कार्यसमितिले मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवसहित चार जनाको नाम सिफारिस गरेको छ । 

नेपाली कांग्रेस रौतहट १ नम्बर क्षेत्रीय कार्यसमितिको निर्णय अनुसार जिल्ला कार्यसमितिलाई पठाइएको सिफारिसमा प्रत्यक्ष, समानुपातिक तथा राष्ट्रिय सभातर्फका उम्मेदवारहरूको नाम समावेश गरिएको छ । प्रतिनिधि सभा प्रत्यक्षतर्फ रौतहट क्षेत्र नम्बर १ बाट मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, नेपाली कांग्रेस मधेश प्रदेश प्रचारप्रसार विभाग प्रमुख नितेशकुमार गुप्ता, नेपाली कांग्रेस मधेश प्रदेशका मुख्य सचिव सन्तुप्रसाद यादव  र पूर्वशिक्षक रामेश्वरप्रसाद यादवको नाम  सिफारिस गरेका कांग्रेस रौतहट क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति श्री राम राय यादवले जानकारी दिनुभयो । समानुपातिकतर्फ जनजातिबाट बिन्दा साहनी, मधेशीबाट रामकृपाल  यादव, मधेशी महिलाबाट शान्तिदेवी, मधेशी खस आर्यबाट भुवनी गिरी श्रेष्ठ, मधेशी मुस्लिम महिलाबाट शहजहा खातुन, मधेशी खुलाबाट नियति सिंह र विवेक रवि तथा अल्पसङ्ख्यकबाट विजय सिंहको नाम सिफारिस भएको उहाँले बताउनुभयो । 

त्यस्तै राष्ट्रिय सभा सदस्यका लागि अल्पसङ्ख्यक÷खुलाबाट चिरञ्जीवीप्रसाद सिंह  र दलितबाट नरेन्द्र पासवानको नाम सिफारिस भएको उहाँले बताउनुभयो । रौतहट क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभातर्फ मो फिरदौस आलमको एकल नाम सिफारिश भएको छ । त्यस्तै समानुपातिकतर्फ सेख रसिद अलि, ग्रिसनन्दन सिंह, शोभादेवी र खुश्बु नेसा खातुनलाई सिफारिस गरिएको नेपाली कांग्रेस रौतहट क्षेत्र नम्बर २ का सभापतिले बताउनुभयो । 

क्षेत्र नम्बर ३ बाट मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, नेपाली कांग्रेस रौतहट सभापति सुनीलकुमार यादव, हृदयनारायण राय यादव, ज्ञानेन्द्रप्रसाद यादव, राम कृपालप्रसाद यादव, वाल्मिकीप्रसाद यादव र सतीदेवीको नाम सिफारिस भएको रौतहट क्षेत्र नम्बर ३ का सभापति सर्फलालप्रसाद गुप्ताले बताउनुभयो । 

समानुपातिकतर्फ मो फिरोज आलम, राममङ्गलप्रसाद यादव र निर्मला सुवेदी तथा राष्ट्रिय सभाका लागि हृदयनारायण राय यादव र रमेशप्रसाद खरेलको नाम सिफारिस गरिएको  छ । 

त्यस्तै रौतहट क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ देवप्रसाद तिमल्सिना, पवनकुमार राय यादव, मिस्रुण खातुनको नाम सिफारिस भएको नेपाली कांग्रेस रौतहट क्षेत्र नम्बर ४ का सभापति रामसिनेही राय यादवले बताउनुभयो ।

प्रतिनिधि सभा समानुपातिकतर्फ सपुतबहादुर कार्की र गीतामाया भारती तथा राष्ट्रिय सभाका लागि धोराइ चौधरी, रामकृष्ण चौधरी र लक्ष्मी बरालको नाम सिफारिस भएको उहाँले जानकारी गराउनुभयो ।

क्षेत्रीय समितिबाट आएको नाममा आइतबार थपघट गरेर जिल्ला कार्यसमितिले अन्तिम नामावली प्रदेश समितिमा पठाउने नेपाली कांग्रेस रौतहटका सभापति सुनीलकुमार यादवले जानकारी गराउनुभयो ।