स्मिता अर्जेल
मकवानपुरगढी, वैशाख २७ गते । मकवानपुरको हेटौंडामा बसोवास गर्दै आउनुभएका एक दम्पत्तिले घरमै गड्यौला पालन गरेर मल उत्पादन सुरु गर्नुभएको दुई दशक भएको छ ।
हेटौँडा–७ नागस्वतीको हरियाली चोकमा बस्दै आउनुभएकी ४९ वर्षीया जानुका राई र उहाँका श्रीमान धनराज राईले वि.सं. २०६० सालदेखि गड्यौला पालन गरी मल उत्पादन गर्न सुरु गर्नुभएको हो ।
यसअघि राई दम्पति ज्याला मजदुरी गर्दै जीविकोपार्जन गर्नुहुन्थ्यो । करिब २० वर्ष अघि गड्यौलाबाट मल बन्ने थाहा पाएपछि जानुकाले गाउँमै तालिम लिएर घरमा नै जैविक मल बनाउने सोच बनाउनुभएको थियो ।
तीन हजार रुपियाँमा एक किलो गड्यौला किनेर सुरु गरिएको मल उत्पादनले खेती किसानी गर्ने कृषकको मन जितेको छ । अहिले मासिक ३ क्विन्टलसम्म मल उत्पादन गर्ने गरेको उहाँले सुनाउनुभयो ।
उहाँका अनुसार हाल ५० किलो हाराहारीमा गड्यौला पालन गरिएका छन् । ‘१ किलो गड्यौलाले ५० किलो बराबरको मल निकाल्ने गरेको छ । पहिले १ किलो मल बिकाउन धौधौ हुन्थ्यो । अहिले माग पूरा गर्न कठिन भएको छ’ उहाँ भन्नुभयो ।
राई दम्पतिले घरमै तयार गरेको अग्र्यानिक मलप्रति किसानहरूको रुची बढ्दै गएको छ । मिसावटी रासायनिक मलले बाली उब्जनीमा समस्या देखिन थालेपछि राई दम्पतिको घरमै उत्पादित जैविक मलको माग बढ्दै गएको हो ।
गड्यौलाको मल प्रतिकिलो ३५ रुपियाँमा बिक्री गर्ने गरेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘किसानहरूको मागअनुसार मल बिक्री गर्न सकिरहेको छैन । अब गड्यौलाको बासस्थान थप्ने तयारीमा छौं । त्यसपछि अझै धेरै मल उत्पादन गर्न सकिने आशा छ ।’
घरमै मल उत्पादन हुने हुँदा घरमा तरकारी उब्जाउन र अन्नपात फलाउन पनि निकै सहज भएको उहाँको भनाइ छ । घामपानी छेक्ने एक कोठामा उपयुक्त लम्बाइ, चौडाइअनुसार तयार गरिएको एक पिटमा गड्यौलाको बासस्थान बनाइएको छ ।
मासिक ३० डोका मल किनेर गड्यौलाको बासस्थान तयार गरिन्छ । गाई भैंसीको मलमुत्र र घरमै उपलब्ध हुने कुहिने फोहोर च्यापत्ती, तरकारीका बोक्रा, अण्डाको बोक्रा तथा पात पतिङ्गरबाट मल तयार गरिने उहाँले बताउनुभयो ।
उहाँका अनुसार गड्यौलाको मल उत्पादन थोरै मिहिनेत गरेर धेरै लाभ लिन सकिने पेसा हो । गड्यौला चिसोमा हुर्किने जीव हो । गड्यौलालाई बाँच्न उचित तापक्रम चाहिने हुँदा तापक्रम जाँच गरिरहन आवश्यक छ । गड्यौला बस्ने स्थानको तापक्रम ३६ डिग्रीभन्दा माथिको हुनु हुँदैन ।
राई दम्पतिका अनुसार चौपायाको मलमुत्रलाई सङ्कलन गरेर त्यहाँ गड्यौला राखिन्छ । गड्यौलाले त्यसलाई आहाराको रूपमा खाने गर्छ र त्यहि मलमुत्र गर्छ । यसरी केही समयपछि जैविक मल तयार हुन्छ ।
माटोलाई चिसो बनाइराख्न र माटोको उर्वराशक्ति बढाउने हुँदा अन्य रासायनिक मल भन्दा यो निकै फलदायी रहेको जानुका राईको भनाइ छ । उतिबेला लिएको तालिमले आत्मनिर्भर बनाउँछ र जिविकोपार्जन गर्ने माध्यम बन्ने भन्ने लागेको थिएन उहाँले भन्नुभयो, “फोहोर भनेर फालिएका वस्तु नै यति उपयोगी हुन्छ भनेर मैले सोचेकी थिइनँ । अहिलेत जान्ने हो भने फोहोरबाट धेरै लाभ लिन सकिने रहेछ ।”