काठमाडौँ, असार ३ गते । इजरायली हवाई आक्रमणको निशानामा इरानी आणविक प्रतिष्ठान परेको छ । आणविक प्रतिष्ठानमा आक्रमण भएको सूचनापछि कतारले खाडीक्षेत्रमा विकिरणको मात्रा निगरानी गरिरहेको कतारको विदेश मन्त्रालयका प्रवक्ताले मङ्गलबार बताउनुभएको छ ।
विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले पत्रकार सम्मेलनमा भन्नुभयो, “हामीले दैनिक रुपमा यसको अनुगमन गरिरहेका छौं ।” उहाँले भन्नुभयो, “हामीले अहिले नै चिन्ता गर्नुपर्ने कुनै कारण छैन, तर लामो समयसम्म तनाव बढ्दा अप्रत्याशित परिणाम भोग्नुपर्ने निश्चित छ।
इजरायलले शुक्रबार इरानको आणविक संरचनाविरुद्ध अभूतपूर्व हवाई अभियान चलाएको छ, जसका कारण दुई क्षेत्रीय शत्रुहरुबीच घातक क्षेप्यास्त्र आदानप्रदान भएको छ।
अन्सारीले भन्नुभयो, “हामीले खाडीको पानीको बारेमा कुरा गर्छौं, यो यस क्षेत्रमा हामी सबैको लागि पानीको मुख्य स्रोत हो।” “अन्तर्राष्ट्रिय समुदायले यो स्पष्ट पार्नु पर्दछ कि यस क्षेत्रमा आणविक सुविधाहरूको कुनै पनि लक्ष्यीकरण, ईन्धन वा ऊर्जा सुविधाहरूमा हुने आक्रमणले खाडीमा हामीलाई थाहा नभएको असर पार्नेछ।
इरानको खाडी तटमा बुशहरमा आणविक ऊर्जा केन्द्र छ, यद्यपि इजरायलले निशाना बनाएको युरेनियम संवद्र्धन केन्द्रहरू सयौं किलोमिटर [माइल] भित्र अवस्थित छन्। संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी संस्था अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले शुक्रबार इरानले बुशहर प्लान्टलाई निशाना नबनाइएको जानकारी गराएको छ ।
शनिबार इजरायलले खाडी तटमा रहेको इरानको एक प्रमुख ग्यास प्रशोधन केन्द्रमा आक्रमण गरेको थियो। अन्सारीले यस क्षेत्रमा कतारको आफ्नै सुविधाहरू ‘सुरक्षित’ रहेको बताउनुभयो तर इरानको ऊर्जा पूर्वाधारमा इजरायली आक्रमणलाई ‘लापरवाहीपूर्ण’ भन्दै निन्दा गर्नुभयो । सिन्हा