काठमाडौँ, असार २५ गते । उज्वेकिस्तानमा हालै सम्पन्न एएफसी महिला एसियन कप छनोटमा नेपाली टोलीको कप्तानको विषयमा देखिएको विवाद बारे अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को टोली ब्यवस्थापनले जवाफ दिएको छ ।
महिला टोली ब्यवस्थापनले बुधबार पत्रकार सम्मेलन गर्दै टोलीको कप्तान विवादबारे आफ्नो धारणा सार्वजनिक गरेको हो । नेपाली टोलीकी प्रमुख ब्यवस्थापक सरिला श्रेष्ठसहितको टोलीले नेपालमै हुँदा कप्तान घोषणा गरेर अघि बढ्न आग्रह गर्दा प्रशिक्षक प्याट्रिक डे वाइल्डले अस्वीकार गरेको धारणा राख्नुभयो ।
उज्वेकिस्तानमा पुगेपछि पनि प्रशिक्षकले अन्तिम समयसम्म पनि कप्तानको विषयमा जानकारी दिन अस्वीकार गर्दा ब्यवस्थापक र एन्फालाई नै गाह्रो भएको उहाँहरुको भनाई छ ।
एएफसी अन्तर्गत खेलको म्याच कमिसनरले बारम्बार खेलको प्लेइङ–११ र कप्तानको नाम दिन आग्रह गर्दा समेत मुख्य प्रशिक्षकले नदिँदा ९० मिनेटअघि आफुहरुले रेनुका नगरकोटेको नाम दिएको, तर प्रशिक्षकले खेलअघि सावित्रा भण्डारी ‘साम्बा’को नाम दिँदा केही विवाद भएको हो, पत्रकार सम्मेलनमा ब्यवस्थापक श्रेष्ठले भन्नुभयो ।
अन्तिम समयसम्म प्रशिक्षकले नाम नदिँदा एएफसीको म्याच कमिसनरले नेपाललाई जरिवाना गर्न सक्ने भन्दै आफुहरुले प्रशिक्षकलाई सचेत गराएको श्रेष्ठको भनाइ थियो ।
मैदान छिर्नुअघि प्रशिक्षकले कप्तानको जिम्मेवारी सावित्रालाई दिएपनि सावित्रा कप्तान बन्नुमा ब्यवस्थापक कसैलाई फरक नभएको श्रेष्ठले उल्लेख गर्नुभयो ।
एन्फाका प्राविधिक प्रमुख हरि खड्काले प्रशिक्षकले कप्तानको विषयलाई लिएर अनावश्यक झमेला गरेको उल्लेख गर्नुभयो । प्रशिक्षक उज्वेकिस्तानबाटै वेल्जियम गएकोले उहाँको बरेमा एन्फाले थप बुझ्ने पनि खड्काले बताउनुभयो ।
एन्फाले प्रशिक्षक वाइल्डसँग एक वर्षको सम्झौता गरेको थियो । एक महिनामै स्वदेश फर्किनुभएका प्रशिक्षक वाइल्ड अब फर्कने वा नफर्कने विषयमा एन्फाले निक्र्योल गर्न सकेको छैन ।
यस्तै टोलीका सहायक प्रशिक्षक राजेन्द्र तामाङले मुख्य प्रशिक्षक वाइल्डले नेपालमै हुँदा कप्तान परिवर्तन गर्ने जानकारी दिएको बताउनुभयो ।
‘‘प्रशिक्षक वाइल्डले नेपालमै हुँदा सावित्रा वा गीता रानामगरलाई कप्तान बनाउने बताउनुभएको थियो । गोलरक्षक भन्दा अगाडी खेल्ने खेलाडीलाई कप्तान बनाउँँदा राम्रो हुने धारणा उहाँको थियो । तर अन्तिम समयसम्म कप्तान नतोक्दा केही विवाद भयो,’’ तामाङले भन्नुभयो ।
नेपाली महिला फुटबलका लागि निकै महत्वपूर्ण रहेको यस छनोट खेलमा नेपाल उज्वेकिस्तानविरुद्ध टाइब्रेकरमा पराजित हुँदै बाहिरिएको थियो ।
नेपालले समूह ‘एफ’ अन्तर्गतको आफ्नो पहिलो खेलमा लाओसलाई ९–० र दोस्रो खेलमा श्रीलङ्कालाई ८–० गोलले हराएको थियो । छनोटको लागि उज्वेकिस्तानविरुद्ध निर्णायक खेल ३–३ को बराबरी भएपछि टाइब्रेकरमा पुग्दा नेपाल उज्वेकिस्तानसँग ४–२ गोलले स्तब्ध बनेको थियो ।