• २५ असार २०८२, बुधबार

कप्तान ‘साम्बा’सहित १० खेलाडी सम्मानित

blog

सम्मनित भएपछि महिला फुटबल खेलाडी ।

काठमाडौँ, असार २५ गते । उज्वेकिस्तानमा सम्पन्न एएफसी महिला एसियन कप छनोटमा उत्कृष्ट प्रदर्शन गर्न सफल कप्तान सवित्रा भण्डारी साम्बा’सहित १० खेलाडीलाई द इन्साइट भिजन सेकेन्डरी स्कुल र राजधानी क्याम्पसले नगद पुरस्कार तथा छात्रवृत्तिसहित सम्मान गरेको छ ।

धुम्बाराहीमा बुधबार आयोजित कार्यक्रममा कप्तान सावित्रा, अनिता बस्नेत, रेखा पौडेल, सविता रानामगर, पूजा रानासहित राष्ट्रिय टिमकी पूर्वकप्तान अनु लामा, हिराकुमारी भुजेल, युवा खेलाडीहरू सावित्री किसान, कुसुम खतिवडा र सुनकला राईलाई जनही १० हजार रुपियाँ र समग्रमा १८ लाख बढीको छात्रवृत्तिसहित सम्मान गरेको हो । 

खेलाडीहरुलाई प्रमुख अथिति दिनेश महर्जन, स्कुलका संस्थापक प्रधानाध्यापक भीमकुमार श्रेष्ठ, अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का सहायक महासचिव दामोदर भट्टराईले नगदसहित सम्मानपत्र प्रदान गर्नुभयो । 

छनोटमा नेपाल घरेलु टिम उज्वेकिस्तानविरुद्ध टाइब्रेकरमा पराजित हुँदै बाहिरिएको थियो । नेपालले समूहको पहिलो खेलमा लाओसलाई ९–० र दोस्रो खेलमा श्रीलङ्कालाई ८–० गोलले हराएको थियो । उज्वेकिस्तानविरुद्ध ३–३ को बराबरी भएपछि छनोटको लागि निर्णायक खेल टाइब्रेकरमा पुग्दा नेपाल स्तब्ध बनेको थियो ।