• ४ असार २०८२, बुधबार

इजरायलद्वारा इरान द्वन्द्वबाट विदेशमा फसेका नागरिकहरूलाई घर फर्काउन सुरु

blog

जेरुसेलम, असार ४ गते । इरानसँगको द्वन्द्वका कारण उडान रद्द भएपछि विदेशमा फसेका इजरायलीहरूलाई घर ल्याउने पहिलो विमान बुधबार बेन गुरियन विमानस्थलमा अवतरण गरेको विमानस्थल प्राधिकरणले जनाएको छ ।

“केही समयअघि नै अपरेसन सेफ रिटर्नको पहिलो उडान बेन गुरियन विमानस्थलमा अवतरण भएको थियो”, एक विज्ञप्तिमा भनिएको छ । उडान राष्ट्रिय वाहक एल अलद्वारा सञ्चालित थियो र साइप्रसको लार्नाकाबाट इजरायलीहरूलाई घर ल्याएको थियो । यातायातमन्त्री मिरी रेगेभले मङ्गलबार एक लाखदेखि एक लाख ५० हजार इजरायली विदेशमा फसेको बताउनुभयो ।

इरानसँगको हवाई युद्धको समयमा उनीहरूलाई रोक्नका लागि इजरायलका सबै व्यावसायिक विमानहरू विदेशमा पठाइएको मन्त्रालयले जनाएको छ । गत हप्ता उडानहरू स्थगित गरेपछि एल अलले लार्नाका, एथेन्स, रोम, मिलान र पेरिसबाट प्रस्थान गर्ने विमानहरूसँग बुधबारदेखि ‘उद्धार उडानहरू तयारी गरिरहेको’ बताएको छ । कम लागतको इजरायली एयरलाइन्स अर्कियाले पनि इजरायलीहरूलाई स्वदेश फिर्ता गर्न यस हप्ता विशेष उडानहरू घोषणा गरेको छ ।

बुधबार विमानस्थल प्राधिकरणको एक विज्ञप्तिमा फिर्ती सञ्चालन ‘यात्रु, एयरक्रू र विमानको सुरक्षामा कडा जोड दिएर जोखिमको स्तर र हालको सुरक्षा मूल्याङ्कनका आधारमा चरणहरूमा व्यवस्थित भइरहेको’ बताइएको छ । यसले जनतालाई ‘हालको सुरक्षा अवस्था’ का कारण आगमन गर्ने यात्रुहरूलाई स्वागत गर्न बेन गुरियन विमानस्थलमा नजान वा उनीहरूलाई विमानस्थलबाट लिन ट्याक्सीहरू अर्डर नगर्न आग्रह गरेको छ ।

दशकौँको शत्रुता र लामो छायाँ युद्धपछि इजरायलले शुक्रबार इरानविरुद्ध आश्चर्यजनक हवाई अभियान सुरु गरेको थियो । इजरायलले आक्रमणको उद्देश्य इरानलाई आणविक हतियार क्षमता विकास गर्नबाट रोक्नु भएको बताएको छ तेहरानले आणविक हतियार प्राप्त गर्ने महत्वाकांक्षालाई अस्वीकार गरेको छ । रासस/एएफपी