• ४ असार २०८२, बुधबार

नारायणघाट–बुटबल सडक

दुम्किवासको डाइभर्सन एकतर्फी, दाउन्नेमा गाडी फस्दा लामो जाम

blog

नारायणघाट–बुटबल सडक खण्डको दुम्विास खण्ड

बोमलाल गिरी

नवलपुर, असार ४ गते। मंगलबार राति परेको पानीले बगाएको डाइभर्सन मर्मतपछि नारायणघाट–बुटबल सडक खण्डको दुम्विासबाट एकतर्फ रुपमा गाडी पास हुन सक्ने बनाइएको  छ। सोमबारको बाढीले डाइभर्सन बगाएपछि हिजो दिनभरी अवरुद्ध भएको सडक साँझदेखि एकतर्फी खुलेको थियो। 

अहिले फेरी मर्मत गरेर एकतर्फी रुपमा गाडी पार गर्न सक्ने बनाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो। डाइभर्सन बाढीले बगाउँदा बिहानदेखि गाडीहरु रोकिएका कारण लामो जाम परेको छ भने दाउन्नेमा बाटो हिलाम्मे हुँदा गाडी फसेका कारण निक्कै लामो जाम भएको प्रहरीले जनाएको छ। 

खोलाको वेग बढी भएका कारण सानो बाढी आउँदा पनि डाइभर्सन बगाउने गरेको छ।  त्यहाँ निर्माण गरिएको डाइभर्सन मंगलबारसम्म ६ पटक बगाइसकेको छ।

यसैगरी गएरातिदेखि दाउन्नेको हिलो बाटोमा फसेका गाडी निकाल्न नसक्दा पश्चिम खण्डमा दाउन्नेदेखि मुमहीसम्म र पूर्वी खण्डमा दाउन्नेखि चोरमारासम्म जाम परेको प्रहरी उपरीक्षक नेपालले बताउनुभयो। जसका कारण एम्बुलेन्ससमेत संचालन हुन सकेको छैन। 

दुम्कीवासबाट ३ किलोमिटर पश्चिममा रहेको विश्वकर्मा मन्दिर नजिकै निर्माणाधीन पुलमा फसेका मालबहाक गाडीका कारण जाम परेको हो। दाउन्नेमा बाटो खुल्नासाथ साना गाडी र यात्रुबाहक सवारी साधनलाई पहिलो प्राथमिकतामा राखेर यातायात सञ्चालन गर्ने जिल्ला प्रहरी कार्यालय प्रमुख, प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो।

ओभरटेकको समस्या समाधानका लागि जिल्लाका ठाउँठाउँमा ७७ जना प्रहरी राजमार्गमा परिचालन गरिएको ढकालले जानकारी दिनुभयो।