• ४ असार २०८२, बुधबार

पेट्रोलियम अन्वेषणको आशमा बखरियावासी

blog

तुलसीपुर उपमहानगरपालिका –१३ फूलवारीको दुम्ना गाउँवस्ती ।

गोकर्ण पौडेल 

तुलसीपुर, असार ४ गते । नेपाली समाजमा एउटा उक्ति छ, ‘बाह्र वर्षमा त खोला फर्किन्छ’ यो उक्तिलाई आर्थिक वर्ष २०८२–८३ को बजेट तथा कार्यक्रमले सार्थक पारेको छ ।  

तुलसीपुर उपमहानगरपालिका –१३ बखरियामा पेट्रोलियम पदार्थको अन्वेषण गरिने भएको छ । करिब पाँच दशकअघि साविकको फूलवारी गाविस बखरियामा पेट्रोलियम पदार्थ अन्वेषणका लागि सम्भाव्यता अध्ययन गरिएको थियो । 

तुलसीपुर उपमहानगरपालिका –१३ फूलवारीको दुम्नामा अध्ययनका लागि कार्यालय समेत स्थापना गरेमा जुन कार्यालय अहिले जिर्ण अवस्थामा रहेको छ । वरपर काँडाको झारीबिचमा रहेको कार्यालय रहेको छ । 

आर्थिक वर्ष २०८२–८३ को बजेट तथा कार्यक्रममा पाल्पा, सुनसरी र दाङमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गरिने उल्लेख गरिएको छ । तुलसीपुर उपमहानगरपालिका –१३ बखरियाका नारायण डाँगी उक्त अन्वेषण केन्द्रका निरीक्षणका लागि तत्कालीन राजा बिरेन्द्र आएको बताउनुहुन्छ । 

डाँगीका अनुसार त्यस क्षेत्रमा अन्वेषणका क्रममा निकालिएको माटोमा मट्टितेलको गन्धसमेत आएको थियो भने त्यहाँबाट निकालिएको माटोमा आगो समेत बलेको थियो । डाँगीले भन्नुभयो, “खन्दाखन्दै मेसिनका लागि आवश्यक पर्ने तेल सकियो नेपालगञ्जबाट आएन भनेर टोली फर्कियो खै फेरि किन आएन ?”  

तुलसीपुर उपमहानगरपालिका –१३ का वडाध्यक्ष मोहन पौडेल संघीय सरकारको बजेट तथा कार्यक्रमले वर्षौ पहिले फूलबारीवासीमा जगाएको आसा फेरि पलाएको बताउनुहुन्छ । पौडेलले भन्नुभयो, “फूलबारीमा तेल निस्किएको हो रे ? भन्ने सुनिन्थ्यो अब चाँहि पक्कै कामले गति दिन्छ भन्ने विश्वास पलाएको छ ।”

खानी तथा भूगर्भ विभागअन्तर्गत पेट्रोलियम अन्वेषण परियोजनाका भूगर्भविद् एवम् सूचना अधिकारी  प्रकाश लुइँटेलका अनुसार विभागको २०४२ सालमा मात्र स्थापना भई अन्वेषणको काम सुरु गरेकाले त्योभन्दा पहिले नै दाङमा कोइला तथा पेट्रोलियम पदार्थको सम्भाव्यता अध्ययनको काम भएको बताउनुभयो । 

उहाँले अन्वेषण परियोजनामा दाङको फूलवारीमा विगतमा गरिएको अध्ययनको विवरणसमेत नभएको बताउनुभयो । उहाँले आर्थिक वर्ष २०८२–८३ मा बजेट विनियोजन भएकाले त्यसको अध्ययनका लागि केन्द्र कार्य योजना निर्माणको चरणमा रहेको बताउनुभयो । भूगर्भविद् लुइँटेलका अनुसार कार्य योजना निर्माण पछि स्थलगतमा आएर कामको सुरुवात गरिनेछ ।