भवानी दत्त भट्ट
बेलौरी (कञ्चनपुर), वैशाख २६ गते । संविधान सभा सदस्य कृपाराम रानाले रानाथारु भाषा चुनौतीको घेराबन्दीमा रहेको बताउनुभएको छ । शुक्रवार भारतको उत्तराखण्ड प्रदेशको खटिमा स्थित रानाथारु विकास भवनको हलमा आयोजित महाराणा प्रतापको जन्मजयन्तीको अवसरमा उहाँले सो कुरा बताउनुभएको हो ।
राना थारु जातिको संस्कृतिमाथि आधुनिक परिवेश र अन्य समुदायको प्रभुत्व दिन प्रतिदिन बढ्दै जाँदा रानाथारु भाषा चुनौतीको घेराबन्दीमा रहेको उहाँले बताउनुभयो । रानाथारु समुदायको पहिचानको मुख्य आधार भाषा, संस्कृति रहन सहन, सामाजिक संरचना भएको हुँदा यसको संरक्षणमा समुदाय र राज्य दुवैले महत्वपूर्ण साथ दिनुपर्ने उहाँले बताउनुभयो ।
नेपाल भारतमा बोलिने रानाथारु भाषा रानाथारु समुदायको साझा भाषा भएकाले यसको संरक्षण सम्वर्धन हुँदै सरकारी तवरबाट जगेर्ना गर्नुपर्ने, सरकारी कामकाजी भाषाको मान्यता दिइनु पर्नेमा उहाँले जोड दिनुभयो ।
समुदायस्तरबाट यसको संरक्षण, सम्वर्धन र विकासको अभियान सञ्चालन गरिनुपर्ने अहिले मुख्य आवश्यकता रहेको उहाँले बताउनुभयो । महाराणा प्रतापको जन्मजयन्तीको अवसर पारी भारतको उत्तराखण्ड प्रदेशको खटिमास्थित भव्यताका साथ जन्मजयन्ती मनाइएको हो ।
कार्यक्रममा संविधान सभा सदस्य कृपाराम राना, कञ्चनपुरको लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना, नेपाल राना थारु समाजका केन्द्रीय अध्यक्ष कमलसिङ राना, नेपाल राना थारु समाज कञ्चनपुरका अध्यक्ष प्रेमवती राना लगायतको सहभागिता रहेको थियो ।
प्रत्येक वर्ष राना थारु समुदायले मे ९ मा विशेष कार्यक्रमको आयोजना गरी महाराणा प्रतापको जन्मजयन्ती मनाउँदै आएका छन् । भारतको खटिमा जिल्लास्थित उद्यमसिंह नगरमा उहाँको घोडामा चढेको प्रतिमा पनि बनाइएको छ । राना थारु समुदायले महाराणा प्रतापलाई पूर्वजको रुपमा मान्दैआएका छन् ।