टोपलाल अर्याल
रेसुङ्गा, वैशाख २७ गते । गुल्मीका गाउँ टोलमा सडक कालोपत्रे हुन थालेपछि स्थानीय खुसी भएका छन् । वर्षौं ग्रामीण कच्ची सडकमा हिलो र धुलोको सास्ती स्थानीयले सडक कालोपत्रे हुँदा खुसी भएका हुन् ।
अहिले इस्मा गाउँपालिका –३ दर्लामचौरका विभिन्न खण्डमा सडक स्तरोन्नति, ढलाल र कालोपत्रेको काम भइरहेको छ । इस्मा गाउँपालिका –३ दर्लामचौरको नयाँ पोखरा क्षेत्रमा स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय रूपन्देहीमार्फत करिब एक किलोमिटर सडक कालोपत्रे भइरहेको छ ।
पुष्पाञ्जली निर्माण सेवा प्रालि तानसेनले इस्मामा कालोपत्रे र मालिकामा ढलान गर्ने गरे दुई करोड ११ लाख २७ हजार ७६१ रुपियाँमा निर्माण सम्झौता गरेको स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय रूपन्देहीका सब–इन्जिनीयर प्रदीप पाण्डेयले जानकारी दिनुभयो । उहाँले ठाढुङ्गा–रामकोट–इस्मामैदान–घमिर सडक कालोपत्रे योजना अन्तर्गत कालोपत्रे र ढलानको काम भएको बताउनुभयो ।
ठाढुङ्गा र नयाँपोखरा बजार क्षेत्रमा कालोपत्रेले भएपछि धुलोबाट हुने सास्ती हटेको स्थानीय व्यवसायी टिकेन्द्र मानन्धरले बताउनुभयो । उहाँले भन्नुभयो, “घर अगाडि कालोपत्रे हुँदा खुसी नहुने कुरै भएन । कालोपत्रले यात्रा सहज मात्र नभएर धुलोको सास्ती हटाएको छ ।” सडक डिभिजन कार्यालय पाल्पामार्फत एक करोड रुपियाँको लागतमा दर्लामचौरको ठाढुङ्गा बजार क्षेत्रको ३०० मिटर कालोपत्रे भएको छ ।
कालिका निर्माण सेवाले सडक कालोपत्रे निर्माणको काम गरेको थियो । त्यस्तै, अहिले दर्लामचौरकै छिनुना खण्डमा सडक डिभिजन कार्यालय पाल्पामार्फत एक करोड रुपियाँको लागतमा २०० मिटर सडक कालोपत्रेको काम हुँदै छ । रेसुङ्गा कन्स्ट्रक्सन तम्घासले छिनुवामा ढलान, ग्याविङ्ग वालसहित कालोपत्रेको काम गरिरहेको छ ।
त्यस्तै, सडक पूर्वाधार कार्यालय गुल्मीमार्फत नयाँ पोखरादेखि दोहली खण्डको २०० मिटर सकड पनि कालोपत्रे हुने चरणमा छ । करिब २५ लाख रुपियाँमा विष्णुदेवी निर्माण सेवाले २०० मिटर सडक कालोपत्रेको काम गरिरहेको इस्मा गाउँपालिका–३ का वडाध्यक्ष ज्योतिराज कुवँरले जानकारी दिनुभयो ।
यो वर्ष नै दर्लामचौरको मथरे र बोहोराताला खण्डमा ढलान र स्तरोन्नतिको काम पनि हुँदै छ । सडक डिभिजन कार्यालय पाल्पामार्फत बोहोराताला खण्डमा करिष्मा कन्स्ट्रक्सनले मथरे क्षेत्रमा २४ लाख रुपियाँको लागत २०० मिटर सडक स्तरोन्नति गरिने कुवँरले बताउनुभयो । इस्मा गाउँपालिका –३ वडा कार्यालयको २५ लाख रुपियाँको लागतमा जानका कन्स्ट्रक्सनले ३०० मिटर सडक ढलानको काम गर्नेछ ।
वडाध्यक्ष कुवँरले पूर्वमन्त्री तथा सांसद गोकर्ण विष्टसहित प्रदेश र पालिका स्तरबाट पनि सडक निर्माणका कामहरू धमाधम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “माननीयज्यूहरूको पहलमा ठुला काम र पालिकास्तरबाट साना योजनाका कामहरू इस्मामा अघि बढेका छन् । सडक, खानेपानीलगायतका महत्त्वपूर्ण पूर्वाधारमा दिनरात खटिएर काम गरिरहेका छौं ।”
इस्मा गाउँपालिका –२ हस्तिचौर टारहुँदै अर्खाबाङ्ग जोडने सडकमा पनि कालोपत्रेको काम अघि बढेको छ । समयमै काम नहुँदा आलोचना भइरहेको उहाँको भनाइ छ । इस्मा गाउँपालिका –६ अमरपुरदेखि मालिका गाउँपालिका –६ अर्जे जोडने सडकको पनि बुल्मखण्डमा कालोपत्रे सडक निर्माणको काम भइरहेको छ ।
रेसुङ्गा नगरपालिकाले गाउँका भित्री सडकहरू कालोपत्रेको कामलाई तिब्रता दिएको छ । धुर्कोट गाउँपालिकाको मुख्य सडक सेउघा–सिमाघाट–बरवोट–पुर्कोटदह खण्डको अधिकांश भाग र केही भित्री सडक कालोपत्रे भएका छन् । रुरुक्षेत्र गाउँपालिकामा मुख्य मदन भण्डारी सडक बाहेक पनि गाउँ जोड्ने सडकहरू धमाधम कालोपत्रेको काम भएका छन् ।
मुसिकोट नगरपालिका, मदाने गाउँपालिका, छत्रकोट, चन्द्रकोट र कालिगण्डकी गाउँपालिकाका मुख्य तथा केही सहायक सडकहरू कालोपत्रे भइरहेका छन् ।