अमरराज नहर्की
तनहुँ, पुस ८ गते । तनहुँको व्यास नगरपालिका–३ देउरालीनगर र व्यास–१ भादगाउँ जोड्ने बुल्दीखोला पुल निर्माण कम्पनीको चरम लापरबाहीका कारण अलपत्र परेको छ । २०७९ सालमै निर्माण सम्पन्न हुनुपर्ने यो पुल सम्झौता भएको चार वर्ष बितिसक्दा पनि हालसम्म करिब ४० प्रतिशत मात्रै प्रगति देखिएको छ ।
पुल निर्माणको जिम्मा पाएको सपना बेलु निर्माण कम्पनीले काममा ढिलासुस्ती मात्र होइन, गुणस्तरहीन सामग्रीसमेत प्रयोग गरेपछि निर्माण भएको संरचना भत्काउनुपरेको छ । पूर्वाधार विकास कार्यालय तनहुँका डिभिजन इन्जिनियर रवीन्द्र तिवारीका अनुसार, दुई ‘स्पान’ मध्ये एक स्पानको ढलान गुणस्तरहीन पाइएपछि प्राविधिक टोलीले त्यसलाई भत्काएर पुनर्निर्माण गर्न निर्देशन दिएको थियो । ठेकेदारले तीन महिनाअघि गुणस्तरहीन भाग भत्काए पनि पुनर्निर्माणको काम भने अझै अगाडि नबढाएको इन्जिनियर तिवारीले जानकारी दिनुभयो ।
वि.सं. २०७७ सालमा सम्झौता भएको २५ मिटर लामो र ८.४ मिटर चौडाइको यो पुल पाँच करोड १० लाख ३३ हजार रुपियाँको लागतमा निर्माण हुन लागेको हो । यसअघि २०७९ मा काम नसकिएपछि २०८२ जेठ ४ गतेसम्मका लागि म्याद थप गरिएको थियो । तर पछिल्लो समय थप गरिएको ६ महिनाको म्यादमा पनि कामले गति लिन सकेको छैन । हाल पुलको ‘फाउन्डेसन’ क्षेत्रमा सामान्य काम भइरहेको भए पनि मुख्य संरचना अलपत्र छ ।
पुल निर्माणमा ढिलाइ हुँदा व्यास–१, २ र ३ का बासिन्दा, विशेष गरी विद्यार्थीहरू मारमा परेका छन् । यस क्षेत्रमा पाँचवटा विद्यालय र एउटा कलेज रहेकाले वर्षायाममा बुल्दीखोला ठुलो हुँदा विद्यार्थी र सर्वसाधारणले निकै कष्ट भोग्नुपरेको छ । व्यास–१ विज्ञानचौर साइडमा रहेको विद्युत् ट्रान्सफर्मर स्थानान्तरण नहुनुले पनि काममा केही कठिनाइ पुर्याएको बताइएको छ, जसलाई अहिले हटाएपछि काम धमाधम भइरहेको छ ।