• ८ पुस २०८२, मङ्गलबार

मिर्गौला र क्यान्सर पीडितलाई आर्थिक सहयोग

blog

जिल्ला बक्सिङ सङ्घ धनकुटाद्वारा राईलाई सहयोग हस्तान्तरण गरिँदै । तस्बिर : कविराज घिमिरे

कविराज घिमिरे
हिले, पुस ८ गते ।
जिल्ला बक्सिङ सङ्घ धनकुटाले कल्चरल म्युजिकल तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी मिर्गौला र ब्लड क्यान्सर पीडितलाई उपचारका लागि आर्थिक सहयोग गरेको छ । सङ्घले एउटा मिर्गौला फेल भई आर्थिक अभावका कारण उपचारमा समस्या परेका धनकुटा नगरपालिका–८ मिलन चोकका चौतिसलाल राई र ब्लड क्यान्सर पीडित चौबिसे गाउँपालिका वडा नं. ७ लुफादिनका जितेन चेम्जोङलाई आर्थिक सहयोग गरेको हो ।

सङ्घले राईलाई एक लाख १८ हजार चार सय ७० रुपियाँ, ब्लड क्यान्सरपीडित चेम्जोङलाई ३० हजार रुपियाँ सहयोग गरेको हो । राईले मिर्गौलाको नियमित डायलिसिस धनकुटा अस्पतालमा गरिरहनुभएको छ । यस्तै चेम्जोङले काठमाडौँस्थित ओम अस्पतालमा उपचार गराइरहनुभएको छ ।

यस्तै सङ्घले धनकुटाको श्रीपञ्चमीमा रहेका अनाथ बालबालिकालाई २२ हजार रुपियाँ बराबरको खाद्यान्न, धनकुटामा बसर्पाकमा ४५ हजार रुपियाँको दुई वटा सिसी क्यामेरा जडान र १८ हजारको खेल सामग्री खरिद गरी विभिन्न क्लबलाई सहयोग गरेको जिल्ला बक्सिङ संघ धनकुटाका कार्यवाहक अध्यक्ष हेमचन्द्र राईले जानकारी दिनुभयो । गत मङ्सिर २५ देखि पुस ५ गतेसम्म धनकुटा बसपार्कमा सञ्चालन गरिएको कल्चरल म्युजिकल तथा सांस्कृतिक कार्यक्रमबाट सङ्कलित रकमबाट उक्त सहयोग गरिएको कार्यवाहक अध्यक्ष राईले जानकारी दिनुभयो ।

सांस्कृतिक कार्यक्रमबाट छ लाख पाँच हजार रुपियाँ रकम सङ्कलन भएकोमा सहयोग र कार्यक्रम खर्च पछि ९० हजार रुपियाँ बचत भएको जिल्ला बक्सिङ सङ्घ धनकुटाले जनाएको छ ।