• ८ मंसिर २०८१, शनिबार

उत्पीडनको चित्र ‘मासिन्या’

blog

काठमाडौँ, फागुन ४ गते । नेपाल जातीय, भाषिक तथा सांस्कृतिक विविधता मुलुक भएकाले विभिन्न समुदायका आआफ्नै कला, संस्कृति, मूल्यमान्यता र जीवनशैली छन् । जीवनयापनका क्रममा सबै जातजाति तथा समुदायका सामाजिक सङ्घर्ष र पीडाको आफ्नै कथा पनि छन् । तीमध्ये तामाङ समुदायले भोगेका पीडा र गरेका सङ्घर्षको कथा मासिन्या नाटकमा समेट्न खोजिएको छ । 

कवि राजु स्याङ्तान, लक्ष्मी रुम्बा र राबतले विगत केही समयदेखि आआफ्नो समुदायले भोगेका अन्याय, पीडा र अपमानलाई कवितामार्फत प्रस्तुत गर्दै आउनुभएको थियो । यस पटक भने उहाँहरूले ‘मासिन्या’ नाटकमार्फत आफ्नो समुदायको कथा सुनाउने जमर्काे गर्नुभयो । मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक ‘मासिन्या’ मा तामाङ समुदायको जीवन, संस्कृति, भाषा र शक्तिका कारण उनीहरूले भोगेका उत्पीडनका व्यथा समेट्न खोजिएको छ । नाटकको शीर्षकले राणाकालीन सामाजिक विभेदलाई स्पष्ट झल्काएको छ । 

नाटकभित्र जनयुद्धको झल्कोसमेत दिने गरेको छ । नाटकले आदिवासी जनजाति, विशेष गरी तामाङ समुदायले आफ्नो परम्परागत गाईको मासु सेवन गर्दा भोग्नु परेको भेदभावलाई चित्रण गर्न खोजेको छ । 

कथाका मुख्य पात्र कर्साङ च्याङ्बालाई गाईको मासु सेवन गरेको आरोपमा प्रहरीले अन्यायपूर्वक पक्रेर यातना दिने काम गर्छ । जुन लामो समयदेखि उनको समुदायको चलनमा गहिरो जरा गाडिएको छ । नाटक एक कर्मकाण्डात्मक दृश्यसँगै सुरु हुन्छ जब झाँक्रीले मन्त्र जप गरेर र ‘ढ्याङग्रो’ (वाद्ययन्त्र) बजाएर मानसिक रूपमा बिरामी युवतीलाई निको पार्ने प्रयास गर्छन् । यसैबिच झाँक्रीले मन्त्र जप गर्दै बिरामी केटीलाई प्रश्न गर्छन् । त्यसपछि केटी काँप्न थाल्छिन् र आफू उत्पीडित तामाङ केटीको आत्मा हो भनेर सम्पूर्ण कथा सुनाउँछिन् । यसपछिको दृश्यले दर्शकलाई फेरि उही तामाङ गाउँमा पु¥याउँछ जहाँ च्याङ्बा सावधानीपूर्वक आफ्ना पुर्खाप्रति प्रतीकात्मक श्रद्धाञ्जली स्वरूप ‘छ्योर्तेन’ बनाइरहेका देखिन्छन् । उनले आफ्ना दिवङ्गत बुवाआमाको सम्झनामा ‘छ्योर्तेन’ निर्माण गरिरहेका हुन्छन् तर उनको योजनामा अनेकन बाधा अड्चन थपिन्छन् । उनले बनाउन लागेको ‘छ्योर्तेन’ सडकको छेउमा पर्छ र यसले सडक निर्माण गर्दा बाधा अड्चन आउन सक्छ भन्ने अड्कल लगाउने पूर्ववडाध्यक्षदेखि अन्य गाउँले पनि छन् ।   

नाटकमा शोक र पीडा मात्र होइन, तामाङ जीवनको जीवन्तता, संस्कृति, प्रेमकथा र प्राकृतिक सौन्दर्यलाई सुन्दर ढङ्गले देखाउन खोजिएको छ । कथाले समृद्ध संस्कृति र भावना प्रकट गर्दछ, आनन्दका क्षण, हाँसो र आँसु एकैसाथ बुन्छन् । ‘डम्फु’ र ‘टुङ्ना’ का जीवन्त धुनका साथमा तामाङका गीतको मनमोहक लयले दर्शकलाई गहिरो प्रस्तुतिमा तानेको छ । गम्भीर विषयवस्तुका बिचमा विभिन्न दृश्यमा नाटकका पात्रबिच हास्यपूर्ण कुराकानी र रमाइला कार्यले दर्शकलाई हाँसो उठाउँछ । नाटकको मनमोहक प्रस्तुति, सुमधुर सङ्गीत र प्रकाशको प्रयोगले झन् रमाइलो अनुभूति गराउँछ । 

नाटकको अन्त्यमा च्याङ्बाले तरबार समातेर तामाङ समुदायले न्यायोचित व्यवहार चाहेको देखाउँछ र समान व्यवहार नगरे आफ्नो अधिकारका लागि लड्न तयार छ भन्ने बलियो सन्देश दिन खोज्छ । इतिहासलाई झल्काउने हो भने सत्ता राजनीतिको नाममा उनीहरूमाथि भएका अन्यायले तामाङ समुदायलाई मात्र होइन, मानवता नैतिकताको कदर गर्ने सबैलाई असह्य पीडा दिन्छ । नाटकले तामाङ समुदायले घरमा महिलालाई पुरुषको भन्दा धेरै शक्तिका साथ कसरी व्यवहार गर्छन् भन्ने  कुरा पनि दर्शाउँछ । केही जातजातिभित्र संस्कृति र धर्मको नाममा महिलालाई प्रायः पुरुषभन्दा तल्लो दर्जा दिइने गरिन्छ । पुरुष अराजकता र पितृसत्तात्मक मान्यता उनीहरूमाथि लगाइन्छ तर तामाङ समुदायमा नारीलाई सम्मानका साथ व्यवहार गरिन्छ भन्ने कुरा नाटकभित्र देखाइएको छ । 

नाटकको अर्को विशेषता भनेको अभिभावक र बालबालिकाबिचको कुराकानी पनि हो । अभिभावकले उनीहरूलाई आफ्ना भावना साथीहरू जस्तै बाँड्न दिन्छन् । आधुनिक शिक्षाले बालबालिकाको भावना र मनोविज्ञान बुझ्ने, साथी बन्ने आमाबाबुको महत्वलाई निरन्तर जोड दिइरहेकाले धेरै समुदायले लामो समयदेखि अनुग्रहपूर्वक पालना गरेका छन् । बुद्धि तामाङ र सोनाम लामाको निर्देशन तथा परिकल्पनामा बनेको नाटक फागुन १२ गतेसम्म मञ्चन हुने छ ।