जनार्जन खत्री
सर्लाही, फागुन १ गते । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै सर्लाहीमा एक सातासम्म विदेशी नम्बर प्लेटको गाडी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय मलङ्गवामा शुक्रबार सुरक्षा अधिकारीसहित भएको राजनीतिक दलको बैठकले फागुन १५ गतेदेखि २२ गतेसम्म विदेशी नम्बर प्लेटका दुई पाङ्ग्रे र चारपाङ्ग्रे लगायतका सवारी साधन सञ्चालन गर्न नदिने निर्णय गरेको हो । सो अवधिमा कसैले पनि विदेशी नम्बर प्लेटका गाडी सञ्चालन गरेको पाइएमा सुरक्षामा खटिएका सुरक्षाकर्मीले नियन्त्रणमा लिनेछ ।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी एक हप्ता विदेशी नम्बर प्लेटको गाडी सञ्चालनमा प्रतिवन्ध लगाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । सर्लाहीसहित मधेश क्षेत्रमा भारतीय नम्बर प्लेटको मोटरसाइकल, स्कारपियोसहितको सवारी साधनको अत्यधिक प्रयोग हुनेगरेको छ ।
बैठकमा निर्वाचन आचारसंहिता, २०८२ जिल्लास्थित सबै राष्ट्रसेवक तथा राजनीतिक दलले इमान्दारितासाथ परिपालना गर्ने निर्णय भएको छ । त्यस्तै, बैठकमा जिल्लाको समग्र शान्ति सुरक्षा तथा समसामयिक विषयमा समिक्षा गर्नुका साथै प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वच्छ, निष्पक्ष, पारदर्शी एवं शान्तिपूर्ण वातारणमा सम्पन्न गर्न सबै राजनीतिक दलले प्रशासनलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी दिनुभयो ।
सिडिओ कडरियाका अनुसार जिल्लास्थित राजनीतिक दलको बैठकमा क्षेत्र नं. ४ स्थित बलरा नगरपालिका –१, मा रहेको कृषि सेड मिर्जा हथिऔल मतदान केन्द्रमा सुरक्षित भौतिक पूर्वाधार नभएकाले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी जिल्ला सुरक्षा समितिले वडाध्यक्षसहित सरोकारवालासँग छलफल गरी निर्णय गर्नेछ ।
त्यसैगरी प्रमुख जिल्ला अधिकारी कडरिया, मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलिया र सुरक्षा निकायका प्रमुखसहित शुक्रबार नै बेग्लै बैठक गरेर निर्वाचन आचारसंहिता, २०८२ को पूर्ण पालना गराउन र निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी एवं भयमुक्त वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था चुस्त पार्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।