• १ फागुन २०८२, शुक्रबार

‘भक्तपुरलाई स्वास्थ्य र शिक्षामा सशक्त बनाउँछौं’

blog

नेकपा (एमाले) का सचिव तथा पूर्वमन्त्री महेश बस्नेत । फाइल तस्बिर

गोरखापत्र अनलाइन

भक्तपुर, फागुन १ गते । नेकपा (एमाले) का सचिव तथा भक्तपुर निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बस्नेतले भक्तपुरलाई स्वास्थ्य र शिक्षा क्षेत्रमा अझ अगाडि लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले अबको प्राथमिकता भक्तपुरमै स्वास्थ्य जनशक्ति उत्पादन गर्ने आधार तयार गर्नु रहेको बताउनुभयो । 

आज यहाँ आयोजित एक कार्यक्रममा उहाँले पछिल्लो समय भक्तपुरमा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताउनुभयो । अस्पताल, स्वास्थ्य संस्था र सेवा विस्तारका कारण स्थानीय बासिन्दाले गुणस्तरीय स्वास्थ्य सेवा पाउँदैआएको उल्लेख गर्दै उहाँले भक्तपुर अब स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर बन्ने दिशामा अघि बढ्नुपर्ने बताउनुभयो।

बस्नेतले ‘भक्तपुर स्वास्थ्य विज्ञान प्रतिष्ठान’ स्थापना गरी गुणस्तरीय डाक्टर, नर्स तथा प्राविधिक जनशक्ति उत्पादन गर्ने योजना अघि बढाइने जानकारी दिनुभयो। उहाँले यस अभियानले भक्तपुरलाई स्वास्थ्य शिक्षाको केन्द्रका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गर्नुभयो।

शिक्षा क्षेत्रको सन्दर्भमा उहाँले पूर्वाधार निर्माण, गुणस्तरीय विद्यालय तथा कलेज विस्तारका कारण भक्तपुर देशकै अग्रणी शिक्षित जिल्लामध्ये एक बन्न सफल भएको दाबी गर्नुभयो। अब शिक्षा, कला, संस्कृति र सम्पदालाई समेटेर नयाँ उचाइमा पुर्‍याउने लक्ष्य लिइएको उहाँको भनाइ छ।

उहाँले सूर्यविनायक, मध्यपुर थिमी, भक्तपुर र चाँगुनारायण नगरपालिका सबैको भावना समेटेर ‘भक्तपुर सांस्कृतिक विश्वविद्यालय’ स्थापना गर्ने संकल्प व्यक्त गर्नुभयो। उक्त विश्वविद्यालयले शिक्षा क्षेत्रसँगै कला, संस्कृति र सम्पदालाई अन्तर्राष्ट्रिय पहिचान दिलाउने विश्वास उहाँले व्यक्त गर्नुभयो। उहाँले मंसिर २१ गते एमालेलाई सहयो गर्न आग्रह गर्दै विकास र समृद्धिको यात्रालाई अझ सशक्त बनाउन साथ दिन सबैमा अपिल गर्नुभयो ।