• ६ चैत २०८२, शुक्रबार

अक्षरमा कला : प्रतियोगिता र प्रदर्शनी सुरु

blog

काठमाडौँ, चैत ६ गते । काठमाडौँमा आजदेखि ‘अक्षरमा कला प्रतियोगिता तथा प्रदर्शनी’ सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा नेपाल कमर्सियल आर्टिस्ट सङ्घको आयोजनामा आजदेखि सुरु भएको कार्यक्रमको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले उद्घाटन गर्नुभयो ।

कुलपति हार्तम्छालीले अक्षरमा कला प्रदर्शनीले कलामा भावना र भावनामा बौद्धिकतासँगै पहिचान, पहल तथा पहुँच पनि आवश्यक रहेको बताउनुभयो । उहाँले सन्देश, सूचनालाई लिएर सृजना गरिने यस्ता कलालाई सौन्दर्यात्मक ढङ्गबाट कसरी प्रस्तुत गर्न सकिन्छ भन्नेमा सबैले ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य हरिप्रसाद भुसालले आफ्नो कर्मक्षेत्र कला भएको जनाउँदै यससम्बन्धी कार्यक्रममा उपस्थित हुन पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले यस क्षेत्रसम्बन्धी नीतिगत तहमा गर्न सकिने कार्यका लागि प्रतिष्ठानसँग सहकार्य गर्न तत्पर रहेको धारणा राख्नुभयो ।

प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले विविध क्षेत्रसँग जोडिएका सर्जकहरूलाई समेटेर आयोजना गरिएको यस कार्यक्रम महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले प्रतिष्ठानले कलाका विविध विधासँग जोडिएका कलाकारहरूलाई समेट्दै ललितकलाको विकास तथा प्रवर्द्धनमा काम गरिरहेको धारणा राख्नुभयो ।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पदाधिकारी, नेपाल कमर्सियल आर्टिस्ट सङ्घका कार्यवाहक अध्यक्ष सुवासकुमार शाक्य, उपाध्यक्ष राजेन्द्रप्रसाद सुवेदी, डम्बर तामाङ, शारदा मानन्धर, महासचिव सुवास केसीलगायतको सहभागिता थियो । प्रदर्शनीमा ४४ कलाकृति राखिएका छन् । प्रदर्शनी यही चैत ७ गते सम्पन्न हुनेछ । रासस