• २३ माघ २०८२, शुक्रबार

गीतसङ्गीतमा ‘सस्तो लोकप्रियता’ को मोह

blog

काठमाडौँ, माघ २३ गते । सङ्गीत केवल श्रवण आनन्दको माध्यम मात्र नभई आत्मालाई झङ्कृत गर्ने गहन साधना हो । वास्तविक सङ्गीतले मानिसको अन्तस्करणलाई स्पर्श गर्नु पर्छ तर वर्तमान समयमा केही सिर्जनामा ‘आत्मारञ्जन’ भन्दा ‘सस्तो लोकप्रियता’ को मोह हाबी भएको देखिन्छ । सार्वजनिक स्थलमा सुन्नै नसकिने र समाजले पचाउन नसक्ने शब्दको बढ्दो प्रयोग गम्भीर चिन्ताको विषय बनेको छ । गीत गाउनु एक पवित्र कला हो र कला कहिल्यै पनि अश्लीलताको पर्याय हुन सक्दैन ।

हिजोआज उटपट्याङ शब्द र शैलीका माध्यमबाट चर्चामा आउने प्रवृत्ति बढ्दो छ । उदाहरणका लागि केही भाइरल र स्टन्टवाला गायकगायिकाका सिर्जनालाई लिन सकिन्छ, जो प्रायः विवादको केन्द्रमा रहन्छन् । उनीहरूका गीतले ‘भ्युज’ पाउँला, व्यावसायिक सफलता पनि पाउँला तर यसले एउटा गलत नजिर स्थापित गरेको छ, ‘विवाद नै चर्चाको कडी हो’ भन्ने भ्रम । युट्युबको ‘भ्युज’ र त्यसबाट हुने कमाइलाई नै सफलताको अन्तिम मापदण्ड मानिँदा सङ्गीतको मौलिक गहिराइ विस्तारै ओझेल पर्दै गएको छ ।

अहिले पनि आधुनिक गीतहरू पछि परिरहेको गुनासो गर्दै लोकगायिका तारा थापा भन्नुहुन्छ, “नाम दाम दुवै कमाइसकेका गायिकाले अझै पनि शब्द नहेरी गीत गाएको देख्दा अलमलमा पर्छु ।” उहाँका अनुसार यसलाई सस्तो लोकप्रियता कमाउन गरेको फन्डा नै हो । “यस्ता कुरामा सम्बन्धित निकाय चुप लाग्दा आफैँ अचम्मित छु,” उहाँको भनाइ छ । यो त ‘काग कराउँदै छ पिना सुक्दै छ’ भने जस्तो भइगो नि । उहाँले थप्नुभयो, “यहाँ स्वरसम्राट नारायणगोपालको गीतलाई त एआईले गाइदिने भइसक्यो । अब यसमा कसले ध्यान पु¥याउने ?” उहाँको प्रश्न थियो । 

समयक्रमसँगै सङ्गीतको बजार पूर्णतः परिवर्तन भएको स्विकार्नुहुन्छ गीतकार वीरेन्द्र पाठक । उहाँका अनुसार कुनै समय क्यासेट र सिडीको जमाना थियो, जहाँ श्रोताले सङ्गीतलाई सङ्ग्रह गरेर सुन्थे । अहिले त्यो युग डिजिटलमा रूपान्तरण भई युट्युब र स्ट्रिमिङ प्लेटफर्मसम्म आइपुगेको छ । यो परिवर्तनसँगै कलाकारको आम्दानीको स्रोत पनि फेरिएको छ । अहिले धेरै कलाकार स्टेज कार्यक्रम र भर्चुअल भ्युजमा निर्भर हुनुपर्ने बाध्यता छ । उहाँले भन्नुभयो, “यहाँ सबै एकै खालका छैनन् । राम्रो गीत लेखेर आफ्नो स्तरलाई कायम राख्ने पनि छन् । यो समयको माग पनि हो । अहिले गीतको फ्रेम परिवर्तन भएको अवश्य हो ।” यो हाम्रो मात्र होइन संसारभर नै देखिएको परिवर्तन हो । हामीले सस्तो लोकप्रियता कमाउने गीत लेख्ने होइन । हामीले आफूले मात्र होइन सबैले सुन्न मिल्ने गीत लेख्न जरुरी रहेको छ, उहाँले बताउनुभयो । 

अश्लीलताको यो भिडमा पनि नेपाली मौलिकताको शक्ति अझै कम भएको छैन । नारायणगोपाल, नातिकाजी, अरुण थापा, अरुणा लामा, तारा देवी र भक्तराज आचार्य जस्ता दिग्गजका सिर्जनाले आज पनि हरेक पुस्ताको मन उत्तिकै लोभ्याउँछन् । उनीहरूका गीतमा शब्दको मर्यादा, भावको शुद्धता र सङ्गीतको गहिराइ छ । अर्को सत्य यो पनि हो कि, माटोको सुगन्ध बोकेका गाउँबेँसीका वास्तविक लोकभाका र नेपाली जीवनको भोगाइ समेटिएका गीतले आज पनि लोकप्रियताको शिखर चुमिरहेकै छन् । वास्तविक कला त त्यो हो, जो समयको कठोर परीक्षामा खरो उत्रिन्छ र पुस्तान्तरसम्म जीवित रहन्छ ।

समय र प्रविधि फेरिन सक्छ तर सङ्गीतको मूल मर्म फेरिन नहुने हो तर अहिले गीत/सङ्गीतको मर्म धेरै नै फेरिएको गायक तथा सङ्गीतकार ईश्वर अमात्यले बताउनुभयो । उहाँका अनुसार सङ्गीतको बजारले कुन बाटो लिइरहेको छ भन्ने कुरा अहिले नाम चलेका गायक तथा सङ्गीतकारले पनि बिर्सिसके । यो सबै विदेशी सिको गर्दा हुन सक्ने उहाँको भनाइ थियो । उहाँका अनुसार क्षणिक चर्चाका लागि सामाजिक मर्यादा नाघ्नुभन्दा समाजले गर्व गर्न लायक सिर्जना गर्नु नै एक सच्चा कलाकारको धर्म हो । 

कलाकार राष्ट्रका गहना मात्र होइनन्, उनीहरू संस्कृतिका संवाहक पनि हुन् । यदि कुनै सिर्जना कलाकारले आफ्नै परिवार र बालबच्चासँग बसेर सुन्न वा हेर्न सक्दैन भने त्यसलाई समाजमा पस्कनु कति न्यायोचित होला ? क्षणभरको चर्चा र केही आर्थिक लाभका लागि बालबालिकाको मानसपटलमा नकारात्मक असर पार्ने शब्द प्रयोग गर्नुअघि कलाकारले गम्भीर भएर सोच्नै पर्छ । कलालाई केवल व्यवसाय मात्र नबनाई यसलाई समाज सुधार र संस्कृति संरक्षणको बलियो आधार बनाउनु नै आजको मुख्य आवश्यकता हो ।