• २ फागुन २०८२, शनिबार

अपूरो पात्रोले ‘स्वन्ति नखः’ मा भ्रम

blog

नेवाः समुदायको नयाँ वर्ष ‘स्वन्ति नखः’ मा पर्छ अर्थात् तिहार पर्वसँगै नेपाल संवत् सुरु हुन्छ । यो संवत्लाई नेवार समुदायले अनुसरण गर्दै चाड, पर्व, संस्कृति र संस्कार अघि बढाउँदै आएको छ ।  नयाँ वर्षको आगमनलाई खुसीसाथ स्वागत गर्न, मेहनतसाथ धनसम्पत्ति आर्जन गर्न र दीर्घायुको कामना गर्दै, शरीरमा शक्ति जगाउँदै, आशीर्वाद दिएर ‘म्हपूजा’ र ‘किजापूजा’ गर्ने प्रचलन नेवार समुदायमा रहेको पाइन्छ । नेवाःहरूको वर्षभरि मनाइने चाडपर्वमध्ये लगातार तीन दिन लामो भए पनि आपूm र परिवारमा सद्भाव, सहिष्णुता र उमङ्गले भरिपूर्ण चाड हो– ‘स्वन्ति नखः’ । सताब्दिऔँदेखि लगातार तीन दिन मनाइँदै आएको पर्वमा पञ्चाङ्ग निर्णायक समिति खास गरी भित्तेपात्रो प्रकाशनमा स्पष्टता नहुँदा केही वर्षदेखि संस्कृतिमै गडबडी आएको छ । तसर्थ संस्कृति र सम्पदा संरक्षकका द्योतक पञ्चाङ्ग निर्णायक समिति तथा भित्तेपात्रो प्रकाशकले विसं २०८३ को पात्रो निर्माणमा स्पष्टताका लागि केही ऐतिहासिक तथ्य र चलनचल्तीमा आइरहेको संस्कार प्रस्तुत गर्ने प्रयास गरिएको छ ।

‘पञ्चाङ्ग’ भनेको परम्परागत वैदिक समय गणना प्रणाली हो; जसमा समय र शुभ–अशुभ मुहूर्त निर्धारण गर्न पाँच अङ्गको आधार लिइन्छ । ती हुन्– तिथि (चन्द्रमासको दिन), बार (हप्ताको दिन), नक्षत्र (चन्द्रमाको नक्षत्र), योग (सूर्य र चन्द्रको योगबाट बनेको काल) र करण (तिथिको आधा भाग) । पञ्चाङ्गको प्रयोगबाट नेपाली समाजमा मानिसको जन्मदेखि मृत्युपर्यन्त शुभ तथा अशुभ संस्कार (व्रत, पर्व, धार्मिक कार्य आदि) लाई आत्मसात् गरिँदै आएको छ । पञ्चाङ्ग (ज्योतिषी पात्रो) ले नेपाली संस्कृति र संंस्कारलाई सभ्यताको बाटोमा डो¥याउन प्रमुख भूमिका खेलेको थियो र छ । केही वर्षदेखि ‘स्वन्ति नखः’ मा अपूरो भित्तेपात्रो प्रकाशनले गडबडी भएको हुँदा विसं २०८३ को भित्तेपात्रोमा यस्तो नदोहोरियोस् भन्ने ध्येय राखिएको छ । नेवाः संस्कृति, संस्कार र सभ्यताको एउटा उत्कृष्ट पर्व हो ‘स्वन्ति नखः’ । यो पर्व व्यक्ति, परिवार, समाज, राष्ट्रको प्रगति, समर्पण र उत्सवका रूपमा मनाइन्छ । ‘स्वन्ति नखः’ तीन दिनसम्म निरन्तर उत्सवका रूपमा मनाइन्छ । प्रत्येक दिन आफ्नै विशेषता र अथ्र्याइमा छुट्टाछुट्टै मनाइने गरिन्छ । यस चाडको मूल स्वरूप किराँतकालदेखि नै चलेको विश्वास गरिएको छ । यसले हामीलाई हाम्रो पहिचान, संस्कार र ऐतिहासिक सम्पदासँग जोडिराख्छ । ‘स्वन्ति नखः’ पर्व मात्र होइन; यो मानव जीवनका हरेक वर्षको सफलतामा खुसी मनाउने, प्रेम र सम्मानको अनुभूति साझा गर्ने एउटा अवसर हो ।

‘स्वन्ति नखः’ को पहिलो दिन

कौलागा आमाई तिथि (कार्तिक कृष्णपक्ष औँसी) वर्षको अन्तिम दिनमा लक्ष्मीपूजाको पर्व मनाइन्छ । यो पर्व किराँतकाल वा सोभन्दा पहिलेदेखि नै चलिआएको हुनु पर्छ । नेपाल सरकार, अर्थ मन्त्रालयको राजस्वसम्बन्धी अध्ययनमा किराँतकालमा पहिले कुर्पासी (खोपासी) र दोस्रो थानकोटको व्यापारमा चोकपारा (कर) लगाइन्थ्यो भन्ने उल्लेख गरिएको छ । ज्योतिषी तथा वास्तु परामर्शदाता डा. वीरेन्द्र कायस्थले पनि किराँतकालमा वर्षको अन्तिम दिन अर्थात् कौलागा आमाईका दिन हरेक परिवार खास गरी व्यापारी परिवारले वर्षभरिको हिसाबकिताब गरी नाफामा तत्कालीन किराँत शासकमा कर तिर्ने चलन रहेको बताउनुभएको छ । काठमाडाँै उपत्यका तथा अन्य बस्तीका नेवारले यस तिथिका दिन वर्षभरिका हरहिसाब दुरुस्त राख्नुका साथै घरआँगन सफा गरी सपरिवार चोखोनितो गरी रातिको खाना खाइसकेपछि घरको ढुकुटी कोठामा परिवार मात्र बसेर पुं (चित्रकार) ले लेखेको लक्ष्मी, कुबेर र ख्याक चित्रित चित्रकलामा पूजा गर्छन् । पछि आएर रातको खानाअगाडि नै पूजा गर्ने र लक्ष्मीको प्रसाद मानी भोज खाने चलन गरियो । परापूर्वकालदेखि चल्दै आएको चलनमा घरमा भएका पैसा साथमा देवताका मूर्तिहरू पनि सँगै राखेर पुज्न थालियो । अहिले आएर धेरै जसोले नागमा विराजमान लक्ष्मीका छापा, मूर्ति साथमा विभिन्न प्रकारका छापा, मूर्ति र पैसा, नोट राखेर पूजा गर्ने गरेको पाइन्छ । विसं २०७२ मा नेपालको संविधान जारी भएपछि भने एकखालको जातीय जागरण आएको पाइन्छ । त्यसैले पनि नेवारहरूले आफ्नो संस्कृति जगेर्ना गर्न पुंहरूको चित्रकला नै खोज्न थालेका छन् । लक्ष्मीको चित्रलाई ढुकुटीको भित्तामा टाँसिन्छ । साथमा फोसी, झ्याँगा वा घ्याम्पोभित्र पैसा, नोट, सुन, चाँदी तथा लक्ष्मीका मूर्तिहरू राखेर पूजा गरिन्छ । भित्र राखिएका सामग्रीलाई श्रद्धा अनुसार फलपूmल, नैवेद्य, रोटी, समेबजी आदि राखी पूजा गर्छन् । पूजा सकिएपछि चढाएका कुनै सामग्री ननिकाली उक्त भाँडोलाई छोपिन्छ । बाहिर रहेको पूजा थालीको टीका तथा पूmल लिई त्यो रातको पूजा सम्पन्न गरिन्छ ।

दोस्रो दिन

कछलाथ्व प्रतिपदा तिथि (कार्तिक शुक्लपक्ष प्रतिपदा) का दिन नेवारहरूले म्हपूजा गर्दै आएका थिए । कान्तिपुरका व्यापारी शङ्खधर साख्वा भक्तपुरका राजाका भरियाले ल्याएको बालुवालाई आफ्नो घरमा लान सफल भए । उक्त बालुवा सुनमा परिणत भएपछि तत्कालीन ज्योतिषीहरू तथा तिनका साथीहरूको सल्लाह अनुसार लक्ष्मीपूजाका दिन कान्तिपुर र भक्तपुरका जनताका ऋण मोचन गरी म्हपूजाका दिन राज्यबाट नयाँ संवत् सुरु भएको घोषणा गराउन सफल भए । म्हपूजाकै दिन नेपाल संवत् सुरु भएको हुँदा ‘न्हँुदया भिन्तुना’ मनाउने चलन पनि सुरु भएको मानिन्छ ।  


नेपाल भाषामा ‘म्ह’ ले व्यक्तिको शरीरलाई बुझाउँछ । आफ्नो शरीर पूजा गर्नुलाई ‘म्हपूजा’ भनिन्छ । घरमूलीले आपूmसहित परिवारका हरेक सदस्यको सुस्वास्थ्य, उत्तरोत्तर प्रगति र समुन्नतिको कामनाका लागि आफ्ना कुलदेवता तथा इष्टदेवताहरू साक्षी राखी हरेक व्यक्तिका लागि जीवन शक्ति र ब्रह्माण्डको प्रतीकात्मक पञ्चतŒवको मन्दिरका रूपमा मण्डल बनाउँछन् । साक्षी राखिएका देवताका मण्डलहरू तथा व्यक्तिका लागि बनाइएका मण्डलमा व्यक्तिलाई नकारात्मक शक्तिबाट जोगाउन, जीवन शक्ति बलियो बनाउन र स्वास्थ्य, समृद्धि र लामो आयुको कामना गर्न गाईको गोबर, रातो माटो र पानी मिसाएर शुद्ध पारी लिपेको स्थानमा सूर्यमुखी तेलबाट तान्त्रिक पद्धतिमा, अष्ठकोण (अष्टमङ्गल वा अष्टमातृका) भित्र कवचसहित ‘मण्डल’ को रेखाङ्कन गरिन्छ । बनाइएको रेखामाथि चामलको पिठो थपिन्छ । मण्डललाई चम्काउन चामलको पिठोको रेखा देखिने गरी अबिरको पातलो रङ छरिन्छ । कुलदेवता, इष्टदेवता र हरेक परिवारका सदस्यको मण्डल बनेपछि मण्डलका प्रत्येक कोठामा नयाँ धान अलि अलि (२०–३० दाना) राखिन्छ । धानमाथि पाँचसात दाना नयाँ कालो भटमास राखिन्छ । त्यसमाथि टुव्रmा टुव्रmा बनाइएका बोव्रmासहितका बिमिराका एक÷एक टुव्रmा राखिन्छ । हरेक देवताका मण्डल र व्यक्ति मण्डलको केन्द्रको कोठामा हाडे ओखर थपिन्छ । मण्डललाई सिँगारी आकर्षक बनाउन सयपत्री तथा अन्य पूmलका केस्रा तथा पात प्रयोग गरिन्छ । व्यक्ति मण्डलको सिरानीमा सिङ्गो बिमिरो र ‘आँखें’ पोको परिएको ‘जजंका’ राखिन्छ । यो दिन सजीवको साथमा घरमा सधैँ प्रयोग हुने निर्जीव सामग्रीहरू जस्तै– कुचो, गाग्री, जाँतो, नाङ्लो, सिलौटो आदि पनि पूजा गरिन्छ । घरमूलीले देवताहरूको मण्डलमा पूजा गरिसकेपछि ‘नकीं’ (ज्येष्ठ महिला) ले सबै व्यक्तिको मण्डलको सिरानीमा टीका लगाइदिन्छिन् । त्यसपछि घरमूलीले कपासले बाटेको बत्ती समातेर सबैको उत्तरोत्तर मङ्गलमय कामना गर्दै देवताहरूको मण्डलमा पूmल अक्षतासहित बत्ती चढाउँछन् । साथमा परिवारका सबै सदस्यले पनि पूmल अक्षता चढाउँछन् । त्यसपछि देवताहरूको प्रत्येक मण्डलमा बत्ती बालिन्छ भने हरेक व्यक्तिको मण्डलमा पनि लामो बत्ती बालिन्छ । बत्ती बलिरहेकै व्रmममा घरमूलीले देवताहरूको मण्डलबाट निकालिएको पूmलप्रसाद पूजा थालीमा लिएर पहिले आपूm टीका लगाएर पूmलप्रसाद लिन्छन् र त्यसपछि ‘नकीं’ लाई दिन्छन् । ‘नकीं’ ले पालैपालो सबैलाई टीका लगाउँदै पूmलप्रसादका साथमा मण्डलको सिरानीमा राखेको ‘जजंका’ सहितको बिमिरो दिन्छन् । ‘नकीं’ ले पनि अरूबाट ग्रहण गर्छन् । यसपछि केस्रा छुट्याइएको पूmल, लावा, धान, कालो भटमास, मुतुमारी मिसाइएको सामग्रीबाट देवताको मण्डलमा अभिषेक गरिन्छ । त्यसपछि हरेक परिवारका सदस्यलाई एकआपसमा त्यो सामग्रीबाट तीन÷तीन अभिषेक गरिन्छ । अभिषेकपछाडि सगुनको काम हुन्छ । मूलीले देवताहरूलाई सगुन चढाएपछि ‘नकीं’ ले ‘न्हुदयाँ भिन्तुना’ सहित पहिले वर्षभरि राम्रो साइत रहोस् भनी ‘नायो’ लाई सगुन दिन्छन् । त्यसपछि ज्येष्ठताका व्रmममा सबैलाई सगुन दिइन्छ र ‘नकीं’ लाई पनि दोस्रो ‘नकीं’ वा अन्य सदस्यले सगुन दिन्छन् । यो कार्यव्रmम मण्डलको बत्ती बलेकै अवधिभित्र सम्पन्न गरिन्छ । सगुन खाइसकेपछि पूजा गरिएको कुचोले पूजा गरेको पानीको धारा कुचोमा पार्दै, मण्डल बढार्दै देव मण्डलमा थुपारी पूजा सम्पन्न गरेर भोज खाई म्हपूजाको कार्यव्रmम सम्पन्न गरिन्छ । यो कार्यव्रmम कछलाथ्व प्रतिपदा तिथिको साँझ अँध्यारो भएपछि मात्र गरिन्छ तर ‘न्हुदयाँ भिन्तुना’ शब्दको आदानप्रदान परिवार र समाजमा बिहानै गर्ने गरिन्छ । केही दशकबाट बाजागाजासहित बिहानैदेखि भिन्तुना आदानप्रदान गर्ने चलन चलेको छ ।  

तेस्रो दिन

कछलाथ्व द्वितीया तिथि (कार्तिक शुक्लपक्ष द्वितीया) का दिन दिदीहरूले किजापूजा गरेर दीर्घायु, स्वस्थ जीवन, बलवान्, पराव्रmमी र कडा परिश्रम गर्न सकोस् भनेर आशीर्वाद दिने गर्छन् । यस दिन पनि ‘म्हपूजा’ मा जस्तै कुलदेवता र इष्टदेवताहरूको सट्टामा सिम्ह, दुम्ह (द्वारपाल) का नाममा दुई वटा मात्र मण्डल बनाइन्छ । जति जना भाइपूजा गर्ने हो, प्रत्येकका नाउँमा एउटा एउटा मण्डल बनाइन्छ । मण्डलमा राख्ने सामग्री र पूजा गर्ने विधि एउटै हुन्छ । फरक भनेको ‘नकीं’ को सट्टामा दिदीले घरमूलीलाई पूजामा सघाउँछन् र मण्डल बढार्ने काम ‘सिंम्ह दुम्ह’ बाट सुरु गरेर कान्छा भाइकहाँ पुगेर टुङ्ग्याइन्छ । अहिले आएर भाइ मात्र होइन, दाजु तथा भतिजहरूलाई पनि पूजा गर्ने चलन छ । 

नेवाःहरूको महŒवपूर्ण भोज सम्पन्न भएपछि कार्य सम्पन्नताको पूजासहित पूmलप्रसाद निकालेर परिवारमा समृद्धिका लागि ग्रहण गर्ने चलन छ । यो पूजा सुरु पूजा दिनदेखि जोडिँदै लगेको हुन्छ । लक्ष्मीपूजाको चौथो दिन अर्थात् किजापूजाका लागि आएका दिदी वा बहिनीले किजापूजाको भोलिपल्ट बिहान ढुकुटी भित्तामा टाँसेको लक्ष्मीको चित्र साथमा छोपिराखेको भाँडो र भित्रका धनसम्पत्ति र मूर्तिहरू पूजा गरी सम्पूर्ण सामग्री निकालिन्छ । ती सामग्रीमध्ये पैसा, नैवेद्य र पूmलप्रसादसहित घरका मूलीलाई दिइन्छ । त्यसपछि घरका अन्य सदस्यलाई पूmलप्रसादसहित टीका लगाई लक्ष्मीपूजाको पूर्णता गरिन्छ । यस्तै प्रकारको पूजा ‘योमरी पूर्णिमा’ मा पनि गरिन्छ ।  

यमपञ्चक

नेपालमा किराँतकाल वा सोभन्दा पहिलेदेखि चलिआएको तिनदिने उत्तम मानवीय पर्वलाई दैवी पर्वसँग जोड्ने काम भारतबाट आएका लिच्छविहरूले गरे कि भन्ने शङ्का गर्न सकिन्छ । यसको कुनै स्पष्ट प्रमाण भने छैन । अहिले मनाइने तिहार (यमपञ्चक) पर्व, कागपूजा, कुकुरपूजा, गाईपूजा, गोरु (गोवर्धन) पूजा र भाइपूजामा ‘स्वन्ति नखाः’ लाई समाहित गर्ने काम मल्लकालबाट भएको देखिन्छ । यो कार्य कुन वर्षदेखि भएको थियो भन्ने केही उल्लेख भएको भने पाइँदैन । यमपञ्चकका पाँच दिनमध्ये स्वन्तिका तीन दिन गाई÷लक्ष्मी पूजा, म्हपूजा र किजापूजा सामाजिक र सांस्कृतिक पर्वका रूपमा स्थापित भए र राजकीय तथा जनपर्व बन्यो ।

नेपाल भाषामा ‘स्वन्ति’ भनेको ‘स्वन्हुं’ तिथिहरूको छोटकरी रूप हो । यसको मतलब तीन तिथिमा लगातार तीन दिन पर्व मनाउने भन्ने प्रस्ट देखिन्छ । त्यसकारण तीन तिथिका तीन दिन खास महŒवपूर्ण रहेका कारण तीन दिन लगातार मनाउने प्रचलन चलाएको मानिन्छ । ‘स्वन्ति नखः’ ‘स्वन्हु तिथि’ या ‘नखः’ अर्थात् तीन दिन लगातार मनाइने चाड भएको हुँदा तीन दिनमै पूरा गर्नु पर्छ । 

ज्योतिषीय खगोल पद्धतिमा यो तीन दिनको बिचमा कुनै तिथि टुट भए पनि नेवाःहरूले मनाउने ‘स्वन्ति नखः’ मा ‘सुलं’ (टुट वा छुट) को गणना गरिँदैन । ‘नेवाः थ्या सफु’ र धर्मशास्त्र अनुसार धार्मिक एवं सामाजिक कुलपरम्परा अनुकूल तीन दिनको पर्व नटुटाईकन चन्द्र तिथि अनुसार अध्यात्म दर्शन एवं तन्त्रोक्त विधिविधानले लगातार गर्नुपर्ने प्रचलन छ ।

पञ्चाङ्ग समितिले चन्द्रमास र सूर्यमासका आधारमा घडी, पला, तिथि, बार, पक्ष, महिना र वर्ष व्याख्यासहित खास गरी व्यक्तिको राशिका आधारमा शुभ साइत उल्लेख गरिएको हुन्छ । मुख्य चाडपर्वमा भने दुवै मासलाई एउटै साइत दिनु शुभकार्यका लागि उपयुक्त होइन । नेवाःहरू शैव धर्मावलम्बी हुन् । तिनले चन्द्र वर्षका आधारमा हरेक चाडपर्व मनाउने गर्छन् । चन्द्र वर्ष मनाउने केही चाडपर्वमध्ये ‘स्वन्ति नखः’ चन्द्रमालाई केन्द्रविन्दुमा राखेर साँझ अर्थात् साँझको चन्द्र उदयपछि गरिन्छ । यसको आफ्नै विशेषता के छ भने सक्नेले सक्दो घर सफासुग्घर, आकर्षक र चोखोनितो गरी झिलिमिली बत्ती बाली शैव शाक्त धर्म मान्ने नेवाः समुदायले वर्षको अन्त्यतिर आफ्नो शरीरमा शक्ति जागृत गर्ने र शक्तिशाली बन्न शक्ति प्राप्त गर्न खोजेको हुन्छ । नयाँ वर्षको आगमनमा मेहनतसाथ धनसम्पत्ति आर्जन गर्न र दीर्घायुको कामना गर्दै, शरीरमा शक्ति जगाउँदै, आशीर्वाद दिएर ‘म्हपूजा’ र ‘किजापूजा’ गर्ने प्रचलन रहेको पाइन्छ । यसमा इमानदारसाथ मेहनत गरी कमाएको धनसम्पत्ति मात्र स्थिर रहन्छ भनेर जोड दिइएको छ । त्यसमा थप शैव शाक्त धर्म पालना गरी सुविचार राखी कमाएको धनसम्पत्ति सदुपयोग गरेमा मात्र स्थिर रहन्छ भन्ने सन्देश दिन खोजेको पाइन्छ । 

करिब सात वर्षदेखि ‘स्वन्ति नखः’ को तिथिमितिमा पुर्खाले चलाइआएको परम्परामा पञ्चाङ्ग समितिले संस्कृति र सम्पदाको मर्यादासहित विस्तृत व्याख्या नगर्दा र जनसाधारणमैत्री भित्तेपात्रो सूर्यमास आधारमा लेखिने भएको हुँदा नेवाःहरूबिच, खास गरेर नेवाः महिला जो एकअर्का घरसँग गाँसिएकोमा उनीहरूको व्यक्तिगत र पारिवारिक जीवनीमा द्वन्द्व पैदा भएको छ । पञ्चाङ्ग निर्णायक मण्डलीले बहुजाति जनताको हित र ऐतिहासिक सांस्कृतिक सम्पदामा सद्भाव र सहिष्णुता पैmलाउने चाडपर्वको जगेर्ना गर्नु पर्छ । पञ्चाङ्ग निर्माण समितिको साथमा सरकारी निकाय तथा समाजको हितमा लागेका खास गरी नेवाः समुदायले उपभोक्तामैत्री संस्कृति र सम्पदाप्रेमी तिथिमितिसहितका भित्तेपात्रो निष्कासन गर्न सके समाजमा सद्भाव र सहिष्णुता निर्माण हुने छ ।

Author

विश्व उलक