• ४ वैशाख २०८३, शुक्रबार

‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग

blog

प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउन गएका निर्माण व्यवसायीहरु । तस्बिर : लीलाधर वली

लीलाधर वली
घोराही, वैशाख ४ गते ।
इन्धनको मूल्यवृद्धिसँगै समग्र क्षेत्रमा बढेको मूल्यवृद्धिले निर्माण क्षेत्रमा असर गरेको भन्दै निर्माण व्यवसायीले सरकारसँग ‘निर्माण आपतकाल’ घोषणा गर्न माग गरेका छन् ।

दाङ निर्माण व्यवसायी संघले मूल्य वृद्धिको समस्याबाट प्रभावित सबै तहका निर्माण व्यवसायीको समस्या तत्काल सम्बोधन गर्न सरकारसँग अपिल गरेको छ । निर्माण क्षेत्रलाई मुलुकको आर्थिक विकासको मेरुदण्डका रूपमा हेरिने भएकाले यस क्षेत्रको संरक्षण र प्रवर्धनका लागि सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।

डिजेल, पेट्रोल, मट्टितेल जस्ता इन्धनजन्य सामग्रीमा पटक–पटक भइरहेको अत्यधिक तथा अप्रत्यासीत मूल्य वृद्धिले निर्माण क्षेत्र गम्भीर सङ्कटमा परेको भन्दै जिल्ला निर्माण व्यवसायी संघले निर्माण उद्योग ठप्प हुने अवस्था सिर्जना भएको दाङ निर्माण व्यवसायी संघका अध्यक्ष प्रवीणकुमार भण्डारीले जानकारी दिनुभएको छ ।

इन्धनको मूल्य वृद्धिसँगै निर्माण कार्यमा अत्यावश्यक रूपमा प्रयोग हुने विटुमिन, सिमेन्ट, डन्डिलगायतका सामग्रीको मूल्य निरन्तर बढ्दै गएकाले काम गर्न नसकिने अवस्था रहेको बताउनुभयो । मूल्यवृद्धि हुँदै जाँदा व्यवसायी काम रोक्नुपर्ने अवस्थामा आएको भन्दै अध्यक्ष भण्डारीले भन्नुभयो, ‘‘मूल्य वृद्धिले गर्दा काम गर्न नसक्ने अवस्था भएको छ, हामीलाई बाध्य भएर काम रोक्ने अवस्था आएको छ ।’’

बजारमा निर्माण सामग्रीको अभाव देखिन थालेकाले निर्माण गतिविधिलाई प्रभावित बनाएको बताउनुभयो । देशका विभिन्न स्थानमा क्रसर उद्योगमा देखिएको समस्याले पनि निर्माण क्षेत्रका लागि थप चुनौती बनेको बताइएको छ । निर्माण सामग्रीको आपूर्ति प्रणाली नै अव्यवस्थित बन्दै जाँदा विकास निर्माणका काम प्रभावित भइरहेका छन् । संघले यस्तो विषम परिस्थितिबारे पटक–पटक नेपाल सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको भए पनि हालसम्म समस्या समाधानतर्फ ठोस पहल नभएको गुनासो गरेको छ ।

अहिलेको चुनौतीपूर्ण अवस्थामा व्यवसायीलाई राहत, सहुलियत र यथार्थपरक मूल्य समायोजन व्यवस्था लागु गर्न माग गर्दै संघले बिहिबार जिल्ला प्रशासन कार्यालय दाङमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाएको छ । दाङ निर्माण व्यवसायी संघका अध्यक्ष प्रवीणकुमार भण्डारीको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएको थियो ।