• ४ वैशाख २०८३, शुक्रबार

गलकोट नगरपालिका ३ को वडा कार्यालय भवन उद्घाटन

blog

गलकोट नगरपालिका वडा नम्वर ३ को नवनिर्मित वडा कार्यालयको भवन उद्घाटन गर्दै । तस्बिर : नवराज नेपाली

नवराज नेपाली
बागलुङ (गलकोट) वैशाख ४ गते ।
गलकोट नगरपालिका वडा नम्बर ३ मा नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । सघन सहरी विकास तथा भवन निर्माण आयोजना, बागलुङद्वारा निर्माण गरिएको भवन आज गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख गैरेले नयाँ भवन निर्माणसँगै स्थानीय तहबाट प्रदान गरिने सेवा थप व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएको बताउँदै सेवा प्रवाहलाई छिटो, सहज र पारदर्शी बनाउन भौतिक पूर्वाधारको विकास अपरिहार्य रहेको बताउनुभयो । गैरेले यस भवनले वडा कार्यालयको कार्य क्षमता बढाउनुका साथै सेवाग्राहीलाई गुणस्तरीय सेवा प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

उहाँले गलकोट नगरपालिकाले समग्र विकासलाई प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य, सडक, खानेपानी लगायतका क्षेत्रमा योजनाबद्ध रूपमा काम गरिरहेको उल्लेख गर्नुभयो । साथै आगामी दिनमा पनि दिगो विकासका योजनाहरू कार्यान्वयन गर्दै नगरवासीको जीवनस्तर उकास्न निरन्तर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नगर उपप्रमुख फमलाल निउरे, प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर जिसी,  जिल्ला समन्वय समिति बागलुङका सदस्य हर्क बहादुर पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका गलकोट नगर सभापति राजेन्द्र पुन, कार्यपालिका सदस्य तुलसी परियार, सघन सहरी विकास तथा भवन निर्माण आयोजना बागलुङका इन्जिनियर गोपिचन्द्र आचार्य, चन्दादाता डा. विपिन श्रेष्ठ, तल्लो लमाई टोल विकास संस्थाका अध्यक्ष तारा बहादुर अधिकारीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

उक्त वडा कार्यालय भवन जग्गा व्यवस्थापन समिति गठन गरी जग्गा व्यवस्थापन गरी बागेश्वरी मल्टिप्रपोज निर्माण प्रालिले २०८१ भदौ १३ गते सम्झौता गरी निर्माण कार्य सुरु गरेको थियो । निर्धारित समय अगावै निर्माण सम्पन्न गर्दै २०८२ असार ३० गते भवन तयार पारिएको थियो भने २०८२ कात्तिक २४ गते औपचारिक रूपमा वडा कार्यालयलाई हस्तान्तरण गरिएको जनाइएको छ ।

सघन सहरी विकास तथा भवन निर्माण आयोजना, बागलुङअन्तर्गत गलकोट क्षेत्रमा अन्य महत्त्वपूर्ण पूर्वाधार विकासका कामहरू पनि अगाडि बढाइएको छ । जसअन्तर्गत गलकोट नगरपालिका वडा नम्बर १ र वडा नम्बर २ नरेठाँटी जोड्ने सडक कालोपत्रे, वडा नम्बर ३ मा अवस्थित कोतघर जोड्ने सडक कालोपत्रे तथा वडा नम्बर ५ हरिचौर क्षेत्रमा सडक कालोपत्रे गर्ने कार्यहरू समावेश गरिएको गलकोट नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष फम बहादुर खत्रीले जानकारी गराउनुभयो ।

खत्रीले सम्पूर्ण योजनाहरूका लागि सात करोड ६५ लाख ८४ हजार १४९ रुपियाँको लागतमा सम्झौता भई कार्यान्वयन गरिएको बताउनुभयो । कार्यक्रमका अवसरमा वडा कार्यालय निर्माणमा सहयोग पुर्‍याउने चन्दादाता, टोल विकास संस्था, आयोजना कार्यालय, निर्माण कम्पनी, जग्गा व्यवस्थापन समितिलाई सम्मान गरिएको थियो ।