राजन रावत
हुम्ला, वैशाख ४ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्री गर्दै आएको अरुवा मोटो चामलको मूल्य घटाएको छ । नयाँ वर्षको अवसर पारेर उपभोक्तालाई राहत दिने उद्देश्यले कम्पनीले उक्त चामलको मूल्य घटाएको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, हुम्ला शाखाका प्रमुख कृष्ण थापामगरका अनुसार ढुवानी अनुदानअन्तर्गत उपलब्ध अरुवा मोटो चामलमा प्रतिकेजी पाँच रुपियाँले मूल्य घटाइएको छ । मूल्य घटेसँगै अब उक्त चामल प्रतिकेजी ५१ रुपियाँमा बिक्री भइरहेको छ । यसअघि यसको मूल्य प्रतिकेजी ५६ रुपियाँ थियो ।
कम्पनीले २५ केजीको एक बोरा चामल एक हजार २७५ रुपियाँमा बिक्री सुरु गरेको जनाएको छ । शाखाले हाल अरुवा मोटो सादा र पोषणयुक्त (पोषण तत्व मिसाइएको) चामल बिक्री गर्दै आएको छ । दुवै प्रकारका चामलमा मूल्य घटाइएको र नयाँ मूल्य लागू भइसकेको शाखाले जनाएको छ ।
हाल शाखाको गोदाममा करिब दुई हजार क्विन्टल चामल मौज्दात रहेको छ । बिहीबारदेखि घटेको मूल्यमा बिक्री सुरु गरिएको छ । साथै, सर्केगार्ड गाउँपालिकाको सर्केगार्ड डिपो र अदानचुली गाउँपालिकाको श्रीनगर डिपोबाट पनि सोही मूल्यमा चामल बिक्री गरिने जनाइएको छ । अन्य खाद्यान्नको मूल्य भने यथावत रहेको कम्पनीले जनाएको छ ।