• २ फागुन २०८२, शनिबार

सम्झनामा राते काइँला

blog

सन् १९७४ तिरको कुरा हो, मुम्बईमा मोडलिङ र फुटबलमा खुबै व्यस्त थिए उनी । हातमा क्यामरा हुन्थ्यो, ‘जुनियर स्टेटस्म्यान’ म्यागेजिनका लागि फोटो पत्रकारका रूपमा सव्रिmय सुनील थापा वास्तवमा फुटबल खेलाडी हुन चाहन्थे तर उनकोे कलाकारिताको यात्रा कुनै संयोगभन्दा कम छैन ।

भारतीय सैनिक पृष्ठभूमि परिवारका सुनील थापा सन् १९५७ तिर जन्मिएका हुन् । भारतमै विद्यालय शिक्षादीक्षासँगै सुनीलले आफ्नो सपनाको बीजारोपण मुम्बईको भिड र ग्ल्यामर बजारमा गरे । अग्लो कद, गहुँगोरो वर्ण र हक्की स्वभावका सुनील सुरुमा मोडलिङ र फुटबलको मैदानमा उत्रिए । तथापि नियतिले उनलाई अर्कै मञ्चका लागि तयार पारिरहेको थियो ।

सन् १९७७ मा प्रदर्शित देव आनन्द अभिनीत भारतीय चलचित्र ‘साहिब बहादुर’ को पर्दाबाट सुनीलले चलचित्र जीवन सुरु गरेका थिए । त्यसपछि सन् १९८१ को बलिउडको हिट चलचित्र ‘एक दुजे के लिए’ मा अभिनयपछि उनको यात्राले काठमाडौँको उडान लियो । बलिउडबाट ‘कलिउड’ सम्मको यात्रामा सुनील आइपुग्दा एउटा यस्तो उचाइ लियो, जसले नेपाली चलचित्रमा भिलेनको परिभाषालाई बदलिदियो र ‘राते काइँला’ का रूपमा नेपाली चलचित्रप्रेमीको मनमस्तिष्कमा अमिट छाप बनिदियो । 

नेपाली चलचित्रको इतिहास पल्टाउँदा एउटा यस्तो पात्र भेटिन्छ, जसले खलनायकलाई पनि नायक जत्तिकै सम्मानित र बौद्धिक बनायो । चलचित्र ‘चिनो’ को त्यो रातो आँखा भएको, कडा आवाजमा बोल्ने ‘राते काइँला’ । सुनील थापाभन्दा अगाडि खलनायक भन्नाले केवल कुटाइ खाने र दुष्ट काम गर्ने पात्र मात्र बुझिन्थ्यो तर जबसम्म नेपाली चलचित्र बाँचिरहने छ, ‘राते काइँला’ को त्यो अमर छवि हरेक दर्शकको हृदयमा एउटा राँको बनेर बलिरहने छ ।

खलनायकीलाई एउटा दार्शनिक रूप दिएका सुनील थापाले खलनायक बन्नका लागि केवल शरीर मात्र होइन, शक्तिशाली व्यक्तित्व र सूक्ष्म मनोविज्ञान पनि चाहिन्छ भन्ने मान्यता स्थापित गरे । ‘राते काइँला’ खलनायकीको त्यस्तो पर्याय बन्यो, त्यो नै एउटा कलाकारका लागि समयले दिएको सबैभन्दा ठुलो सम्मान हो ।

सुनील थापामा एउटा अचम्मको विरोधाभास थियो– पर्दामा व्रmूरताको पर्याय जस्तै तर व्यवहारमा पृथक् । उनका अति मिल्ने साथी वरिष्ठ छायाकार गौरीशङ्कर धुजू भन्नुहुन्छ, “उनी त एउटा काँचो माटो सरह कोमल व्यक्तित्व हुन् । उनी नयाँ कलाकारका लागि खुला विश्वविद्यालय हुन्, जहाँ अभिनयका प्राविधिक पक्ष मात्र होइन, जीवन जिउने कला पनि सिकाइन्थ्यो ।” 

आधा दर्जन जति चलचित्रमा सँगै काम गरेका कलाकार सरोज खनाल भन्नुहुन्छ, “नेपाली चलचित्र क्षेत्रले देशकै सबैभन्दा अब्बल कलाकार गुमाएको छ ।”

सुनील थापाले सुरुमा नेपाली चलचित्र ‘मशाल’ मा अभिनय गरेका थिए तर नेपालमै आएर अभिनय गरेको पहिलो चलचित्र ‘सम्बन्ध’ का छायाकार गौरीशङ्कर धुजू हुनुहुन्थ्यो । गौरीशङ्कर धुजूका पारिवारिक मित्र मिलेर बनाएको ‘शेरबहादुर’ चलचित्रमा सुनीलले मुख्य भूमिका निर्वाह गरेका थिए । सुनील थापाले ‘मशाल’, ‘शेरबहादुर’, ‘रुद्राक्ष’, ‘चेली’ जस्ता चलचित्रमा प्रमुख भूमिकामा देखिए । प्रियङ्‌का चोपडाको ‘मेरी कोम’ मा कोच बन्दा होस् या मनोज वाजेपायीसँग ‘दी फेमिली मैन’ मा अभिभावकको भूमिका वा तमिल र भोजपुरी चलचित्रका पर्दामा आफ्नो पसिना पोख्दा उनले सधैँ नेपाली कलाकारको स्वाभिमानलाई अन्तर्राष्ट्रिय मञ्चमा गर्वसाथ उभ्याएका थिए । उनले ‘एक दुजे के लिए’, ‘शपथ’, 

‘आज की आवाज’ जस्ता व्यावसायिक रूपमा सफल मानिएका केही हिन्दी चलचित्रमा अभिनय गरे । विशेष गरी खलअभिनयका लागि ख्याति कमाएका सुनील थापाले ‘शेर बहादुर’ र ‘चेली’ मा मुख्य भूमिकामै देखिए । ‘पछ्यौरी’, ‘मुखौटा’ लगायत चलचित्रमा सकारात्मक भूमिका पनि गरे । ‘मुखौटा’ मा नायिका प्रियङ्का कार्कीसँग जोडी भएर खेलेका थिए । 

बलिउडमा सफल अभिनेताका रूपमा यात्रा अगाडि बढाएका सुनील थापाले बलिउड छाडी नेपाली चलचित्रमा अभिनय यात्रा जारी राखे । नेपाली चलचित्रमा ४० वर्ष बिताएका सुनीलले पछिल्लो समय फेरि बलिउड यात्रामा निस्किए । भोजपुरीमा ‘सेरे हिन्दुस्तान’, दक्षिण भारतीय भाषामा ‘दसका दम’ र ‘मिराई’ तीमध्ये केहीमा उनी देखिए । उनलाई भारतीय चलचित्र जगत्मा फेरि पुनरागमन गराउने ‘मेरी कोम’ का निर्माता सञ्जयलीला भन्साली हुन् । बलिउडका विख्यात निर्माता, निर्देशक भन्साली जसले ‘ब्ल्याक’, ‘हम दिल दे चुके सनम’, ‘गुजारिस’, ‘रामलीला’, ‘पद्मावती’, ‘बाजिराव मस्तानी’, ‘गङ्गुबाई’ लगायत सफल चलचित्र निर्माण गरे ।

‘मेरी कोम’ का निर्देशक उमङ्ग कुमार हुन् । उमङ्ग कुमार एक चर्चित सञ्चारकर्मी हुन् । आजभन्दा ३० वर्षअगाडि जी टिभीमा प्रसारण भएको ‘साँप सिँढी’ शीर्षकको रियालिटी सोका प्रस्तुतकर्ता उमङ्ग कुमारको प्रथम निर्देशकीय प्रयासस्वरूप बनेको ‘मेरी कोम’ मा अभिनेता सुनील थापाले अभिनेतृ प्रियङ्का चोपडाका बक्सिङ कोचका रूपमा अभिनय गरे । अभिनेत्री चोपडाले यस चलचित्रमा भारतकी विख्यात बक्सिङ खेलाडी मेरी कोमको भूमिका निर्वाह गरेकी छिन् । सुनील थापाले मेरी कोमको बक्सिङ प्रशिक्षक नरजोत सिंहको भूमिका निर्वाह गरेका छन् । सो भूमिकामा अभिनय गर्ने अवसरको विषयमा सोधिएको प्रश्नमा उनले भनेका थिए, “मेरो त पूरै फेमिली मुम्बईमा बस्छ । त्यसैले त्यहाँ आवतजावत भइरहन्छ मेरो । झन् त्यसमाथि पहिला हिन्दी फिल्म खेलिसकेकाले बलिउडको फिल्म इन्डस्ट्रीमा मेरो चिनजान राम्रै छ । त्यहाँका कास्टिङ डाइरेक्टर श्रुति महाराजनसँग मेरो राम्रो चिनजान छ । उहाँमार्फत ‘मेरी कोम’ मा छानिएको हुँ ।”

सुनील थापाले ‘मेरी कोम’ छायाङ्कनपूर्व नै एउटा बृहत् कार्यशाला राखिएको बताएका थिए । त्यसमा बक्सिङ खेलसम्बन्धी ज्ञान हासिल गर्ने र शारीरिक तन्दुरुस्तीको काममा प्रमुख अभिनेतृ प्रियङ्का चोपडा पनि तन्मयसाथ लागेकी थिइन् । पूर्वतयारीको अवधिसमेत गरी कुल १८ महिनाको मेहनतपछि तयार भएको चलचित्र हो, ‘मेरी कोम’ । यो चलचित्र प्रदर्शनपूर्व जति चर्चामा थियो, प्रदर्शनपश्चात् पनि चर्चा नै पायो । विशेष गरेर ‘मेरी कोम’ को शीर्ष भूमिकामा देखिएकी प्रियङ्का चोपडा र उनका प्रशिक्षक रहेका सुनील थापाको कामलाई बलिउडमा निकै प्रशंसा गरिएको थियो । सुनील थापाको कामबाट प्रियङ्का चोपडा असाध्यै प्रभावित भएकी थिइन् । निर्माता भन्साली र निर्देशक उमङ्ग कुमारले पनि सुनील थापाको खुबै प्रशंसा गरेका थिए ।

सुनीलले ‘मेरी कोम’ को कामबाट फुर्सद मिल्नासाथ नेपाल आएर ‘मुखौटा’ मा अभिनय गरेका थिए । पछिल्लो समय उनी ‘राम नाम सत्य’ को छायाङ्कनमा व्यस्त थिए । चलचित्र ‘राम नाम सत्य’ को स्व्रिmप्ट जस्तै सुनीलको मृत्यु पीडादायी संयोग बन्न पुगेको छ । सो चलचित्रको क्लाइमेक्स छायाङ्कन माघ २३ गते शुव्रmबार नै गरिएको थियो, जहाँ सुनीलको मृत्यु दृश्य खिचिएको थियो । राति १० बजे चलचित्रका लागि आफ्नो मृत्युको दृश्य छायाङ्कन गराएका सुनील घर पुगेर सुतेपछि फेरि उठेनन् । जबकि चलचित्रमा विराज भट्टले सुनीललाई जलाउने दृश्य खिच्न बाँकी नै थियो । त्यसका लागि माघ २४ गते शनिबार बिहानको समय तयारी गरिएको थियो तर बिहानै सुनील नउठेपछि सहयोगी पुग्दा उनी बेहोस अवस्थामा थिए । हत्तपत्त ६ बजेतिर नर्भिक अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरिदिए । जुन समय सुनीलले ‘रिल लाइफ’ मा खिच्न बाँकी दृश्य ‘रियल लाइफ’ मै खिचाएर चलचित्रप्रेमीलाई धुरुधुरु रुवाए ।सुनीलको निधनमा प्रधानमन्त्री सुशीला कार्कीले ‘लोकप्रिय अभिनेता सुनील थापाको असामयिक निधनको खबरले आफू मर्माहत भएको’ शोक विज्ञप्ति दिनुभएको थियो । भारतीय कलाकार अमिताभ बच्चन र प्रियङ्‌का चोपडाले सामाजिक सञ्जालमार्फत थापाको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै सिनेक्षेत्रमा अतुलनीय क्षति पुगेको बताउनुभएको थियो ।

Author

विजयरत्न तुलाधर