• २ फागुन २०८२, शनिबार

छेपारे जुँगा

blog

जुँगाका बारेमा धेरैले धेरै कुरा लेखे । जुँगा पाल्ने महापुरुष हुन् वा अन्य पुरुष, जुँगा सबैको हुन्छ । फरक यति हो कि कसैको मुसे, बिराले, बाघे, ठोसे हुन्छन् । कसैको तिलचामले, खैरे कैले पनि हुन्छन् तर मैले कथा सुनाउन लागेको जुँगा चाहिँ छेपारे हो र त्यो जुँगा अरूको नभएर मेरो आफ्नै हो । 

नाकमुनिको प्वालसँगै ओठमाथि दायाँबायाँ पलाउने जुँगालाई फूलको थुङ्गा पनि भन्ने गर्छन् । हुन पनि हो, जुँगा फूलको थुङ्गा जस्तै ढकमक्क हुन्छ । ओठमाथि सुहाउँदो, छरितो, गोडमेल गर्नु नपर्ने, मलजलबिना नै आफैँ हलक्क हुने यो जुँगालाई गोडमेल गरेर पाल्ने हो भने जुँगे भनेर नाम चाहिँ कमाउन सकिन्छ । 

अब कुरा गरौँ छेपारे जुँगाको । जुँगा पहिले जन्मँदा वा भनौँ उम्रँदा भुवा झैँ भएर आउँछ र पछि ठोसे हुँदै घोप्टे हुन्छ । उमेर ढल्कँदै गएपछि जुँगाको रङ पनि फरक हुँदै जान्छ । कहिले कैलो हुन्छ त कहिले खैरो । तिलचामले भएपछि यो जुँगा कहिले रातो कहिले निक्खर कालो त कहिले सेतै पनि हुन्छ । भनौँ यो जुँगा बेलामौकामा छेपारोले रङ फेरे झैँ रङ फेर्छ र अरूका लागि चासोको विषय बन्छ । समय समयमा विभिन्न स्वरूपमा परिवर्तन भइरहने भएकाले मैले आफ्नो जुँगालाई छेपारे जुँगा भन्ने गरेको छु ।

मलाई जुँगा पाल्ने रहर पहिलेदेखिकै हो । पालेको पनि थिएँ तर २०६४ सालमा पिताजीको बैकुण्ठबासपश्चात् जुँगा फाले । एक वर्षसम्म जुँगा महिनैपिच्छे काट्ने गरेपछि लामो भयो कि काट्न सकसक लाग्थ्यो । फुलेर सेतै भएकाले त्यसपछिका समयमा मेरो जुँगाले रङ फेरेर तिलचामले भयो । तिलचामले जुँगालाई मैले ‘गोदरेज’ भन्ने कालो दलेर निक्खर कालो पनि बनाएँ तर जराबाट पलाउँदै गएर भित्र सेतो र बाहिर टुप्पातिर कालो देखिन थाल्यो । भनाँै मेरो जुँगा सेतो र कालो गरी दुई रङको देखिन थाल्यो । यो देखेर कतिपय साथीभाइ हाँस्न थाले । कस्तो जुँगा हो दुई रङको भनेर जिस्क्याउँथे पनि । म भने समयले सबैको कुराको परिवर्तन हुन्छ, त्यसैले यो जुँगाले पनि समय समयमा रङ फेरिरहन्छ भनेर जवाफ फर्काउँथे । 

मलाई जुँगा पाल्नुको मजा त्यतिबेला आयो जतिबेला जाँड खाएर छोव्रmा जुँगामा अडेस लागेर अडिन्थ्यो । अर्कोतिर मेरो परिचय नै जुँगे जँड्याहाका रूपमा स्थापित भयो । यो जुँगाले गर्दा वरपरका गाउँमा मेरो नाम नै जुँगे जँड्याहाका रूपमा प्रचलित भयो । जुँगालाई मैले हेरचाह, स्याहारसुसार, गोडमेल नगरेका कारण छाडा भएर जता मन लाग्यो त्यतै जाने तर मेरो ओठमाथिको अनुहारमा स्वभायमान भएको थियो । जुँगासँगै दारी पनि लामो लामो भएको भए कोरीबाटी गरेर राख्न हुन्थ्यो तर दारीको घारी हुन सकेन । गालाको बारीमा दारीको घारी नहुँदा कुनै कुनै बेला पछुतो पनि लागेर आउँछ तर मेरो गालामा दारी मधेशको एकापसमा जोडिएका घरहरू जस्तो गरी पलाउन सकेन । सायद त्यो मेरो शरीरमा हार्मोनको कमी भएर होला टाउकाको रौँसँगै जुँगा दारी पनि फुलेर बगरको काँस फुले झैँ देखिएको । जुँगा पनि त्यस्तै काँस फुले झैँ भएकाले शिरमा र जुँगामा पनि मैले हाँडीको मोसोबाहेकका अरू सबैखाले कालो प्रयोग गरेर जुँगालाई चाहिँ छेपारे पाराको बनाउन सफल भएकोमा आफूलाई निकै गौरवान्वित ठानेको छु । मलाई मेरो छेपारे जुँगाको महìव अरूका अगाडि दर्साउन पाएकोमा झुसीका झुसी खुसी लागेको छ ।

जुँगा भनेको गहना हो । गहना जस्तो कुरा हो, यसको महìव नारी हुन वा पुरुष सबैलाई उत्तिकै महìवपूर्ण र माया लाग्दो अनि संरक्षणमा चासो दिने खालको हुन्छ । जुँगा नहुनेलाई जुँगाको रहर हुन्छ तर महìव थाहा हुँदैन । गहना नलगाउनेलाई गहनाको रहर जाग्छ तर त्यसको महìवबारे कम जानकारी हुन्छ । मेरो जुँगाका बारेमा मलाईभन्दा अरूलाई बढी जानकारी हुन सक्छ । यदि मेले जाँड खाएर जुँगामा छोव्रmा लागेमा अरूले पहिले देख्छन् मैले भन्दा, त्यसैले मेरो जुँगाका बारेमा अरूलाई चासो हुन्छ । अर्को कुरा मैले मेरो जुँगालाई बेला मौकामा छेपारे पाराको बनाएका कारण पनि अरूले चासो राखेको हो कि भन्ने मलाई लाग्छ । 

मेरो छेपारे जुँगा अरूको सात्तो खाने खालको पनि छैन र आफूले भत्ता पाउने खालको पनि होइन । भत्ता खाने जुँगा भनेको सत्तामा बसेर पासा पल्टाउने, हवलदार भएर खबरदारी गर्ने को हो । कामका लागि भन्दा पनि नामका लागि र झोलचोक्टा छान्ने फिल्टरका लागि जुँगाको उपयोग हुन्छ । जाँड, निगार खाँदा मात्र होइन दही, मही खाँदा पनि जुँगाले छोव्रmा छानेर जुँगामा अड्याउँछ । अर्थात् भनौँ जुँगा भनेको छोव्रmा र झोल छुट्याउने वा भनौँ झोललाई मुखमा हालेर छोव्रmा र बोव्रmालाई छान्ने चाल्नो हो । अर्को कुरा यसरी झोलचोक्टा वा छोव्रmा छान्ने जुँगालाई चाल्ने जुँगाभन्दा पनि कुनै फरक नपर्ला जस्तो लागेर आउँछ । जुँगा तिलचामले होस् वा विशुद्ध कालो होस् वा छेपारे जेसुकै होस् मेरो जुँगा मेरा निम्ति फूलको थुँगा नै हो । अर्को शब्दमा भन्नुपर्दा जुँगा बोव्रmा, छोव्रmा र सिँगान आफैँ अडिने स्ट्यान्ड पनि हो । फरक यति हो कि चलाख मान्छेले बोव्रmा, छोव्रmा हुने झोल कुरा खाएपछि मुख पुछेर सफा पार्छ र बोव्रmा, छोव्रmा जुँगामा अडिन पाउँदैन यो लेखक जस्तै हुस्सु गोज्याङ्ग्रे रहेछ भने अरूका अगाडि बोव्रmा, छोव्रmा अडिएको छेपारे जुँगा लिएर तमासा देखाउँछ ।

अरूभन्दा पनि बच्चाका लागि जुँगा छेपारे, चेपारे, तिलचामले वा अन्य जस्तोसुकै होस् खेलौनाका रूपमा पनि लिइन्छ । मेरो नातिलाई मेरो जुँगा खेलौना भएको छ । काखमा बसेर जुँगा खेलाउँछ र तान्छ बुवाको दारीजुँगा भन्दै समातेर तान्दा उसलाई त मजा आउला तर आफूलाई दुखेर खपिनसक्नु हुन्छ तर यो मेरो पीडा बालकले बुझ्दैन । ऊ आफ्नै सुरमा रमाइरहेको हुन्छ र भन्छ, “म पनि बुवा जस्तै ठुलो भएपछि जुँगा बनाउँछु ।”

जुँगाले मानिसलाई सुन्दर मात्र होइन लक्का र पक्का पनि बनाउँछ । कसैलाई जुँगाले प्रिय पनि बनाउँछ । कसैलाई अप्रिय पनि बनाउँछ । कोही जुँगा कै आकर्षणमा लोभिने पनि होलान् । जुँगा नहुनेमा पुरुषत्व भए पनि आकर्षण हुँदैन । फुलेकै जुँगा भए पनि त्यसले पुरुषमा शोभा बढाउँछ । उखान नै छ नि ‘मर्दका जुँगा’ भन्ने । कसै कसैको जुँगाले त सात गाउँ नै कहलिने काम गर्छ तर कसैको जुँगाले आफ्नै घरमा पनि कुनै महìव दिँदैन ।

मलाई चाहिँ मेरो आफ्नै छेपारे जुँगाको थुँगा नै सुन्दर गहना झैँ लाग्छ । यदि कसैले मलाई पुरुषको विश्वको सबैभन्दा सुन्दर गहना केहो भनेर प्रश्न सोधेमा म निर्धक्क र आत्मविश्वाससाथ भन्छु छेपारे जुँगा नै हो भनेर । चेपारो पार्न नजान्ने यो छेपारे जुँगाले धेरैलाई आकर्षित गरेको मलाई भान परेको छ । शरीरभरि सुनचाँदी हिरामोतीका गहना लाउनेले पनि जुँगालाई सबैभन्दा असली गहनाका रूपमा लिएको उदाहरण पाइन्छ । 

भत्ता र सत्ताको पछि नलाग्ने मेरो छेपारे जुँगाको जन्मदाता म आफैँ हो । मेरो जुँगालाई मैले जस्तो बनायो त्यस्तै हुन्छ । यसको हेरचाह गर्दा र नगर्दा यसको जस अपजस मलाई नै आउँछ । छेपारे भए पनि मेरो जुँगा पाजी काजीको भन्दा कम छैन भन्ने कुरामा म विश्वस्त छु । पाजीका जुँगा मुसा, कुकुर, बिरालाका जस्ता हुन्छन् । मेरो छेपारे जुँगा बास्ना आउने फूलको थुँगा जस्तो छ । मेरो छेपारे जुँगा सिँगान र जाँडको छोव्रmाको अलरेडी स्ट्यान्ड भए पनि यसले मेरो अनुहारमा शोभा बढाएको छ, मर्दको पहिचान दिएको छ । कसैले पनि जुँगाबिनाको नामर्द भनेर होच्याउन, गिज्याउन वा जिस्क्याउन पाउँदैनन् । बरु म जुँगा नहुनेहरूलाई के भन्न चाहन्छु भने कृत्रिम भए पनि जुँगा लगाएर हिँड अनुहारमा शोभा दिन्छ । काम जे सुकै गरे पनि मर्दको पहिचानमा नाम दरिन्छ । तिम्रो मनभित्र आत्मसन्तुष्टि भरिन्छ र जीवनमा सफलताको सिँढी उक्लन जाँगर पलाउँछ ।

कतिपयले जुँगालाई अनुहार बिगार्ने कुरूपताको झाङका रूपमा पनि लिन्छन् तर म चाहिँ जुँगालाई सुन्दरताको प्रतीकका रूपमा लिएर स्याहारसुसार र कोरीबाटी गर्छु । जुँगाको चुल्ठी बाट्ने चलन पाइन्न जस्तो लाग्छ । यसमा अझै मैले अध्ययन अनुसन्धान नगरेको हुन पनि सक्छ ।  दुईतिर चुल्ठी बाट्न हुने गरी जुँगा पाल्न वा बढाउन सक्ने हो भने विश्व रेकर्डमा आउने थियो होला । ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम दर्ता गराउन सक्नु पनि एउटा इतिहास बनाउनु भएकाले मेरो छेपारे जुँगाका पनि दिन फिर्न सक्ने सम्भावनाका ढोकाहरू खुलेको मैले महसुस गरेको छु । 

बेलामौकामा छेपारोले रङ फेरे झैँ रङ फेरिरहने मेरो छेपारे जुँगा कार्लमाक्र्स, लेलिनन, स्टालिनको जस्तो नहोला तर नेपालीपनको अवश्य हो भन्ने कुरामा म विश्वस्त छु । जुँगा जस्तोसुकै भए पनि व्यक्तिको पहिचान हो र यसले व्यक्तिलाई स्थापित गराउन सहयोग पुग्छ । छेपारे जुँगा त अझ सबैका लागि रोमाञ्चक अनि हँसिमजाकको विषय वा माध्यम पनि हुन्छ । 

छेपारे छ जुँगा मनोहर उसै रोमान्स देखाउने

चेपारे जनको जुँगा विरसिलो साथी छ भड्काउने

खाली ओठ लिएर भन्छ गहना पालेर देखाऊ लौ

छेपारे छ जुँगा दलेर रङका पोका अनेकौँ छ लौ ।

Author

माधव पोखरेल गोज्याङ्ग्रे