• १ फागुन २०८२, शुक्रबार

प्रधानमन्त्री कार्कीसँग एनसीसीका प्रतिनिधिको भेट

blog

प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्दै एनसीसीका प्रतिनिधि । तस्बिरः केशव थापा/प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, फागुन १ गते । युवा आदानप्रदान कार्यक्रमअन्तर्गत नेपाल, भारत, पाकिस्तान, भुटान र मालदिभ्सका राष्ट्रिय सेवा दल (एनसीसी) का प्रतिनिधिमण्डलले प्रधानमन्त्री सुशीला कार्कीसँग बालुवाटारमा शिष्टाचार भेटघाट गरेका छन्। 

प्रतिनिधिमण्डलले प्रधानमन्त्री कार्कीसँग बालुवाटारमा भेट गरेका हुन्। प्रतिनिधिमण्डलमा भारतबाट २० सदस्यीय टोली, पाकिस्तानबाट १२ सदस्यीय टोली, भुटानबाट ९ सदस्यीय टोली तथा मालदिभ्सबाट ५ सदस्यीय टोली सहभागी थियो।

प्रधानमन्त्री कार्कीले यस कार्यक्रममार्फत सहभागी राष्ट्रबीच मित्रता, पारस्परिक समझदारी र युवास्तरको सहकार्य थप सुदृढ हुने विश्वास व्यक्त गर्दै नेपाल भ्रमण सुखद् र स्मरणीय रहोस् भनी कामना गर्नुभयो।

विभिन्न मुलुकका सेनाले अनुशासित, जिम्मेवार, कर्तव्यनिष्ठ तथा सक्षम नेतृत्व क्षमता भएका युवा उत्पादन गर्ने उद्देश्यका साथ विभिन्न प्रशिक्षण तथा आदानप्रदान कार्यक्रम सञ्चालन गर्दै आएका छन्। 

राष्ट्रिय सेवा दल नेपालले माध्यमिक तथा उच्च माध्यमिक तहका करिब ७ हजार ७१० विद्यार्थीलाई वार्षिक रूपमा जुनियर र सिनियर डिभिजन तालिम प्रदान गर्दै आएको छ।


नेपालले मित्र राष्ट्रका सेवा दलसँग पारस्परिक रूपमा सञ्चालन हुने युवा आदानप्रदान कार्यक्रम सञ्चालन गर्दै आएको छ। जसअन्तर्गत उत्कृष्ट क्याडेटहरूलाई बंगलादेश, भुटान, भारत, मालदिभ्स, पाकिस्तान, सिंगापुर र श्रीलंकासँगको पारस्परिक भ्रमणमा सहभागी गराइँदै आएको छ। साथै, सहभागी राष्ट्रलाई वार्षिक नेपाल सेना दिवस समारोहमा समेत आमन्त्रण गरिन्छ।