यज्ञप्रसाद सापकोटा
गुलरिया (बर्दिया), फागुन १ गते । बर्दियामा निर्वाचनको समयमा कालाबजारी हुन सक्ने भन्दै बजार अनुगमनलाई तिव्रता दिइएको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाले निर्वाचन लक्षित बजार अनुगमन तिव्रता दिइएको हो ।
अनुगमन टोलीले बाँसगढी नगरपालिकामा रहेका पाँचवटा किराना पसल, एक मदिरा पसल र एक दुध डेरी पसल गरी सातवटा पसलहरूमा अनुगमन गरेको छ । टोलीले मुल्यसूची राखे नराखेको, म्याद गुज्रेका सामान राखे नराखेको, पसल दर्ता भए नभएको, भ्याट र कर तिरे नतिरेको बारेमा अनुगमन गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत लोकप्रसाद ढकालको संयोजकत्वमा घरेलु तथा साना उद्योग कार्यालय बर्दिया, बाँसगढी उद्योग वाज्यि संघ, इलाका प्रहरी कार्यालय मोतीपुर लगायतका कार्यालयको प्रतिनिधिहरुको उपस्थितिमा अनुगमन गरेको हो ।
अनुगमनका क्रममा पसलहरूमा मुल्यसूची अपडेट नगरेको फेला परेको अनुगमन टोलीका संयोजक ढकालले बताउनुभयो । उहाँले म्याद नाघेका सामग्री कम्पनीले नै फिर्ता लैजाने हुनाले त्यो समस्या फेला नपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “पसल व्यवसायीहरू पहिलेको तुलनामा व्यवस्थित हुँदैगएका छन् । कमिकमजोरी देखिएको पसलमा आगामी दिनमा सुधार गर्नेगरी छोडिएको छ ।”
निर्वाचन समयमा कालोबजारी लगायत गलत काम हुने सम्भावना बढेको हुनाले जिल्ला प्रशासन कार्यालय बर्दियाले बजार अनुगमनलाई तिव्रता दिँदै गएको छ । केही समय अघि बर्दियाको गुलरिया नगरपालिका र बढैया ताल गाउँपालिकामा बजार अनुगमन गरिएको छ ।