• २ फागुन २०८२, शनिबार

सुन्तलीमाई (कथा)

blog

सुन्तली घरको आ“गनमा बिछ्याइएको गुन्द्रीमाथि पल्टिएकी थिइन् । उनको आङका कपडा रगतले भिजेका थिए । टहटह जूनको उज्यालोले सुन्तलीको शरीरभन्दा उनको आङमा लतपतिएका रगत र भुइँभरि जमेको रगत देखाइरहेको थियो । उनको ज्यानमा बाहिर कुनै चोटपटक देखिएको थिएन । रगतै बग्ने गरी सुन्तलीको ज्यानमाथि कसले आव्रmमण ग¥यो ? सुन्तलीको वरिपरि जम्मा भएको भिडमा धेरैको प्रश्न यही थियो । मार्साङ हस्याङफस्याङ गर्दै भिडमा छिरिन् । 

“दिनभरि छेवरमा नाचिरहेको मान्छेलाई लु न यस्तो कसरी भयो ? यही अक्कले मुर्दारले नै यल्लाई मार्नु खोज्यो होला,” मार्साङले चिच्याउ“दै आ“गनको डिलमा बसिरहेका सुन्तलीका श्रीमान् अक्कलेलाई कराइन् । त्यसपछि उनले सुन्तलीको अनुहार, ज्यान सबैतिर रगडेर अर्को कपडा फेरिदिइन् । त्यतिन्जेलसम्ममा वडाध्यक्ष धनजित पनि आइपुगिसकेका थिए । एकछिनपछि घरको खोल्सापारि गाडी पनि आइपुग्यो । मानध्वज काकाले नै बोकेर सुन्तलीलाई गाडीसम्म पु¥याए । मार्साङ, मानध्वज काका र अक्कले पनि गाडीमा सुन्तलीस“गै बसे । गाडी भिड छिचोल्दै अगाडि बढ्यो । बैँसका बेला सुन्तलीका आपा वीरमानको मुखैमा झुन्डिने एउटै गीत थियो, ‘सिन्धुलीगढी घुमेर हेर्दा सुन्तलीमाई... ।’ त्यसैले उनले आफ्नी एक्ली छोरीको नाम नै राखिदिए ‘सुन्तलीमाई’ । आपा र आमाले सुन्तलीमाई नै भने पनि घरगाउ“लेले भने सुन्तलीमाईलाई ‘सुन्तली’ नै भन्थे । अक्कलेको घरमा सुन्तली २१ वर्षमै बुहारी बनेर भित्रिइन् । एक्लो छोरो र माइतीबाट १० मिनेटको बाटो भएपछि उनका आपाआमाले सुरुमै अक्कलेको सगुन स्वीकार गरे । सधैँ देखभेट भइरहने साथीलाई लोग्ने भन्नुपर्ने अलिकति लाजभन्दा बाहेक सुन्तलीलाई अक्कलेस“ग विवाह गर्नलाई अरू सङ्कोच थिएन । उनले विवाहको सगुन आपाआमाको एक वचनमै स्वीकार गरिन् । सगुन राखेको एक महिनापछि माघ महिनामा धुमधामले विवाह भयो । एक्लो छोरो स्याहारेर बसेकी अक्कलेकी आमा पनि बुहारी साथी पाउ“दा निकै खुसी भइन् । 

अक्कले र सुन्तलीको वैवाहिक जीवन राम्रैस“ग चल्दै गए पनि यता देश लामो समयदेखि सशस्त्र सङ्घर्षले सङ्कटग्रस्त अवस्थामा थियो । गाउ“मा भएका युवा कोही जङ्गल त कोही विदेशतिर थिए । विवाह भएको एक वर्षमै सुन्तलीले छोरी लासाङलाई जन्म दिइन् । छोरी जन्मेपछि अक्कले र सुन्तलीलाई घर चलाउन अलि गाह्रै हुन थाल्यो । दुवैका संसार, सपना जे भने पनि त्यही गाउ“का हरिया जङ्गल र भिरपाखा नै थिए । मेलापात र खेतीकिसानीबाट जीविकोपार्जन गर्न धौ धौ भएपछि गाउ“का युवामा सहर हु“दै परदेसिने व्रmम अझ बढेको थियो । अक्कलेले पनि परिवारको सुखका लागि परदेशको बाटो लाग्ने निर्णय गरे । उनले श्रीमती र आमाको कानको बेरुवा रिङ बेचे । छ महिनापछि नौ महिनाकी छोरी छोडेर अक्कले मलेसिया उडे । एक दिन, एक महिना, एक वर्ष हु“दै समय एवं रीतले अघि बढ्यो । सुन्तली एक्लैको बलले थुप्रै ल्होसार मानिन् । हिउ“दका सिरोटो र वर्षाका कैयौँ भेल काटिन् । आ“गनको डिलमा फुलेको आरुफूल र गुलाफको यौवन नियाल्दै थुप्रै वसन्त बिताइन् । न चिठी न खबर तैपनि उनी भन्थिन्, “मेरो अक्कले एक दिन यही फूल फुलेको वसन्तयाममा फर्केर आउने छ ।” तर अह“ अक्कले फर्केन । बुढीसासू र सानी छोरीलाई अक्कले फर्किआउने भरोसा देखाउ“दै सुन्तलीले ज्याम्दी डा“डाहरूलाई नियाल्दै नौ वर्ष बिताइन् । मेलापात, घा“सदाउरा, वस्तुभाउ समालेर पनि उनले मर्चा बनाउन सिकिन्; रक्सी बनाएर घरखर्च टारिन् । माइतीमा माया गर्ने आमा सधैँका लागि बिदा भइसकेकी थिइन् । बुढा आपा घर रु“घेर बसेका थिए । दाजुभाइको बसाइ सहरतिर थियो । साथी भने पनि, दिदीबहिनी भने पनि उही छिमेकी जेठानी मार्साङ थिइन् । 

घर छोडेको १० वर्षमा नया“ वर्षकै दिन अक्कले लाहुरे बनेर गाउ“मा छिरे तर सुन्तलीको जीवनमा वसन्त होइन, शिशिरको याम बनेर फर्के । सधैँ झैँ सुन्तली घरखेतको धन्दा सकाएर भान्सामा छिरिन् । श्रीमान्, सासू र छोरीलाई बेलुकीको खाना खुवाइन् । त्यसपछि उनी छोरी लासाङलाई सुताउने तरखरमा लागिन् । “छोरीलाई सुताएर तल आ है,” अक्कलेले सुन्तलीलाई छि“डीबाटै बोलाए । सुन्तली तल झर्दा आमाछोरा खुसखुस गर्दै थिए । उनी छेउमै गएर टुसुक्क बसिन् । 

“आबो छोराले बाटो बिराएछा चाङ । यल्ले यस्तो गर्नाचाइ नहुने हो । तिम्ले पो चित्ता बुझाउन प¥यो है,” सासूको कुराले सुन्तलीको मनमा चिसो पस्यो । उनले दुवैतिर हेरिन् । 

“लौ के भयो र ? के चाहि“ बाटो बिराउनुभो र तपाईंले ?” सुन्तलीले श्रीमान्तिर हेर्दै भनिन् । अक्कलेले घोसेमुन्टो लगायो । 

“आर्को ल्याएर मोरेछ मुर्दारले । त्योइ खबर पो सुनाउन आको रइछ,” सुन्तली खङ्ग्रङ्ङ भइन् । सुख दिन्छु भनेर परदेसिएको श्रीमान्ले सौता नै उपहार ल्याइदेला भन्ने उनले एकमनले पनि चिताएकी थिइनन् । त्यसपछि उनले भरोसा, आशा र प्रेमको पर्खाइलाई आ“खाबाट बगाउन सुरु गरिन् । 

“आबो सम्दीलाई पो के भन्ने होला ? चाङ तिम्ले पनि माइतीलाई सम्झाएन भने यल्लाई त तिम्रो बउमाइतीले दुई टुव्रmा हुने गरी काट्छ । मो बुढीको मुख हेरेर माइतीलाई सम्झा है । मो बा“चुन्जेल बाहिर जेसुकै गारोस्, यो घरमा तिम्रँे ठाउ“मा कोही छिर्न दिन्न,” सुन्तलीकी सासूले बुहारीको हात समातेर सम्झाइन् । अक्कलेले पनि छोरी र सुन्तलीलाई सुखैमा राख्छु भनेर वाचा गरे । एकैछिनपछि सुन्तलीले स्या“क्क सि“गान तानिन् । पछ्यौरीको फेरले आ“खा पुछिन् अनि भ¥याङ चढेर माथि उक्लिइन् । 

यसरी सुन्तलीको जीवनको लय बिथोल्न आइपुगेको अक्कले बेला बेलामा घरमा आउनेजाने गरे । उसको घर आउनेजाने कहिले वर्षमै दुई चोटि, कहिले एकै चोटि त कहिले दुई÷तीन वर्ष नै लाग्थ्यो । घर आउ“दा छोरी र आमालाई माया देखाउ“थे । सुन्तलीस“ग सामान्य बोलचाल हुन्थ्यो । उनका लागि अक्कले लोग्ने होइन, लोग्नेमान्छे थियो । लोग्नेस्वास्नीबिच हुने प्रेम, कामवासना र मिलन सुन्तलीका लागि केही बा“की थिएन । अक्कलेप्रति उनको न चिन्ता थियो न त चासो नै । छोरीको खुसी र भविष्यको बाटो पछ्याउ“दै उनी आफ्नै जीवनको लयमा बगिरहिन् र उनी आफैँ भएर बा“चिदिइन् । माइती र घरगाउ“को मेलापात, जात्रा, पर्व, उत्सवमा सुन्तलीको कम्मर सेलो गीतमा मर्किन्थ्यो । डम्फु बजाउ“दै उनी सेलो भाकामै डम्फुरे गीतमा तामाङ इतिहास, संस्कृति र सृष्टिको गीत गाउ“थिन् । फापरे भाकामा कहिले वियोगान्त त कहिले प्रेमको सुवास भर्दै गाउ“थिन् । उनको डम्फुको लय बुढाबुढी आनन्दित भएर सुन्थे भने तन्नेरीहरू कम्मर मर्काइहाल्थे । त्यस दिन पनि सुन्तली भदाको छेवरमा दिनभरि नाचेर घर फर्केर सुतेकी थिइन् । छोरी लासाङ भने मामाघरमै बसेकी थिइन् । दुई वर्षपछि घर फर्केका अक्कले दिनभरि छेवरमा बसेर सुन्तलीभन्दा अलिकति पछि घर आएका थिए । रक्सीको सुरुमा घर फर्केका उनले सुन्तलीको कोठाको ढोकामा दुई लात हानेर सुन्तलीलाई झम्टिहाले । 

अस्पतालको ओछ्यानमा पल्टेकी सुन्तलीले बिस्तारै आ“खा खोलिन् । रगतको पोका र सलाइनपानीका स्ट्यान्डहरू उनका दाया“बाया“ थिए । सुन्तलीको योनीको मुख र योनीमार्ग चिराचिरा परेर योनीभित्रको झिल्लीमा समेत गहिरो चोट पुगेकाले अत्यधिक रगत बगेको चिकित्सकहरूले निकालेको रिपोर्टमा देखिएको थियो । सुन्तलीको शरीरमा अझै सलाइनपानीका थोपाहरू झरिरहेको थियो । उनले बिस्तारै सलाइनपानीको स्ट्यान्डतिर हेरिन् । सलाइनपानीको बोतलबाट झरिरहेका पानीका थोपाभन्दा तीव्र गतिमा उनको आ“खाबाट आ“सुका थोपा झर्न थाले । मार्साङले उनको आ“सु पछ्यौरी तानेर पुछिदिइन् अनि आफ्नो आ“खातिर पनि बढाइन् । 

मार्साङले सुन्तलीतिर हेरेर स्या“क्क सि“गान तानेर सोधिन्, “सुन्तली ! यो सप्पै कसरी भयो ?” 

त्यति नै बेला मानध्वज काका र अक्कले हातमा औषधीको झोला बोकेर आइपुगे । सुन्तलीले फेरि आ“खा चिम्लिइन् । अस्पताल बसाइको पा“च दिनपछि सुन्तली टुव्रmुक्क बस्न सक्ने भइन् । उनले औषधी र अस्पतालको फाइलको एउटा कागज हेरिन् । कागजमा साक्षी व्यक्तिका रूपमा नाम थियो– अक्कलबहादुर तामाङ । नाता प्रमाणितमा थियो– श्रीमान् । उनी कागज च्यातच्युत पारी डा“को छोडेर रुन थालिन् । मार्साङले उनलाई अँगालोमा बेरिन् । निकैबेर मार्साङको छातीमा आ“खा चिम्लेर बसेकी सुन्तलीले सुस्तरी बोलिन् । 

“नाना ! सप्पै लोग्नेमान्छे अक्कले जस्तै त हु“दैन होला है ? उसले मेरो ओछ्यान नछोएको बर्सौं भयो । त्यसको कुनै आस पनि थिएन । अस्ति एक्कासि बाघले जस्तो गरी झम्टेर मेरो ज्यानलाई लुछ्यो नाना । ज्यान नै भुइ“मा ढलेपछि आमा उठेर मानध्वज आस्याङ र तपाईंहरूलाई बोलाउनुभएछ । आमा पनि नभाको भए रगतको आहालमै डुबेर मेरो प्राण जान्थ्यो,” सुन्तली फेरि घु“क्क घु“क्क रुन थालिन् । १० दिनको दिनमा सुन्तली घर फर्किइन् । घरमा पुग्दा वडाध्यक्ष धनजित, छोरी लासाङ, घरगाउ“ले सबै भेला भएका थिए । उनका आपा वीरमान उनको छेउमै बसे । सुन्तलीलाई खासमा के भएको थियो भन्ने गाउ“ले सबैलाई चासो थियो ।  “सुन्तलीलाई पोइले धेरैपछि माया गर्न खोज्यो क्यारे । अक्कलेको माया पो अलि बढी नै भएछ,” आ“गनमा जम्मा भएको भिडमध्ये आइतेले प्याच्च बोलिहाल्यो । सबै खासखुस गरेर एकअर्कालाई हेर्न थाले । 

“हइन यिनारुलाई आर्काको कुरामा यति चियोचासो चाहि“ किना पो हो ? सुन्तली चाङलाई ठिक छ । लु सप्पै जना घरमा जाओ ।” त्यसपछि गाउ“ले आआफ्ना घरतिर लागे । त्यहा“ बा“की रहेकाहरू भने सुन्तलीको वरिपरि बसे । घरको कुरा घरभित्रै मिलाउनु पर्छ भन्ने कुरामा मानध्वज काकाले जोड दिए । वडाध्यक्ष धनजित पनि त्यही कुरामा सहमत भए । 

“मेरी छोरीले दुःखमसुखले खाई नै राको थियो । यसरी ज्यानै लिनेसम्म गर्नु ता भएन नि । यो कुरा यत्तिकै मिलाउने कुरामा मो मान्दैन । यसको दाज्युभाइलाई बोलाउ“छ,” सुन्तलीका आपाले जुरुक्क उठेर भने । 

“सम्दी ! हामी सप्पैको कुल्यान र इज्जत छ । मो पनि तपाईं पनि यई गाउ“ठाउ“मा बस्नु पर्छ । भोलि यो कुरा बाहिर गायो भने आखिरीमा बिजेत हुने त हाम्रै हो । लु त्यसो नभन्नु सम्दी,” मानध्वज काकाले सुन्तलीका बुवाको अगाडि हात जोडेर भने । सुन्तलीका बुवाले छोरीतिर पुलुक्क हेरे । 

जुरुक्क उठेर मार्साङले झ्यालबाहिर पिच्च थुकिन् । एकैछिनपछि एक्कासि सुन्तली जुरुक्क उठेर अक्कलेको कठालो समातिन् र जोडले अक्कलेको गालामा दुई झापट हानेर मुखमा थुकिदिइन् । त्यसपछि गलामा लगाएको पोते चु“डेर अक्कलेको मुखमा फ्याँकिदिइन् । 

“मैले यल्लाई अहिलेलाई गर्ने यति हो । हेर्दै जानु, बा“की काम सप्पै अब गर्छु,” उनी खाटमा थचक्क बसिन् ।  छ महिनापछि अक्कलेकी आमा छोरा भेट्न जिल्ला कारागारमा पुगिन् । सुरक्षाकर्मीले भित्र गएर अक्कलेको फाइल खोलेर हेरे । फाइलमा लेखिएका केही बु“दा मात्र सुरक्षाकर्मीले हेरे– 

नाम ः अक्कलबहादुर तामाङ

कैदी नम्बर ः १०२०

कसुर ः वैवाहिक करणी र बहुविवाह... । 

Author

सुशीला तामाङ