• २ फागुन २०८२, शनिबार

पश्चिम तिब्बतमा नौ दिन

blog

चाइना मिडिया ग्रुप नेपाली सेवाका चेतनाथ आचार्यले विच्याटमा एउटा निम्तो छाड्नुभएको रहेछ । ल्हासा र आलीमा हुने कार्यव्रmमको निम्तो थियो, त्यो । मैले कार्यव्रmमबारे केही सोधखोज गरेँ र समय अनुकूल भए आफू सहभागी हुन सक्ने कुरा जानकारी गराएँ । 

आचार्यसँग कुराकानी भएको केही दिनपछि सो मिडियाकी नेपाली विभाग प्रमुख सुमेगाले सम्पर्क गर्नुभयो । जुनको ३० तारिखमा आली गएर जुलाई ८ मा फर्कने गरी हामीले समय निर्धारण ग¥यौँ । आर्थिक वर्षको अन्त्यतिर भएकाले त्यसपछि म पूर्ण रूपमा महावाणिज्य दूतावासको काममा व्यस्त भएँ । जुन २४ मा नेपाल, भारत र बेइजिङबाट आउने टोली ल्हासा आइपुग्यो तर मैले ल्हासामा उहाँहरूलाई समय दिन सकिनँ । त्यहीबिच सिचाङ सरकारद्वारा आयोजित सीमापार व्यवसायीका लागि ट्रान्स हिमालयन फोरमको कार्यव्रmम भएकाले जुन २६ मा लिनची पुगेर जुन २८ मा म ल्हासा फर्किएँ । जुन ३० को बिहान तिब्बत एयरलाइन्सको उडानमा ल्हासाबाट आलीतिर जान म र विमला निस्कियौँ । सहरदेखि विमानस्थलसम्मको बाटोको दुवैतिर ढकमक्क फूल फुलेका थिए । सडकबत्तीका पोल सुन्दर त थिए नै राता डल्ला झुन्ड्याएर अझ बढी सुन्दर बनाइएका थिए । आसपासका फाँट र डाँडाकाँडामा हरियाली कायम गर्न भर्खरै रोपिएका बोटबिरूवा प्रशस्तै देखिन्थे । सडक चिल्लो र सफा थियो । झिसमिसेमा पनि सडक सफाइको काम भइरहेको थियो । बिहान सखारै पनि झलमल्ल उज्यालो देख्दा लाग्थ्यो, ल्हासामा कहिल्यै रात पर्दैन ।  

करिब ४० मिनेटको यात्रापछि ल्हासा गोङ्गार विमानस्थल पुग्दा आली जाने मिडियाका साथीहरू भेटियो । 

यात्रामा जीवनसङ्गिनी विमला, चाइना मिडिया ग्रुपका मित्रहरू सुमेगा, शान्ति र राधिका, चेतनाथ आचार्य, नेपाल टेलिभिजनका प्रकाशबाबु पौडेल, कलाकार जिवेशसिंह गुरुङ, हिन्दी खबर टेलिभिजन दिल्लीका अतुल अग्रवाललगायत ३० जना सहभागी थियौँ । पास र सुरक्षा जाँच सकेपछि उडानको प्रतीक्षामा एकआपसमा गफिँदै बस्यौँ । निर्धारित समयमा तिब्बत एयरलाइन्सको विमानले भुइँ छाड्यो । त्यहाँको सुन्दर विमानस्थल, यार्लुङ त्साम्पो नदी, भर्खर हरियाली भर्दै गरेका मध्यम उचाइका पहाड, खुला र निलो आकाशले भारी मनले हाम्रो बिदाइ गरे । मलाई महसुस भयो, तिनीहरू हाम्रो सुरक्षित यात्राको कामना गरिरहेका छन् ।

आली विमानस्थलमा त्यहाँका सूचना विभाग प्रमुख चेङ योङ र उहाँको समूहले भव्य स्वागत गरेर हामीलाई आली बजारमा पु¥याए । बाटामा दुवैतिर पङ्क्तिबद्ध पहाडमा हरियाली छर्दै गरेका असङ्ख्य मानिस देखिए, उनीहरू आफ्नो काममा व्यस्त थिए । चौडा र चिल्लो सडक छिचोल्दै करिब एक घण्टापछि आली बजारस्थित होटेलमा पुग्यौँ । सूचना विभागको क्यान्टिनमा बिहानीको खाना र केहीबेर आरामपछि गार काउन्टीस्थित इकोलोजिकल इन्डस्ट्रियल पार्कतिर प्रस्थान ग-यौँ ।

समुद्री सतहबाट लगभग १५० मिटरको उचाइमा रहेको झापा जिल्लाको तोपगाछीमा जन्मी हुर्केको मेरा लागि चार हजार तीन सय मिटरको उचाइमा रहेको उक्त पार्क अर्को एउटा आश्चर्यका रूपमा रह्यो । अत्याधुनिक हरितगृहभित्र व्यवस्थित सो पार्कमा मरुभूमि जस्तो बालुवामा फल्ने खरबुजा, काँव्रmा, फर्सी, लौका, टमाटर मात्र फलेका होइन गुलाब, सयपत्री, गोदावरी, मेरिगोल्ड, टुलिप्स, लिली जस्ता फूल पनि ढकमक्क फुलेका देखिए ।

स्थानीय किसानको सहकारीले सञ्चालन गरेको उक्त पार्कमा उत्पादित फलफूल र तरकारी स्थानीय बजारका साथै चीनका अन्य स्थानमा पनि पुग्ने जानकारी किसानबाट प्राप्त भयो । चिनियाँ आधुनिकीकरणलाई ग्रामीण क्षेत्रसम्म विकास गरेर गरिबी निवारण र रोजगारी वृद्धि गर्न एवं तरकारी तथा फलफूलमा आत्मनिर्भर बनाउन चीनले सफलतापूर्वक अभ्यास गरिरहेको त्यहाँ प्रत्यक्ष रूपमा देख्न पाइयो । आधुनिकीकरण अपनाउने व्रmममा स्थानीय किसानले मोबाइल फोनको एप प्रयोग गरेर हरितगृहभित्र तरकारी खेतीमा सिँचाइ गर्ने, विषादी तथा मल प्रयोग गर्ने, छानो हटाउने वा लगाउने र तापव्रmम मिलाउने काम गर्दा रहेछन । पार्क आउँदा जाँदा उच्च हिमाली पठारका फाँट हुँदै खोलानाला झैँ बगेका सडकको दुवैतिर चौँरी, भेडा, घोडा र च्याङ्ग्राका बथान देखिए । सडक निर्माण र मर्मतमा व्यस्त कामदार यन्त्रवत् आफ्नो काम गरिरहेका थिए ।

चीनको सिचाङ स्वायत्त प्रदेशको आली प्रिफेक्चरका विभिन्न धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको उक्त भ्रमणका व्रmममा स्वच्छ र महìवपूर्ण पर्यटकीय गन्तव्य पानकोङ तालको अवलोकन गर्ने अवसरसमेत पायौँ । चीन र भारतको सीमामा रहेको काश्मीर क्षेत्रमा चीनको रिट काउन्टी र भारतको लद्दाखमा पर्ने उक्त ताल समुद्री सतहबाट चार हजार दुई बयालिस मिटरको उचाइमा अवस्थित रहेछ । यसको क्षेत्रफल सात सय वर्ग किलोमिटर रहेछ । दुई भाग चीन र एक भाग भारतमा पर्ने सो ताल चराका लागि विश्वको सबैभन्दा अग्लो वासस्थान टापुका रूपमा समेत चिनिँदो रहेछ । सो तालको चीनतर्फ रहेको भागमा स्वच्छ पानी र भारततिर नुनिलो पानी छ भनी पथप्रदर्शकले बताउँदा ‘यो कसरी सम्भव होला’ झैँ लाग्यो । त्यहाँ ‘ब्राउन हेडेड गल’ नामको चरासँग घण्टौँसम्म खेल्दै रमायौँ । डुङ्गामा सयर गर्दा र तालको किनारमा रहँदा ती चरा हात÷पाखुरामा बस्न आइपुगेका थिए । डुङ्गामा यात्रारत रहँदा हामी सँगसँगै रहेका चिनियाँ कलाकारले रेसम फिरिरी गीत मिठो गरी गाउनुभयो । जसले नेपाल–चीन सांस्कृतिक सम्बन्धको गहिराइ सो तालभन्दा गहिरो रहेको अनुभूत गरायो ।

जादा काउन्टीको यात्राका व्रmममा सडक मर्मतमा संलग्न कामदारसँग कुराकानी गर्ने मौका मिल्यो । उनीहरूका अनुसार चीन सरकारले त्यहाँ चौडा र चिल्ला सडक निर्माण गरेपछि आन्तरिक र बाह्य पर्यटक बढेका, आधुनिक र व्यावसायिक खेती हुन थालेको, आफ्नो उत्पादनले बजार पाएको, रोजगारी बढेको, आवतजावत सजिलो भएको र यस क्षेत्रका जनताको जीवनस्तरमा उल्लेख्य सुधार भएको छ । चर्को घाममा काम गरिरहेका कामदारको मुहारमा छाएको हाँसोले हामी सबैको मनमा खुसी नै तुल्यायो । बेइजिङबाट १५ दिनको सडक यात्रापछि त्यहाँ पुगेका एक जोडी चिनियाँसँग पनि भेट र कुराकानी भयो । आन्तरिक पर्यटनमा उनीहरूको लगाब र सरकारी लगानी देख्दा त्यसलाई कसरी नेपालमा स्थापित गर्ने होला भन्ने प्रश्न आफूले आफैँलाई गरेँ । सम्झिएँ, पोताला दरबार मात्रको भ्रमण हरेक वर्ष तीन करोडभन्दा बढीले गर्छन्, त्यसको १० प्रतिशत पर्यटकको स्वागत गर्ने क्षमता पनि हामीले अझसम्म बनाउन सकेनौँ । जादाकै अनकन्टार भिरमा रहेको एउटा ऐतिहासिक गुम्बा आकर्षणको अर्को केन्द्र रहेछ । एक हजार वर्षभन्दा अगाडिदेखि नै स्थानीय समुदायले पूजाआजा गरी आएको सो गुम्बामा नेपालीपनको झल्को दिने कलाकृति देख्दा गर्वले छाती ढक्क भयो । सन् २००१ देखि त्यो गुम्बाको संरक्षण सरकारले लिएर त्यहाँका सम्पदाको संरक्षण गरिरहेको रहेछ ।

इसाको १० औँदेखि १७ औँ शताब्दीसम्म कुके वंशको शासन रहेको गुफैगुफाले भरिएको एउटा अनकन्टार डाँडा अहिलेसम्म पनि सुरक्षित राखिएको सम्पदाले हाम्रो मन नजित्ने कुरै भएन । तत्कालीन तिब्बती राजा लाङ्दार्माका तीन भाइ नातिमध्ये एक किदे न्यिमागनले त्यहाँ गएर शासन सुरु गरेका रहेछन् । पहाडको टाकुरामा राजा बसेर सेना प्रहरीको सुरक्षासहित आफ्ना जनतालाई त्यही पहाडका गुफामा सुरक्षित राखेर सात सय वर्षसम्म शासन गरेका १६ जना कुके राजाहरूले नेपालसँगको सम्बन्धमा विशेष जोड दिएका कुरा हाम्रा पथप्रदर्शकले जानकारी दिनुभयो । त्यहाँ रहेका नेपाली कलाकृतिबाट त्यसको पुष्टिसमेत भयो । कमजोर जस्तो लाग्ने माटोको एउटा ढिस्कोमाथि दरबार, गुम्बा, भिक्षुको आवास, सेनाको अखडासमेत रहेको उक्त क्षेत्रको संरक्षणमा कुनै कमी भएको पाइएन । त्यहाँ अहिलेसमेत रहेका सेतो, रातो, तारा र यमन्तका मन्दिरमा नेपाली कला र संस्कृतिका प्रशस्त उदाहरण देख्न पाइँदो रहेछ । तारा मन्दिरमा स्रङचङ गम्पो र विनचेनसँगै रहेकी नेपाली चेली भृकुटीको प्रतिमाले हामीलाई गौरवानुभूति गरायो । त्यहाँको गुफामा बर्सौंसम्म बसेर हाल चीन सरकारले निर्माण गरिदिएको आधुनिक घरमा बसोबास गरिरहेकी एक जना वृद्ध आमासँग अन्तव्रिर्mया गर्ने अवसरसमेत मिलेको थियो । 

त्यहाँ चिन्चुदेजी गाउँको होमस्टेको अवलोकन ग¥यौँ । स्थानीय किसानका घरमा पिठोबाट बनाइएको मानव कानको आकृति रहेको अनौठो खानेकुरा खायौँ । आफ्नी आमाको जस्तै मायाले दिइएको सो खानेकुरा मेरा लागि अमृतसमान थियो । २५ घरमा होमस्टे सञ्चालन भएको उक्त गाउँ आफैँमा सुन्दर सहर जस्तै देखिन्थ्यो  । त्यहाँका किसानले पाहुनाका रूपमा हामीलाई गरेको व्यवहार साँच्चै वन्दनीय थियो । साँझका पाहुना देवता समान भन्ने संस्कारमा हुर्किएको मेरा लागि उक्त भ्रमणले नेपाली होमस्टेमा अपनाउनुपर्ने व्यवहारको नमुनाको काम गरेको मैले महसुस गरेँ ।  

सोही भ्रमणका व्रmममा हामीले चिनियाँ भाषामा यिन चेङ भनिने हाल निर्जन पहाडका रूपमा रहेको सातौँ शताब्दीतिरको सुन्दर छियाङ्लोङ चाँदीको सहरको अवलोकन ग¥यौँ । हाल आली  प्रिफेक्चरको न्यिमा काउन्टीमा रहेको सो स्थानमा त्यसबेला चाङचुङ वंशका राजाले राज्य गरेका रहेछन् । चाँदीका जस्ता पहाड भएको स्थानमा उनीहरूको राजधानी रहेछ । तिब्बती ऐतिहासिक अभिलेखले बोन धर्मको उद्गम स्थल रहेको यो राज्य सातौँँ शताब्दीमा रहेको, यसको आफ्नै भाषा र  समुन्नत संस्कृति भएको कुरा उल्लेख छ । सियाङक्वान (हात्ती वसन्त नदी) र सिक्वान (सिंह वसन्त नदी) उपत्यका यसका प्रभाव क्षेत्र थिए । विस्तारै तिब्बती पठारको अधिकांश भागमा प्रभाव जमाउँदै ती शासकहरू आजको क्विङ्घाई, सिचुआन र लद्दाखसम्म पुगेका रहेछन् । चाँदी जस्तो देखिने पहाडमाथि त्यसबेला चाङचुङ वंशका राजाहरूको चाँदीबाट बनेको दरबार थियो भनिन्छ ।

हिन्दु, बौद्ध, बोन र जैनको आस्था र विश्वासको केन्द्रका रूपमा रहेका पवित्र कैलाश पर्वत र मानसरोवर हाम्रो यात्राको अर्को र महìवपूर्ण आकर्षण थिए । सुन्दर तिब्बती पठारमा वरिपरि पहाडले घेरेको समथर मैदानमाथि अन्य पहाडलाई फुच्चे साबित गर्दै उभिएको कैलाश पर्वत देख्नासाथ श्रद्धा र भक्तिले हाम्रो शिर निहुरियो । नाङ्गो आँखाले हेर्दा पनि अर्को पूर्णकलश आकारको देखिने भएकाले यसको नाम कैलाश पर्वत रहन गएको भनिन्छ । टाढाबाट खिचिएको कैलाशको तस्बिरमा शिरमा ओमकार लेखेको प्राकृतिक शिवलिङ्ग र समग्र कमलको फूल जस्तै अष्टदलको आकार देखिन्छ । यसका बारेमा स्कन्द पुराण अन्तर्गत मानस र हिमवत्खण्डमा विस्तारपूर्वक उल्लेख छ । 

अद्भुत प्राकृतिक छटा र अनुपम सौन्दर्य बोकेको कैलाशतिर हेर्दै आस्थाका फूलहरू चढायौँ । एक दिनले मात्र धित नमरेपछि आली पुगिसकेका हामीले भोलिपल्ट पनि कैलाश दर्शन ग¥यौँ । समुद्र सतहबाट चार हजार छ सय मिटरको उचाइमा रहेको यो ताल सिन्धु, सतलज, ब्रह्मपुत्र र कर्णालीको उद्गम हो । ३२० वर्ग किलोमिटर क्षेत्रफल फैलिएको मानसरोवर करिब सय मिटर गहिरो शुद्ध पानीको ताल हो । यो विशाल ताल मुचु, नाइमु, रिरी, लिमी लाप्चा, बासे जुली, सिङकुङ, गजेलाङवा जस्ता पहाडको हिउँ पग्लेर बनेको मानिन्छ । कैलाशपति महादेवले राजहंसका रूपमा यही तालमा जलव्रmीडा गरेका धार्मिक जनविश्वास रहिआएको छ । कैलाश पर्वतका चार वटा पाटामा अलग अलग समयमा अलग अलग आकृति र रङ (सफेद स्फटिक, निलो, रक्तिम र हरियो) देखिन्छ भन्छन् । सृष्टिकालमा ब्रह्माजीले आफ्नो मनले बनाएको हुनाले मानसरोवर भनिएको र राजा मान्धाताले पत्ता लगाएको हुनाले उनैको नामबाट मानसरोवर नाम राखियो पनि भनिँदो रहेछ । पहिला विष्णु शेष शøयामा रहँदा यही तालमा बसेका, यसैलाई छिरसागर भनिने र महादेव, पार्वती, विष्णु र ब्रह्माजी स्वर्णरूपी हाँस भएर जलविहार गरेर उनीहरूको चुच्चाले चार दिशाबाट चार वटा नदी प्रवाहित गरेको कथा पनि रहेछ । मानसरोवरनजिकै रहेको २२४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको राक्षसतालको पनि अवलोकन ग¥यौँ । जबकि यसलाई खराब रूपमा लिइँदो रहेछ र फर्केरसम्म नहेर्नु भनिँदो रहेछ । भनिन्छ, यो तालको पानी नुनिलो र मानसरोवरको स्वच्छ छ । कैलाश पर्वतको छाया नै देखिने यो ताल मलाई त निकै सुन्दर लाग्यो । कैलाश, मानसरोवर र राक्षसताल समीपको जमिनमा उभिएर साक्षात् भगवान् शिव र देवी पार्वतीलाई अन्तर्हृदयदेखि नै कोटीकोटी प्रणाम ग¥यौँ । 

भ्रमणकै सिलसिलामा नेपाल–चीन सीमामा रहेको हिल्सा नाकाको स्थलगत अवलोकन गरियो । चीनतर्फ भेइकल स्क्यानिङ मेसिनसहित भन्सार, अध्यागमन र पोर्ट व्यवस्थापनका लागि चाहिने सबै पूर्वाधार देखियो । हाम्रोतिरको कमजोर पूर्वाधारले मन कटक्क काट्यो । त्यहाँ रहेको सीमा नदीमा चीन सरकारले मितेरी पुल निर्माण गरिसकेको भए पनि हाम्रोतिर रहेको सामान्य अस्थायी संरचना हटाउन नसकेका कारण पहुँच मार्ग बन्न नसक्दा पुल सञ्चालनमा आउन सकेको रहेनछ ।  बुराङ काउन्टीमा हिल्सानजिक रहेको ताक्लाकोट बजार नेपाल–चीन सम्बन्धको बलियो आधारस्तम्भ नै रहेछ । त्यहाँ चीन सरकारले भर्खरै निर्माण सम्पन्न गरी सीमा क्षेत्रका खास गरी हुम्ला, बझाङ, बाजुरा र दार्चुलाका स्थायी बासिन्दा नेपाली समुदायलाई व्यवसायका लागि उपलब्ध गराएका दुई सयभन्दा बढी पसल कबलमा नेपाली व्यवसायी आफ्नो व्यवसाय गरेर बसेका रहेछन् । उनीहरूलाई पसल मात्र होइन, आवास पनि चीन सरकारले त्यसै गरी उपलब्ध गराएको रहेछ । नेपाली व्यवसायीका लागि नेपाली सामान मात्र बिव्रmीवितरण गर्ने गरी त्यत्तिको सङ्ख्यामा पसल र आवास उपलब्ध गराउनुलाई सकारात्मक रूपमा लियौँ ।  भ्रमणको पूरा अवधिभरि नै नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सव र चीन सरकारले ६० वर्षमा सिचाङमा गरेको विकासलाई केन्द्रविन्दु बनाई तयार गरिने वृत्तचित्रको समेत काम भयो ।

सो क्षेत्रको भ्रमण सकेर जुलाई ८ का दिन तिब्बत एयरलाइन्सको उडानमार्फत ङारी गुन्सा विमानस्थल आलीबाट ल्हासा फर्किनै लाग्दा बागमती प्रदेश सरकारका प्रमुख सचिव भूपाल बरालको फोन आयो । फोनमा उहाँले रसुवा नाकामा रहेको ल्हेन्देखोलामा आएको बाढीले मितेरी पुल बगाएको र मानवीय क्षति भएको जानकारी दिनुभयो । मलाई मुटुमा गाँठो परे जस्तो भयो । आँखा तिरिमिरी भए, भनन्न रिङ्गटा चल्यो । मभित्र दुःख र पीडाको हुन्डरी आयो । त्यसबेलासम्म विमानले उचाइ लिन थालेकाले बराल सरलाई म जहाजमा ल्हासातर्फ उडिरहेको छु, त्यहाँ पुग्नासाथ फोन गर्छु भनेर फोन राखेँ । रसाएका आँखा पुछ्दै आफूलाई समाल्ने कोसिस गरेँ । आलीबाट ल्हासासम्मको दुई घण्टाको हवाईयात्रा मेरा लागि दुई दिनको जस्तै भयो ।