• ८ मंसिर २०८१, शनिबार

रामग्रामलाई पर्यटकीय क्षेत्र बनाइने

blog

नवलपरासीपश्चिम, पुस ६ गते । नवलपरासीपश्चिमको सदरमुकाम परासीदेखि तीन किलोमिटर दक्षिणमा रहेको रामग्राम क्षेत्रलाई ऐतिहासिक, पुरातात्त्विक तथा धार्मिक स्थलका रूपमा विकास गर्ने तयारी थालिएको छ । त्यसका लागि लुम्बिनी विकास कोषको नेतृत्वमा रामग्राम नगरपालिका, थाई विहार र द प्रोमिस ल्यान्डले बृहत् योजना अघि सारेका छन् । बृहत् लुम्बिनी क्षेत्रको परिकल्पनाबमोजिम तिलौराकोट, मायादेवी मन्दिर, अनोमाघाट, देवदह, रामग्रामलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।

लुम्बिनी विकास कोषका वरिष्ठ पुरातत्व अधिकृत एवं पुरातत्वविद् हिमालकुमार उप्रेतीका अनुसार रामग्राम बुद्धको अस्थिधातु राखेका आठमध्ये एक स्थल हो । “बौद्ध साहित्यमा उल्लेख भएबमोजिम सम्राट् अशोकले ८४ हजार स्तूप बनाउने क्रममा सात स्तूपबाट अस्थिधातु निकालेका थिए । रामग्राममा भएको अस्थिधातु निकाल्न खोज्दा नागराजले संरक्षण गरेर राखेको पाए,” उहाँले भन्नुभयो । उहाँका अनुसार अशोकले स्तूप खोतल्न खोज्दा नागराजले अशोकलाई आफूले अस्तु संरक्षण गरेर राखेको र आफूले जस्तै शुद्ध गरेर राख्न सक्ने भए मात्र लैजान भन्दै नभए अनिष्ट हुने सूचना दिएका थिए । त्यसपछि अशोकले अस्थिधातु नलिएको र रामग्राममा सुरक्षित रहेको विश्वास छ ।

तर रामग्राममा रहेको बुद्धको अस्थिधातु भए नभएको विषयमा कुनै खोज अनुसन्धान गरिएको छैन । “रामग्राम क्षेत्रमा अस्थिधातु छ छैन भन्ने हेरिएको छैन । वैज्ञानिक खोज अनुसन्धान भएको छैन,” उहाँले भन्नुभयो, “गत नोभेम्बरमा पुरातत्व विभाग, लुम्बिनी विकास कोषसहित विभिन्न सङ्घ संस्थाले स्तूपभन्दा केही पर भवनको भग्नावशेष फेला पारे । ती सबै अनुसन्धान भएपछि मानव गतिविधि भएको थाहा पाइयो ।” 

यस अवस्थामा रामग्रामको स्तूप क्षेत्रको उत्खनन भएपछि धेरै विषय प्रस्ट हुने बताउँदै उहाँले त्यसपछि पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने बताउनुभयो ।  चिनियाँ यात्री फासियान (पाँचौँ शताब्दी) र हुएन साङ (सातौँ शताब्दी) को यात्रा विवरणका आधारमा बुद्धका आठ अस्थिधातु राखी बनाएका आठ वटा स्तूपमध्ये यो रामग्राम एक हो भन्ने गरिएको छ । 

द प्रोमिस ल्यान्डका अध्यक्ष निकेश अधिकारीका अनुसार अवधारणागत योजना भइसकेकाले पहिलो चरणमा सम्पदा क्षेत्रको प्रभाव मूल्याङ्कन (एचआइए) गरिने बताउनुभयो । “स्तूपको क्षेत्र तीन सय मिटर मात्रै छ । हामीले दुई किलोमिटर एचआइए गर्ने तयारी गरेका छौँ,” उहाँले भन्नुभयो, “एचआइए गर्न पुरातìव विभागको टोली, युनेस्कोका प्रतिनिधि र लुम्बिनी विकास कोषका कर्मचारीले ड्रोनबाट सर्र्भेक्षण गर्नेछन् । अरू यन्त्रबाट परीक्षण गरिने छ ।” 

अहिले अवधारणागत बृहत् योजना प्रस्तुत गरिएको बताउँदै उहाँले एचआइए नगरेसम्म विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउन नसकिने बताउनुभयो । उहाँका अनुसार रामग्रामको एचआइए पूरा गर्न चार महिना लाग्छ र त्यसपछि मात्रै डिपिआरको काम सुरु गर्न सकिन्छ । 

लुम्बिनी क्षेत्रमा २३० ऐतिहासिक पुरातात्त्विक क्षेत्र रहेको मानिए पनि अहिलेसम्म २२ वटा मात्रै पत्ता लागेका छन् । लुम्बिनी क्षेत्रका जुनसुकै स्थानमा ऐतिहासिक पुरातात्त्विक वस्तु तथ्य फेला पर्न सक्ने भएकाले यहाँ उत्खनन र अरू गतिविधि गर्दा संवेदनशील हुनुपर्ने अवस्था छ । रामग्राम क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न व्यक्तिका नाममा रहेको ११७ बिघा जमिन अधिग्रहण गरी लुम्बनी विकास कोषका नाममा राख्ने तयारी छ । जग्गा अधिग्रहण गर्न मात्र करिब एक अर्ब ५० करोड र संरचना निर्माणका लागि साढे पाँच अर्ब रुपियाँ लग्ने अनुमान छ । 

रामग्राम योजनामा स्तूप क्षेत्रको तीन सय मिटर क्षेत्र र दीप प्रज्वलन क्षेत्रमा कुनै संरचना बनाइने छैन । चार कुनामा चार स्तूप बनाइने छ । रामग्राम स्तूप क्षेत्रमा ध्यान केन्द्र, १६ वटा विभिन्न देशका विहार बनाउने योजना छ । यस क्षेत्रमा पूरै हारियाली बनाएर तीर्थयात्री बसेर पूजा गरेर दीप प्रज्वलन गर्ने व्यवस्था गरिने छ ।  लुम्बिनी कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले रामग्रामलाई देशको गौरवका रूपमा विकास गरिने उल्लेख गर्नुभयो । “प्रधानमन्त्रीबाट दीप प्रज्वलन भएपछि पक्कै पनि यो आयोजना निर्माण गर्न सहयोग पुग्ने विश्वास छ । यो एतिहासिक क्षेत्रबाट बुद्धको सन्देश विश्वभर फैलाइने छ,” उहाँले भन्नुभयो, “यो संसारभरका बौद्धमार्गीले दर्शन गर्ने आस्थाको धरोहर हुने छ ।”  रामग्राम नगरपालिका प्रमुख धनपत यादवले रामग्राम क्षेत्रको विकास भएमा पर्यटकको बसाइ लम्ब्याउन सकिने बताउनुभयो । उहाँले बौद्ध स्तूप क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गरेर आर्थिक लाभ लिन सकिने उल्लेख गर्नुभयो । 

हालै मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले दीप प्रज्वलन गर्नुभएको छ । त्यसयता उक्त स्तूप क्षेत्रमा दैनिक शान्ति दीप बालेर विश्व शान्तिको कामना गरिँदै आएको छ ।

  

Author
वीरेन्द्र ओली

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।