बेलौरी समाचारदाता
बेलौरी (कञ्चनपुर), चैत १५ गते । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का राजेन्द्र राना एक दशकयता बनहरा नदीको बगरमा तरकारी फलाउँदै आउनुभएको छ । बगरमा उत्पादित तरकारी बेच्नका लागि स्थान नहुँदा उहाँ पूर्वपश्चिम राजमार्गछेउमा टहरा बनाएर बगरमा उत्पादित तरकारी बेच्दै आउनुभएको हो ।
बगरमा उत्पादित तरकारी बेच्न थालेको एक दशकसम्म पनि तरकारी बिक्रीका लागि उचित स्थान नहुँदा सडक किनारमै बसेर तरकारी बेच्न थालेको बताउनुहुन्छ । बगरमा उत्पादित तरकारी बिक्रीका लागि निर्माण गरिएको सब्जीमन्डीमा गाईगोरु राख्न थालिएपछि तरकारी बिक्री गर्न सडकछेउमा बस्नु परेको उहाँले गुनासो गर्नुभयो ।
छ वर्षपहिले कृषकको सहजताका लागि पूर्वपश्चिम राजमार्गभन्दा ५० मिटर उत्तरतर्फ सब्जीमन्डी निर्माण गरिए पनि कृषकलाई उपलब्ध नगराइँदा समस्या भएको उहाँले बताउनुभयो ।
सब्जीमन्डी भन्दै निर्माण गरिएको भवनमा छाडा पशुचौपाया राख्न थालिएपछि सडकछेउमै कुटिया बनाएर तरकारी बिक्री गर्दै आएको अर्का कृषक बालसिंह रानाले बताउनुभयो । रानाले सडक किनारामा कुटिया बनाएर फर्सी, लौका, काँक्रालगायत तरकारी बिक्री गर्दै आउनुभएको छ । बगरमा तरकारी उत्पादन गरे पनि बिक्री गर्नका लागि स्थान अभाव हुँदा सडकछेउमै बसेर तरकारी बिक्री गर्नु परेको उहाँले गुनासो गर्नुभयो ।
“सडकछेउमा तरकारी बेचेर दैनिक दुई हजार कमाइ हुने गरेको छ,” उहाँले भन्नुभयो, “स्थान अभाव हुँदा जोखिम मोलेर सडकछेउमै तरकारी बेच्दै आएका छौँ ।”
सडकछेउमा तरकारी बेच्दा सवारी दुर्घटनाको समेत उत्तिकै जोखिम रहेको कृषकको गुनासो छ । किसानले बनहरा नदीको झन्डै सय बिघा बगरमा तरकारी खेती गर्दै आएका छन् ।
कक्षा १२ मा अध्ययनरत मनीषा चौधरी सब्जीमन्डीलाई गौशाला बनाइएपछि सडकछेउमा बसेर घरखर्च निकाल्दै आएको बताउनुहुन्छ । “बुवाआमाले पढाइ नगर्दा हिसाब गर्न जान्नुहुन्न,” उहाँले भन्नुभयो, “बिहान विद्यालय बिदा भएपछि तरकारी बेच्न आउने गरेकी छु ।” उहाँ झैँ दजनौँ कृषक हाल बनहरा नदी क्षेत्रको पूर्वपश्चिम राजमार्गछेउमा अस्थायी कुटिया बनाएर तरकारी बिक्री गर्दै आउनुभएको छ ।
विसं २०७४ सालमा बगरमा उत्पादित तरकारी बिक्री गर्न कृषकको सहजताका लागि भन्दै बनहरा नदीछेउमा सब्जीमन्डी बनाउन थालिएको थियो ।
सब्जीमन्डीभन्दा पनि छाडा पशुचौपायाबाट कृषक हैरान बनेपछि तत्काललाई उक्त क्षेत्रमा छाडा पशुचौपाया राख्ने समझदारी भएको कृष्णपुर नगरपालिका–२ का वडाध्यक्ष अर्जुन साउदले बताउनुभयो । कृषकको माग अनुसार नै उक्त भवनमा छाडा पशुचौपायाको व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । हाल पाँच सयभन्दा बढी छाडा पशुचौपायाको रेखदेखको काम सोही भवनमा भइरहेको उहाँले जानकारी दिनुभयो ।
साउदले राजमार्गछेउमै नयाँ सब्जीमन्डी निर्माण अगाडि बढाइएको बताउनुभयो तर चालु आवमा मन्डी निर्माणका लागि छुट्टाइएको २० लाख बजेट सङ्घीय सरकारले उपलब्ध नगराउँदा काम रोकिएको उहाँको भनाइ छ । नगरपालिकाबाट बजेट माग गरेर कृषकको सहजताका लागि छिट्टै मन्डी निर्माण गरिने उहाँले बताउनुभयो ।