• १४ चैत २०८२, शनिबार

आदिवासी जनजातिको हकहितका लागि एकजुट हुन आग्रह

blog

आदिवासी कानून व्यावसायी संघद्वारा आयोजित कार्यक्रमका सहभागी ।

काठमाडौँ, चैत १४ गते । आदिवासी कानुन व्यवसायी संघद्वारा आयोजित प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिक प्रणालीबाट नवनिर्वाचित आदिवासी प्रतिनिधि सभा सदस्यहरूलाई बधाई तथा शुभकामना कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

संघका अध्यक्ष परिवर्तन राईको अध्यक्षतामा काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रमका प्रमुख अतिथि आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आदिवासी जनजातिहरूको हकहित र अधिकारका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो । 

उहाँले नवनिर्वाचित सांसदहरूले संसदमा यसका लागि महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । आदिवासी जनजातिहरूको अधिकार सुनिश्चित गर्न आयोगले सदैव पहल गरिरहेको उहाँको भनाइ थियो ।

त्यसैगरी, प्रतिनिधि सभा सदस्य भीष्मराज आङ्देम्बेले आदिवासी जनजातिहरूलाई हकअधिकार दिलाउन संसदमा सशक्त आवाज उठाउने प्रतिबद्धता जनाउनुभयो । 


अर्का सदस्य इन्दिरा रानाले विशेष गरी विपन्न र आर्थिक स्थिति कमजोर भएका आदिवासी जनजाति बालबालिकालाई शिक्षामा निःशुल्क पहुँच र छात्रवृत्तिको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । यसका लागि आफूले संसदमा निरन्तर प्रयास गर्ने उहाँले बताउनुभयो ।

प्रतिनिधि सभा सदस्य भूमिका श्रेष्ठले नेपालमा पहिलो पटक लैङ्गिक तथा यौनिक अल्पसंख्यकका तर्फबाट प्रतिनिधित्व गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । संविधानको धारा १६ मा सम्मानपूर्वक बाँच्न पाउने हक र धारा ४२ मा सामाजिक न्यायको हकको व्यवस्था भए पनि अल्पसंख्यकको हकमा पूर्ण कार्यान्वयन नभएको उहाँको तर्क थियो ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्यहरू परशुराम तामाङ, कृपाराण राना थारु, सन्तोष राजवंशी, टेकबहादुर शाक्य, सरस्वती लामा तथा लाहुर्निपका अध्यक्ष दिनेश घले लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । संघका उपाध्यक्ष रामलाल श्रेष्ठले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो भने महासचिव श्रवणकुमार चौधरीले स्वागत मन्तव्य राख्नुभएको थियो ।